सीता ढुंगाना
संकटबाट देशलाई कसरी उकास्ने र स्रोतको कसरी अधिकतम उपयोग गर्ने भन्ने कुरा सीमित पुँजी तर अन्य स्रोत प्रशस्त भएको नेपालले चिनियाँ मोडलबाट सिक्न सक्छ ।
कोभिड महामारीयता शक्तिराष्ट्रहरूबीच आर्थिक विरासतका लागि प्रतिस्पर्धा चलिरहेको छ । विशेषतः पुँजीवादी अर्थनीति र समाजवादी अर्थनीतिबीच प्रतिस्पर्धाले तीव्रता लिएको छ । समाजवादी नीति अनुसरण गरेका देशहरूले पनि तीव्र आर्थिक विकास गरेका उदाहरणले विश्वको ध्यान तानेको छ । यान्त्रिक र तदर्थवादी नीतिभन्दा मौलिक नीतिको निर्माण र कार्यान्वयनमा चासो देखिएको छ ।
जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयको आयोजनामा भर्खरै सम्पन्न २१ दिने सेमिनारमा पंक्तिकारलाई पनि नेपालका तर्फबाट भाग लिने अवसर मिलेको थियो । त्यस क्रममा, अर्थतन्त्रका दृष्टिले अमेरिकापछिको दोस्रो ठूलो देश चीनको विकास र आर्थिक सम्पन्नताका आधारहरूबारे केही जान्न-बुझ्न पाइएको थियो । चीनलाई नजिकबाट नियाल्दा, नेता, कर्मचारी र आम नागरिकको दृढता, अनुशासन र मिहिनेतले गर्दा नै उत्तरी छिमेकी ४० वर्षको अवधिमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चार गुणाले बढाउन सफल भएको बुझ्न सकिन्छ । चीनको सन् २०१४ पछिको आर्थिक क्रान्तिको प्रमुख आधार कृषि र उद्योग हो । सानाभन्दा साना स्रोतको अधिकतम उपयोग गर्नु, सार्वजनिक सम्पत्ति सरकारको स्वामित्वमा राख्नु, जनशक्ति र प्रविधिलाई राष्ट्रिय पुँजी निर्माणमा परिचालन गर्नु चीनको मौलिक मोडल हो ।
अर्थतन्त्रको वैश्विक प्रतिस्पर्धामा अग्रता लिइरहेको चिनियाँ मोडल सारा विश्वका लागि उदाहरण बनिरहेको छ । समाजवादी अर्थनीतिको मौलिक मोडल अपनाएको चीनले सामाजिक–राजनीतिक हिसाबमा समाजवादको उन्नत अभ्यासको बाटो पहिल्याएको छ । राष्ट्रिय पुँजीको निर्माण, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र व्यापार रणनीतिमा पुँजीवादी अर्थप्रणालीलाई पछाडि पार्दै चीन चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको बाटामा छ ।
चिनियाँ विशेषताको मौलिक समाजवादी नीति र कार्यक्रमकै कारण, आज पूरै विश्व आर्थिक मन्दीमा परेका बेला पनि चीनले संसारलाई आर्थिक संकटसँग जुध्न सिकाइरहेको छ । चीनले कोभिड-१९ का कारण थलिएको अर्थतन्त्रलाई जुरुक्कै उठाएको छ । चिनियाँ अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ दशमलव ५ प्रतिशले वृद्धि भइरहेको तथ्यांक छ । विश्व आर्थिक सूचकहरूले थुप्रै देश निरन्तर घाटामा गएको देखाइरहेका बेला चीनले भने जीडीपीमा ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि गर्नु पश्चिमा देशहरूका लागि चुनौतीको विषय बनेको छ । बेलायती अर्थविद्हरू र पश्चिमा आर्थिक विश्लेषकहरूले चीनले ४ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल नगर्ने बताइरहँदा चीनको यो प्रगतिले युरोप–अमेरिकासहित पुँजीवादी विश्वलाई झस्काएको छ । रुस–युक्रेन युद्धसहित अन्य भूराजनीतिक द्वन्द्वका कारण विश्वमा नयाँ संकट उत्पन्न हुन सक्ने सम्भावनाबीच चीन वैकल्पिक उपायहरूको अवलम्बनको तयारीमा समेत छ । विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट घटेर १ दशमलव ९ प्रतिशतमा सीमित हुने पूर्वानुमानहरू भइरहेका बेला चीनलाई विद्यमान विकास र आर्थिक प्रक्षेपणहरूले बलियो देखाएका छन् ।
कोभिडका कारण तीन वर्षको कडा लकडाउन र महामारीविरुद्धको लडाइँपछि चीनले अर्थतन्त्र उकास्दै लगेको छ । औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । यसले के देखाउँछ भने, चीनमा लगानी गरिरहेका राष्ट्रिय पुँजीपति, चिनियाँ राष्ट्रिय पुँजी र बहुराष्ट्रिय पुँजीले चिनियाँ नीतिलाई विश्वास गरेका छन् ।
अमेरिका र युरोपका बैंक तथा वित्तीय संस्थाहरू एकपछि अर्को धराशायी बनिरहेका छन् । अस्तित्व जोगाउन ‘मर्ज’ मा गइरहेका छन् । राष्ट्रिय उद्योगहरू धमाधम बन्द भइरहेका छन् । कर्मचारीहरूमा कटौतीको मार बढिरहेको छ । बेरोजगारहरू बढिरहेका छन् । आर्थिक असुरक्षाका कारण मानवीय संकट बढ्दै गइरहेको छ । यता चीनले भने राष्ट्रिय बजेट, रोजगारी सृजना, विकासशील र अल्पविकसित एवम् विकासोन्मुख देशहरूलाई राहतका कार्यक्रम र अन्तर्राष्ट्रिय व्यापारिक सञ्जाल निर्माणका आधार बनिरहेका परियोजनाहरूलाई झन् विस्तार गर्दै लगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा चीनको जीडीपीमा ५ दशमलव २ प्रतिशतको वृद्धि हुने र २०२४ मा ५ दशमलव १ प्रतिशतमा कायम रहने अनुमान गरेको छ । यी चिनियाँ सूचकहरूबाट विश्वले संकटपछिको आर्थिक विकास, राजस्व निर्माण, मानव स्रोत परिचालन र नीतिगत स्थिरताको पाठ सिक्न सक्छ ।
कोभिडपछि रोजगारी अभाव लगायतका समस्या बढ्दै गएपछि आर्थिक स्थिरता एवम् वृद्धिका लागि चिनियाँ राज्य परिषद्ले ३३ उपाय लागू गरेको थियो । चीनले स्वच्छ ऊर्जामा आधारित सवारीसाधनको बिक्रीलाई उत्पादनमूलक उद्योगका रूपमा प्राथमिकता दिएरै २६.८६ मिलियन युआनको सवारी निर्यात गरेको छ । सवारीसाधन उत्पादन र बिक्रीको हिसाबले चीन झन्डै डेढ दशकदेखि विश्वमा पहिलो नम्बरमा रहँदै आएको छ ।
चीनले सीप सिकाइ र हस्तान्तरणलाई विकासको महत्त्वपूर्ण आधारका रूपमा लिएको छ । चिनियाँ प्रविधि सिक्न संसारभरबाट आउनेहरूलाई स्वागत गर्ने गरेको छ । चिनियाँ प्रविधि, चिनियाँ समाज, संस्कृति र चिनियाँ अर्थनीतिको मौलिक ज्ञान हस्तान्तरणको कार्यक्रमलाई तीव्रता दिएको छ । एसियालाई ज्ञानकेन्द्रका रूपमा विकास गर्ने नीतिस्वरूप चीनले अनुसन्धानमा ठूलो बजेट खर्च गरेको छ । चीनले पछिल्लो आर्थिक संकटमा समेत विदेशी मुद्राको सञ्चिति ह्वात्तै बढाएको छ । यी सबै तथ्यका कारण चीन अनुसन्धान तथा ज्ञानको उत्पादन र हस्तान्तरण, सेवा र प्रविधिको निर्माण र वितरणदेखि वस्तु उत्पादन र बिक्री–वितरणसम्ममा सबैभन्दा अब्बल मुलुकका रूपमा स्थापित भएको छ ।
चीनले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नागरिकहरूलाई व्यक्तिगत आयमा व्यापक कर छुट दिएको छ । नागरिकहरूलाई आधारभूत अधिकारहरू पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको छ । यसले नागरिकहरूमा राज्यप्रतिको भरोसा बढाएको छ र राष्ट्रिय संकल्पप्राप्तिको हरेक मिसनमा चिनियाँले नेतृत्वलाई पूरापूर साथ दिने गरेका छन् । चीनले भाडामा प्रयोग भएको व्यापारिक जग्गा, भवन, सवारीसाधन तथा औद्योगिक प्रतिष्ठानहरूबाट भने विभिन्न प्रकारका दुई दर्जनभन्दा बढी कर संकलन गर्छ । वैज्ञानिक कर प्रणालीमार्फत चीनले उद्योग–व्यवसायबाट संकलन गर्ने र नागरिकलाई छुट दिने नीति लिएको छ । उत्कृष्ट करदाताको ग्रेडिङ गरी राज्यलाई कर तिर्ने नागरिक वा कम्पनीलाई राज्यका अन्य सुविधामा विशेष व्यवस्था गर्ने प्रणाली भएकाले नागरिकले राज्यलाई रहरले कर तिरिरहेका छन् ।
चीन २००१ डिसेम्बरमा मात्रै विश्व व्यापार संगठनमा सदस्य भएको हो र दुई दशकयता संसारको पहिलो अर्थतन्त्र भएको मुलुक बन्नै लागेको छ । यो अवधिमा लामो समय त चीनले सुषुप्त रूपमा आन्तरिक तयारी गर्दै आएको थियो । चीनले आफ्नो विश्वव्यापी बजार विस्तार गर्न र आर्थिक महाशक्ति बन्नका लागि सबैभन्दा महत्त्वपूर्ण योजनाका रूपमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई लिएको छ । एसिया, अफ्रिका र युरोपमा पूर्वाधार विकास रणनीतिमार्फत आर्थिक सञ्जाल विस्तार गरिरहेको छ । आन्तरिक सबलतापछिको आर्थिक–सामाजिक प्रभाव विस्तारको यो गतिलो रणनीति बनिरहेको छ । सन् २०१३ मा सुरु गरिएको यो महत्त्वाकांक्षी परियोजनाका माध्यमले चीनले १३० भन्दा बढी देशबीच साझेदार सञ्जाल बनाइसकेको छ । आर्थिक, सामाजिक तथा राजनीतिक सम्बन्ध सुधार गर्ने महत्त्वपूर्ण अस्त्रका रूपमा अगाडि सारिएको बीआरआई चीनका लागि गौरवको विषय बनेको छ । चीनबाट सिक्नुपर्ने पाठ हो- राष्ट्रिय संकल्प पूरा गर्न र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सिङ्गो देश एकताबद्ध र प्रतिबद्ध हुनुपर्छ । देशको गरिमा, गौरव अनि राष्ट्रिय स्वाभिमानलाई ख्याल गर्नुपर्छ । अन्तरदेशीय सम्बन्धहरूमा एकरूपता हुनुपर्छ ।
चीनले बाहिरबाट ल्याएका विचार र प्रविधिलाई आफूअनुकूल बनाई आफ्नै नयाँ ढाँचा निर्माण गरेको छ । चीनले प्रविधिको उच्चतम प्रयोग गरेर सक्दो प्रतिफल लिने गर्छ । सन् १९७८ पछि चीनले अनुभवबाट सिक्ने अवधारणा विकास गर्यो । गल्तीबाट सिक्नु र सिकेको पाठलाई अनुसरण गर्नु चीनको मूल सिद्धान्त हो । संकटबाट देशलाई कसरी उकास्ने र स्रोतको कसरी अधिकतम उपयोग गर्ने भन्ने कुरा सीमित पुँजी तर अन्य स्रोत प्रशस्त भएको नेपालले चिनियाँ मोडलबाट सिक्न सक्छ ।
ढुंगाना धादिङको गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष हुनुहुन्छ ।
ई-कान्तिपुर बाट ।