जनसंगठनहरुकाे विगत क्रान्तिमा भूमिका
सर्वहारा श्रमजीवी वर्गकाे अग्रदूत पार्टी- कम्युनिस्ट पार्टीकै अगुवाइमा समाजवादी राजनीतिक शक्तिहरु समेतकाे सहभागीतामा समाजवादी क्रान्ति सफल हुन्छ। यसका साथ साथै किसान ,श्रमिक ,युवा,विध्यार्थी ,महिला तथा बुद्धिजीवीहरुकाे पनि सहयोग , समर्थन र सहभागीतामा समाजवादी क्रान्ति सफल हुन्छ। जसरी पूंजीवादी जनवादी क्रान्ति कालमा भएका संघर्ष ,आन्दोलन र क्रान्तिमा विभिन्न वर्ग,समुदाय र पेशामा रहेका जनसमुदायकाे ऐतिहासिक सहभागीता र भूमिका भयो ।र यसकै परिणामस्वरूप मुलुकमा बहुदलीय व्यवस्थाकाे पुनःस्थापना हुदै गणतन्त्र स्थापना गर्न संभव भयो ।
समाजवादी क्रान्तिमा वर्गीय माेर्चा:
पार्टी निकटका जनसंगठनहरुकाे अब हुने समाजवादी क्रान्तिमा पनि महत्त्वपूर्ण भूमिका रहेको छ। यश अर्थमा पार्टीले धेरै भन्दा धेरै जनसंगठनका वर्गीय माेर्चाहरु निर्माण गरेर तिनलाई आर्थिक ,राजनीतिक र बैचारिक संघर्षमा जति धेरै परिचालन गर्न सकिन्छ , त्यही हिसाबले समाजवादी क्रान्तिबाट समाजवादी व्यवस्था स्थापना गर्न मद्धत पुग्नेछ । तर याे काम त्यति सहजै स्थापना हुने हाेइन। सयौं वर्ष देखिन राज गर्दै आएको पूंजीवादलाई अन्त्य गरेर समाजवाद स्थापना गर्ने कार्य कठिन कार्य हाे। तर विभिन्न वर्ग तथा समुदायमाथि पूंजीवादले गरेको शाेषणका विरुद्ध व्यापकरुपमा जनसमुदायलाई परिचालन गरेर नै समाजवादी संघर्षमा सफलता प्राप्त हुनेछ ।
कम्युनिस्ट पार्टीमा जनसंगठनकाे महत्त्व :
जनसंगठनहरु पार्टी र जनताका विचमा पुलकाे भूमिका निर्बाह गर्ने माध्यम पनि हुन। जनताको जनजीबीकाकाे सवाललाई जनसंगठनहरुले माग आन्दोलनको रुपमा अगाडि बढाउने गर्नु पर्दछ। यसका साथै जनसरोकारका समस्या पार्टी समक्ष पुर्याउने र पार्टी मार्फत समाधान गर्ने काम जनसंगठनहरुले गर्दछन। किसान ,महिला ,युवा,विध्यार्थी, श्रमिक , भूमिहिन किसान आदि समुदायका समस्यालाई समाधान गर्न पार्टी मार्फत सरकारकाे पनि ध्यानाकर्षण गराउने काम जनसंगठनहरुले गर्दछन। यस्तै पार्टीलाई जनसमुदायका विचमा पुर्याउन र पार्टीको विकास र विस्तार गर्न पनि जनसंगठनहरुकाे माध्यमबाट ठुलो मद्धत पुग्दछ। त्यसै भएर जनसंगठनकाे महत्त्व कम्युनिस्ट पार्टीका लागि महत्त्वपूर्ण हुन्छ। पार्टी एउटा सिंगो शरीर हाे भने यसका हात ,खुट्टा तथा शरिरका अन्य अङ्ग प्रत्यङ्ग जनसंगठनहरु हुन। पार्टी र जनसंगठन विच पानी र माछा जस्तै वा नङ र मासु झै अन्याेन्याश्रित सम्बन्ध रहेको हुन्छ। जनसंगठनहरु पार्टी निर्माणका कारखाना हुन । तसर्थ कम्युनिस्ट पार्टीले आफ्नो निकटमा पेसागत तथा सामुदायिक संगठन निर्माण गरेको हुन्छ।
जनसंगठन निर्माणकाे तरिका :
जनसंगठनहरु- दुई किसिमबाट निर्माण भएको पाईन्छ। पहिलो - शुरुआतमा समुदायका वा पेसागत समस्या लाई लिएर पेसा संग सम्बद्ध वा समुदायका मानिसहरु आफैले पनि संगठन निर्माण गरेका हुन्छन् भने दाेश्राे- कतिपय स्थितिमा पार्टीको याेजना भित्र नै पेसा,समुदायका मानिसहरु संग सम्पर्क गरेर संगठन निर्माण हुने गरेको छ।
जनसंगठनहरुलाई समन्वय गर्न माेर्चा संगठन :
जनसंगठनहरुलाई समन्वय गर्न एकिकृत समाजवादी पार्टीले माेर्चा संगठन नामकाे संयन्त्र निर्माण गरेको छ। यहीँ माेर्चा संगठनका माध्यमबाट पार्टी र जनसंगठनहरु विचकाे अन्तरसम्बन्ध कायम हुनेछ ।
नेकपा एकीकृत समाजवादीकाे माेर्चा संगठन संचालन सम्बन्धि कार्यविधि निर्देशीका अनुसार माेर्चाकाे संगठनात्मक व्यवस्था निम्नानुसार हुने उल्लेख गरिएकाे छ। जन संगठन गठन सम्बन्धित तहको पार्टी कमिटीले सोही तहका जनसंगठनहरुलाई समेटेर निर्माण गर्नेछन् । हरेक तहको पार्टी कमिटीले विधानतः तोकेको संयोजक नै मोर्चाको संयोजक हुनेछ । मोर्चामा पार्टीद्वारा खटाईएका फाँटका प्रमुखहरु तथा सोही तहका जनसंगठनका अध्यक्ष सदस्य रहनेछन् । मोर्चाको सदस्य हुने कुनै पनि संगठनको अध्यक्ष अनिवार्य रुपले पार्टीको संगठित सदस्य हुनुपर्नेछ । विधानतः तोकिएका सदस्यका विकल्पमा कुनै पनि संगठनले पठाएको अर्को प्रतिनिधिलाई मोर्चाका सदस्य मानिने छैन । मोर्चाले आवश्यकताअनुसार सचिवको व्यवस्था गर्न सक्नेछ । विभिन्न तहका मोर्चाका बीचमा कुनै पनि समन्वय गर्नु परेमा वा अनुभव आदान-प्रदान वा अन्य कुनै अन्तरक्रिया, गोष्ठी, कार्यशाला वा कार्यक्रम गर्नु परेमा सम्बन्धित मोर्चा इन्चार्जको अनुमतिमा गर्न सकिनेछ ।
यस्तै पार्टी र मोर्चाको अन्तरसम्बन्धका बारेमा यसरी उल्लेख गरिएको छ। नेकपा (एस) का नीतिहरुलाई बिनाशर्त लागु गर्नु मोर्चा र त्यसमा आवद्ध संगठनहरुको दायित्व हुनेछ । पार्टीका नीतिहरुमा कुनै आलोचनात्मक टिप्पणी गर्नुपर्ने भएमा आफ्नो कमिटीको बैठकद्वारा पारित गरी त्यहीँ तहको पार्टी कमिटीमा लिखित रुपले बुझाउनु पर्नेछ । पार्टी वृहत्तर एकता तथा राष्ट्रको हितलाई प्रतिकुल असर नपर्ने गरी आलोचनात्मक विषयहरुको सार्वजनिक टिप्पणी वा विरोध गर्न सकिनेछ । यस्ता विरोधहरु मूलतः मित्रवत् हुनु पर्नेछ ।
पार्टीसँग नीतिगत आवद्धता तथा संगठनात्मक स्वायत्तताको नीति अनुरुप नै जनसंगठनहरु परिचालित हुनेछन् । जनसंगठनहरुलाई पार्टीका लागि योग्य कार्यकर्ताहरु उत्पादन गर्ने थलोका रुपमा परिचालित गरिने छ । पार्टीबाट नेता र कार्यकर्ता आयात गरेर हैन आफ्नै पहल र योजनामा नेता तथा कार्यकर्ता उत्पादन गर्ने ध्येयका साथ जनसंगठनहरु क्रियाशील हुनेछन् ।पार्टीको नियमावलीमा अन्यथा उल्लेखित भएको अवस्थामा वाहेक मोर्चा संगठनमा क्रियाशील पार्टी सदस्यहरुको पार्टी हैसियत (स्ट्याटस) निम्नानुसार हुनेछ ।केन्द्रीय कमिटीका पदाधिकारीहरु प्रदेश कमिटी सदस्य सरह,केन्द्रीय कमिटीका सदस्यहरु र प्रदेश कमिटी सदस्य पदाधिकारी जिल्ला कमिटी सदस्य सरह,प्रदेश कमिटी सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारी निर्वाचन क्षेत्रीय कमिटी सदस्य सरह,स्पष्टीकरण १. सम्बन्धित व्यक्तिले सम्बन्धित उल्लेखित हैसियत (स्ट्याटस्) का लागि पार्टी विधानमा तोकिएको मापदण्ड भने पुरा गरेको हुनु पर्नेछ ।उल्लेखित हैसियत पार्टी कमिटीमा प्रतिस्पर्धा गर्नका लागि मात्र मापदण्डका रुपमा मानिनेछ तर दैनिक काम तथा व्यवहारमा भने सम्बन्धित संगठनको हैसियतलाई नै प्रयोग गरिने छ ।
प्रत्येक फाँटका प्रमुखहरुले आफ्नो संयोजकत्वको संगठनका अर्धवार्षिक प्रतिवेदन सम्बन्धित पार्टी कमिटीमा पेश गर्नु पर्नेछ र त्यसको एकप्रति मोर्चामा बुझाउनु पर्ने ।मोर्चामा आवद्ध जनसंगठनका जिल्ला स्तरीय कमिटीहरुले पार्टी विधान अनुरुप योग्यता पुगेका कुनै पनि आफ्ना सदस्यहरुलाई पार्टीको संगठित सदस्यता प्रदान गर्नका लागि सम्बन्धित पार्टी कमिटीमा सिफारिस गर्न सक्नेछ र निजलाई सदस्यता प्रदान गर्ने वा नगर्ने निर्णय विधानतः पार्टीको कमिटीले गर्नेछ । सदस्यता अस्विकार गर्नुपर्ने भए उचित कारण सहितको जवाफ सम्बन्धित संगठनलाई सम्बन्धित पार्टी कमिटीले दिनु पर्नेछ ।
जनसंगठनको सदस्यता पार्टी सदस्य सरह मानिने छ ।जनसंगठनमा काम गर्नेहरुको मूल्याङ्कन उसले सम्बन्धित संगठनमा खेलेको भूमिकाको आधारमा गरिनेछ। जनप्रतिनिधिमूलक निकायको निर्वाचन तथा राजकीय मामलामा पार्टीका तर्फबाट प्रतिनिधित्व गराउँदा जनसंगठनमा काम गरेका व्यक्तिहरुलाई समेत सामेल गर्न पार्टीले उचित ध्यान दिने छ ।जनसंगठनका नियमित कार्यक्रममा पार्टीका नेताहरु सहभागी गराउँदा जनसंगठनको नेतृत्व विकासमा प्रतिकूल असर पर्न नदिन र पार्टीद्वारा तोकिएका फाँट प्रमुखहरुलाई पर्नसक्ने असजिलोलाई हटाउन निम्नानुसारको कार्यविधि अपनाईने छ-।जनसंगठनका केन्द्रीय अधिवेशन/ सम्मेलन/भेला/प्रशिक्षण वा राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वका 'खास' कार्यक्रममा सम्बन्धित संगठनले आवश्यक ठानी पार्टी नेता वा अन्य राष्ट्रिय व्यक्तित्वलाई संस्थागत निमन्त्रणा गरेमा प्रमुख अतिथि बनाउन सकिनेछ ।
महासंघीय ढाँचाका जनसंगठनका केन्द्रीय संघहरुसहित जनसंगठनहरुका प्रदेश वा जिल्ला सम्मेलनहरुमा सोही संगठनका नेताहरु नै प्रमुख अतिथिका रुपमा सहभागी रहन सक्नेछन् ।हरेक जनसंगठनहरुले यसका लागि आ-आफ्नो कार्यविधि बनाइ कार्यान्वयन गर्नेछन् ।मोर्चा तथा जनसंगठन परिचालनका लागि पार्टीद्वारा तोकिएका संयोजक/इञ्चार्ज/प्रमुखलाई नै पूर्ण जवाफदेही बनाइनेछ । मोर्चा तथा जनसंगठनका बारेमा कुनै पनि छलफल गर्नु परेमा सम्बन्धित संयोजक/इञ्चार्ज/प्रमुख मार्फतमात्र पार्टी कमिटीमा प्रवेश गराउने व्यवस्थालाई लागु गरिनेछ ।
पार्टीद्वारा आयोजित विभिन्न सार्वजनिक कार्यक्रमहरुलाई सफल पार्न संगठनको सम्पूर्ण शक्ति परिचालित गरिनेछ । पार्टीको एकतालाई अक्षुण्ण राख्न आ-आफ्नो संगठनका तर्फबाट भूमिका निर्वाह गर्नुपर्नेछ । पार्टीका अधिवेशनहरुमा हुने आन्तरिक प्रतिस्पर्धामा प्रतिनिधिका रुपमा उपस्थित सदस्यहरुले व्यक्तिगत रुपमा आफ्नो मत जाहेर गर्न पाउनेछन् । तर संगठनात्मक रुपमा भने तटस्थ रहनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्नुपर्नेछ।
यस्तै माेर्चा अन्तर्गत अन्तर-ऐक्यवद्धता तथा संयुक्त कार्यक्रमहरु संचालन गरिने उल्लेख छ। जस अनुसार पार्टीमा आवद्ध मोर्चा संगठनहरु एउटै धागोमा उनीएका फूलजस्तै अन्तरसम्बन्धित संगठनहरु हुन् । यिनीहरु एक-अर्काबाट अलग तर एक- अर्कासँग अनोन्याश्रीत रुपमा जोडिएका हुनेछन् । ती 'फूल'लाई जोड्ने धागोको रुपमा मोर्चा रहनु पर्दछ । मोर्चा भनेको मूलतः पार्टी कमिटी हो भन्ने बुझ्नु पर्दछ । जनसरोकारका विषयहरुमा सम्बन्धित तहका मोर्चा संगठनको आयोजनामा विभिन्न कार्यक्रमहरु गर्न सकिनेछ, त्यसको समन्वय मोर्चाले गर्ने छ ।
एक संगठनले गर्ने विशेष महत्वका कार्यक्रम जस्तै सम्मेलन/अधिवेशन, महोत्सव, सार्वजनिक प्रदर्शन, वाह्य निर्वाचन आदिमा अन्य संगठनहरुले पूर्ण रुपमा सहयोग गर्नेछन् । विभिन्न संगठनका स्थापना दिवस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका दिवस, पर्व तथा समारोहहरुमा एक- अर्को संगठनलाई पूर्ण रुपमा सहयोग गर्नुपर्ने छ र, यसको समन्वय मोर्चाले गर्ने छ ।
कुनै पनि संगठन भित्रका अन्तर्विरोधहरु मोर्चाको विषय बनाइने छैन । आफ्नो अन्तर्विरोधको हल गर्नु त्यही संगठनको जिम्मेवारी र दायित्व हुनेछ । कुनै पनि संगठनले यसमा मोर्चाको सहयोगका लागि लिखित अनुरोध गरेमा मोर्चाका अध्यक्ष वा मोर्चाले निर्माण गरेको कार्यदलले सहयोग गर्ने छ, मोर्चाका कारणले अन्तर्विरोधलाई थप चर्काउने काम गरिने छैन । मोर्चामा आबद्ध सबै संगठनहरु समान हैसियतका र अलग-अलग संगठनात्मक स्वायत्तता भएका संगठनहरु हुन् । एउटा जनसंगठनको कुनै पनि तहको कमिटीमा आवद्ध व्यक्ति अर्को जनसंगठनमा पनि संग्ठित हुने कुरालाई पूर्णः अन्त्य गरिने छ । व्यक्तिको रोजाईमा कुनै पनि अर्को संगठन भएमा रहिरहेको वा साविकको संगठनबाट विदा दिइने छ ।
समुदायका समस्यामा जनसंगठनकाे भूमिका :
यसरी जनसंगठनहरु संचालन गर्न माेर्चाकाे निर्देशीका बनेको छ। तर माेर्चा संगठनकाे महत्त्व अझै जिल्ला स्तरमा पुगेको छैन। पार्टीको जिल्ला कमिटी अन्तर्गत माेर्चा संगठन बनेको भए पनि नियमितरूपमा संचालन भएकाे पाईएकाे छैन। पार्टी निकटका २२ वटा जनसंगठनहरुलाई हरेक जिल्ला हुदै पालिका तह सम्म गठन गर्न माेर्चा संगठनकाे ठाेस याेजना हुन जरुरी छ।
जन संगठनहरु वर्ग,पेशा र समुदायको प्रतिनिधि मूलक संगठन हुन। समुदायका समस्या प्रति जनसंगठनहरुले माग आन्दोलन उठाएर नेतृत्व गर्दा जन संगठन वरिपरि हजारौं समुदायका मानिस हरु संगठीत हुने आधार तयार हुन्छ। उखु किसानका समस्या , दुग्ध किसानका समस्या ,मिटर व्याजी पिडितका समस्या , छुवाछूत भेदभावबाट पिडितहरुका समस्या,युवा,विध्यार्थीका समस्या, ,श्रमिक वर्गका समस्या , शिक्षक,स्वास्थ्यकर्मीका समस्या लगायत शहर तथा गाउँ मा भई रहेको अनियमितता र भ्रष्टाचार ,चुहावट ,मानवअधिकारकाे हनन लगायतका सयौं समस्याहरुले आक्रान्त समुदायकाे आन्दोलन प्रति ऐक्यबद्धता र सहयोग संगै आन्दोलनको अगुवाइ गर्न जन संगठनहरुकाे सकृयता हुन आवश्यक छ।
जन संगठनहरुले पूंजीवादी शाेषणका विरुद्ध आर्थिक ,राजनीतिक र बैचारिक संघर्षका कार्यक्रम लाई तेजका साथ अगाडि बढाउनु पर्दछ। अनि मात्रै पूंजीवाद कमजोर बन्नेछ। श्रम शाेषणकाे अन्त्य गर्ने माग, उचित ज्याला पारिश्रमिक,सामाजिक सुरक्षाको माग, किसानहरुले भाेगी रहेको बजार र मूल्यकाे सुनिश्चितताका माग तथा संघर्ष र आन्दोलनमा जनसंगठनहरुकाे अगुवाइले हजारौं हजार मानिस जनसंगठनहरु प्रति आकर्षित भएर संगठीत हुने आधार तयार हुनेछ ।
गरिबी र बेरोजगारी न्यून गर्न जनसंगठनहरुकाे भूमिका :
जनसंगठनहरुले गरिबी र बेरोजगारीलाई न्यून गर्न गाउँ गाउँमा सहकारी अभियान संचालन गरेर समुदायका मानिसहरु सहकारीमा आवद्व गरि उत्पादनका काममा सरिक गराउन भूमिका खेल्नुपर्छ । समुदायका सदस्यहरुलाई सहकारीमा आबद्ध गराएर सहकारीमा आधारित सामुहिक कृषि खेती ,पशुपालन , फलफूल खेती, वस्तुहरुकाे आपूर्ति/ वितरणमा आधारित सहकारी , कृषि उपज खरिदबिक्री केन्द्रआदि विषयका सहकारी संचालन गर्न अगुवाइ गरेर उत्पादन र राेजगारी बृद्विमा सहयोग पुर्याउने भूमिका निर्वाह गर्न सक्दा सहकारीकै माध्यमबाट नै हजारौं मानिसहरुलाई जनसंगठनमा गाेलबन्द गर्न सकिन्छ ।
समाजवादको चेतना फैलाउन बुद्धिजीवी संगठनकाे भूमिका:
जनसंगठनमा आबद्ध शिक्षक,प्राध्यापक ,कानुन व्यबसायी ,पेशाकर्मीहरु समाजमा घनिष्ठ रुपमा जाेडिएका हुन्छन। बुद्धिजीवीहरुले व्यक्त गर्ने विचार र दृष्टिकोणलाई समाजका सदस्यहरुले रुचाउँछन् । र तदनुरुप राजनीतिक दृष्टिकोण समुदायका मानिसले बनाउने काम गर्दछन। चिनकाे समाजवादी अभियान ,साेभियत संघकाे समाजवादी अभियानमा बुद्धिजीवीहरुले आर्थिक,kसामाजिक र,सांस्कृतिक रुपान्तरण संगै समाजवादको चेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
अध्यक्ष माओत्सेतुङले बुद्धिजीवीहरुकाे काम र भूमिका बारेमा ठाेस नीति र कार्यक्रम बनाएर बुद्धिजीवीहरुलाई परिचालन गरेर नै चिनमा समाजवादको जग बस्याे र चिन आज गरिबी र बेरोजगारीलाई न्यून गर्दै गरिबीमुक्त उत्कृष्ट समाजवादी मुलुककाे रुपमा अगाडि बढदै छ।
यसरी याेजनाबद्व रुपमा जनसंगठनहरुले राष्ट्र व्यापी रुपमा संगठन निर्माण ,विस्तार संग संगै समुदायका समस्यालाई लिएर संघर्ष /आन्दोलनको शंख घाेष गर्दै अगाडि बढेमा जनसंगठनहरु सांचाे अर्थमा समुदायको नेताकाे रुपमा स्थापित हुनेछन। तर पार्टीले पनि जनसंगठन निर्माण र परिचालनमा ठाेस याेजना बनाएर सबै तहका पार्टी कमिटी मार्फत माेर्चा संगठनहरुलाई परिचालन गर्नु पर्दछ। यसाे भयाे भने पार्टीको वरिपरि हजारौं लाखौं समुदायलाई गाेलबन्द गर्न सकिन्छ र पार्टीलाई पनि जनसमुदायका विचमा स्थापित गर्न सकिन्छ।