काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले मिन प्रसाद गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकोे छ । समितिको उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा सचिव ओमबहादुर पुन उपसचिव सन्सृत अर्याल रहेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव सोम प्रसाद पाण्डे, पोलिट्ब्यूरो सदस्य विजय गुरुङ, संघीय सम्पर्क कमिटी इन्चार्ज, पोलिट्ब्युरो सदस्य लक्ष्मण के.सी,सह–इन्चार्ज, केन्द्रीय सदस्य बिरबल काजी राई, सङ्घीय सम्पर्क कमिटीका अध्यक्ष तारानाथ दाहाल,केन्द्रीय सदस्यहरु कल्पना माण्डव्य, नवराज तिमिल्सिना, प्रमेश पोखरेल, संघीय सम्पर्क कमिटीका पदाधिकारी सहितका नेताहरुको उपस्थिति थियो ।
अधिवेशनले क्रान्तिकारी चेतनाको पुनर्जागरण गर्दै श्रमिक र किसान वर्गको ऐतिहासिक अधिकारलाई संस्थागत गर्ने, समाजवादको जगलाई दृढ, सबल र अटल बनाउने, लुम्बिनीलाई संगठनात्मक र राजनीतिक दृष्टिले राष्ट्रिय नमुना प्रदेशका रूपमा स्थापित गर्ने, यस ऐतिहासिक अवसरले पार्टी र आन्दोलनलाई नयाँ दिशातर्फ डोर्याएको बताईएको छ ।
लुम्बिनीको माटोबाट उठेको यो क्रान्तिकारी ऊर्जा, सम्पूर्ण नेपालमा समाजवादी रूपान्तरणको आधारशिला बन्नेछ। श्रमिक किसान मात्र होइन, सम्पूर्ण उत्पीडित वर्गको मुक्ति सुनिश्चित नगरेसम्म हाम्रो क्रान्ति अधूरो रहने बताईएको छ ।
लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन बिद्या राज पाण्डेको अध्यक्षता र लुना रिजालले संचालनमा भएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका दर्जन बढी कार्यकता विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए. ।