समर्पित चिकित्सकस् डा.मोहम्मद अर्फान आजाद कहिले काहीँ जीवनले अनपेक्षित मोड लिन्छ। रोगले मानिसलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि कमजोर बनाउँछ। तर, यस्ता कठिन घडीमा कसैले आत्मबल जगाइदियो भने त्यो व्यक्ति केवल डाक्टर मात्र होइन, प्रेरणाको स्रोत बन्छ। यस्तै एक समर्पित चिकित्सक हुन् डा.मोहम्मद अर्फान आजाद।
भक्तपुर क्यान्सर अस्पतालमा उहाँसँगको परिचय संयोगले भएको थियो। क्यान्सर जस्तो कठिन रोगसँग संघर्ष गरिरहँदा अस्पतालका बेडहरू मेरो दैनिकीको अभिन्न हिस्सा बनिसकेका थिए। पहिलो असफल शल्यक्रियापछि जब हामी भक्तपुर क्यान्सर अस्पताल पुग्यौँ, त्यहाँका चिकित्सकहरूले मलाई थप उपचारका लागि भर्ना गरे। यसरी नै डा.अर्फान आजादसँग पहिलो भेट भयो। मेरो अवस्था जटिल थियो। चार वटा कीमोथेरापीपछि दोस्रो शल्यक्रियाको योजना बनाइयो। डा.दिप लामिछाने नेतृत्वको टोलीले मेरो शल्यक्रिया गर्नुपर्ने कुरा उठ्दा मनमा असंख्य प्रश्नहरू उब्जिए। पहिलो सर्जरी असफल भइसकेकोले पुनःअर्काे जोखिम उठाउनु ठीक हुन्छ कि हुँदैन भन्ने द्विविधा थियो। झन् जब डा.दिप लामिछानेले ‘सफलता निश्चित छैन’ भन्नुभयो, तब म र मेरो परिवार पुनः मानसिक रूपमा विचलित भयौँ। यही अवस्थामा हामीले डा.अर्फान आजादसँग परामर्श लियौँ। अत्यन्त शालीन र भद्र स्वभावका डा.अर्फानले हाम्रो मनोवैज्ञानिक अवस्था बुझ्नुभयो।
मेरी श्रीमतीका आँखाबाट आँसु खसिरहेको थियो। आर्थिक अवस्था पनि खस्किएको थियो। हामीले उहाँलाई सबै बतायौं। उहाँले अत्यन्त संयमपूर्वक भन्नुभयो, तपाईंले जुन ठाउँमा जुन डाक्टरसँग शल्यक्रिया गराउनुभयो, उहाँहरू सर्जन हुनुहुन्छ। तर, अनकोलोजी (क्यान्सर शल्यक्रिया) विशेषज्ञ नहुन पनि सक्नुहुन्छ। तर यहाँका डा. दिप लामिछाने लगायतका चिकित्सकहरू क्यान्सर शल्यक्रिया विशेष अध्ययन गरेर आएका विशेषज्ञहरू हुन्। तपाईं ढुक्क हुनुस, हामी तपाईंलाई सकेसम्म राम्रो उपचार दिनेछौँ। त्यसपछि उहाँले अर्को गहकिलो कुरा भन्नुभयो, 'संसारमा कुनै पनि डाक्टरले सय प्रतिशत निको पार्छु भनेर ग्यारेन्टी दिन सक्दैन। तर, डाक्टरहरूको धर्म बिरामीलाई सय प्रतिशत दिने प्रयास गर्नु हो। यी शब्दहरूले मलाई गहिरो प्रभाव पार्यो। मभित्र आत्मबल जाग्यो। यही कारणले म अर्को शल्यक्रियाका लागि मानसिक रूपमा तयार भएँ। आज म यहाँ छु भने त्यसको श्रेय डा। मोहम्मद अर्फानको आत्मविश्वास जगाउने शब्दहरू र डा. दिप लामिछानेको दक्ष सर्जिकल टिमलाई जान्छ। शिक्षा, अनुभव र समर्पण डा। मोहम्मद अर्फान आजादको जन्म २०४३ सालमा बुटवलमा भएको थियो। पिताको सरकारी जागिरका कारण उहाँले देशका विभिन्न स्थानहरूमा घुम्दै प्रारम्भिक शिक्षा लिनुभयो। बुटवलमै एस।एल।सी। र प्लस टु (विज्ञान संकाय) उत्तीर्ण गरेपछि, उहाँ उच्च शिक्षाका लागि चीन जानुभयो। LUZHOu MEDICAL COLLEGE, Sichuan Province, China बाट एम।बी।बी।एस। पूरा गरेपछि नेपाल फर्की विभिन्न अस्पतालहरूमा मेडिकल इन्टर्नसिप पूरा गर्नुभयो। त्यसपछि सहिद गंगालाल हृदय केन्द्रलगायतका अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत रहनुभयो। केही समयपछि उहाँ पुनः चीनमै एमडी अध्ययनका लागि जानुभयो। तीन वर्षको कठिन परिश्रमपछि एम।डी। डिग्री प्राप्त गरी नेपाल फर्कनुभयो। विगत १० वर्षदेखि उहाँ भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ। व्यक्तित्व र बहुआयामिक रुचिहरू डा। अर्फान केवल एक सक्षम चिकित्सक मात्र होइन, समाजप्रति गहिरो चासो राख्ने व्यक्तित्व पनि हुनुहुन्छ। उहाँ राजनीति, समाजसेवा, खेलकुद लगायतका विषयहरूमा गम्भीर चासो राख्नुहुन्छ। देशको समसामयिक परिस्थितिबाट पन्छिएर बस्ने व्यक्ति होइन, बरु समाजका प्रतिष्ठित व्यक्तित्वहरूसँग छलफल गरी समाधान खोज्ने प्रयास गर्नुहुन्छ। उहाँलाई खेलकुद विशेष रूपमा प्रिय छ।
व्यस्त चिकित्सकीय जीवनका बाबजुद पनि उहाँ खेलकुदलाई महत्व दिनुहुन्छ। उहाँको भनाइ छ।“खेलकुद केवल मनोरञ्जन मात्र होइन, राष्ट्रको गौरव पनि हो।” डाक्टर मोहमद अर्फानको गुनासो पनि छस् सत्ता धारी नेता होस् वा विपक्षी दलका शीर्षस्थ पात्र, देशका हरेक प्रमुख नेताहरू नागरिकको स्वास्थ्य सुधार, स्वास्थ्य बीमाको प्रभावकारीता, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन लगायतका राष्ट्रिय सरोकारका विषयमा छलफल गर्छन्। तर ती छलफलहरू कति गहिराइमा पुग्छन् ? कति निष्कर्षमा टुंगिन्छन् ? डाक्टर मोहमद अर्फान, जो चिकित्सा पेशाका अनुभवी हुन, यिनै विषयमा पटक–पटक लिखित र मौखिक सुझावहरू राख्दै आएका छन् । अस्पताल सुधारको आवश्यकता, नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उपाय, र विशेष गरी दक्ष स्वास्थ्यकर्मीहरूको पलायन रोक्ने उपायहरू यी सबै विषयमा उनले बारम्बार सम्बद्ध निकायका ध्यानाकर्षण गराइसकेका छन्। तर उनको गुनासो छ, जब उनी बोल्छन्, नेताहरू गम्भीर सुनिन्छन्। “हो, तपाईंको कुरा सही हो” भन्दै सहमति जनाइन्छ। तर त्यसपछि? त्यसपछि सबथोक मौनतामा हराउँछ। देशभरका अस्पतालहरूमा जनशक्ति अभाव छ। योग्य चिकित्सकहरू अवसर नपाएर विदेशिन बाध्य छन्।
नयाँ चिकित्सकहरूलाई प्रेरित गर्ने त के, जसोतसो टिकिरहेका अनुभवी जनशक्तिलाई समेत निराश पार्ने नीति मात्र बनिरहेका छन्। डाक्टर अर्फान भन्छन्, स्वास्थ्य क्षेत्रको संकट गम्भीर छ, यो समाधानको पर्खाइमा छ। तर नीति निर्माताहरू सुन्ने मात्र गर्छन्, ठोस निर्णय गर्ने आँट गर्दैनन्। के हामी सधैं यस्तै सुन्दै मात्र बस्ने? यो गुनासो केवल डाक्टर अर्फानको होइन, यो सम्पूर्ण स्वास्थ्य क्षेत्रको आर्तनाद हो। नेतृत्व भनेको केवल भाषणमा सीमित हुने कुरा होइन। नेतृत्व भनेको निर्णय लिने साहस हो। नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदासम्म, चिकित्सकहरू आफ्नै देशमा सुरक्षित भविष्य देख्न नसक्दासम्म, अनि सुझावहरू केवल आश्वासनका खोलमा गुमनाम भइरहँदासम्म, नेतृत्वको अर्थ के? अब समय आएको छ, हो भन्ने नेताहरूले हो भन्नुको अर्थ कार्यन्वयन गर्नु पनि हो, सुन्नेहरू धेरै भइसके, अब केही गर्ने कोही छ? निष्कर्ष डा.मोहम्मद अर्फान आजाद एक असल चिकित्सक, आत्मीय व्यक्ति, समाजप्रेमी र राष्ट्रप्रेमी नागरिक हुनुहुन्छ। उहाँले बिरामीहरूको उपचार मात्र गर्नुहुन्न, तिनको मनोबल पनि बढाउनुहुन्छ।
चिकित्सा क्षेत्रमा उहाँको समर्पण, समाजप्रतिको चिन्ता, र बिरामीप्रति देखाएको आत्मीयता उहाँलाई अरूबाट अलग बनाउँछ।म जस्तो क्यान्सरसँग लडिरहेको विरामीलाई पुनःबाँच्ने आत्मबल दिनु केवल औषधिले सम्भव हुँदैन। त्यो सम्भव भयो डा। अर्फान आजादको आत्मीय सल्लाह, प्रेरणादायी शब्दहरू, र भक्तपुर क्यान्सर अस्पतालको समर्पित टोलीको कारण।यदि नेपालमा चिकित्सा क्षेत्रका महान् व्यक्तित्वहरूको नाम लिनुर्पयो भने, निसन्देह डा. मोहम्मद अर्फान आजादको नाम पनि अग्रपंक्तिमा आउनेछ।
लेखक गिरी नेकपा (एकीकृत समाजवादी), उपत्यका विशेष प्रदेश कमिटी सदस्य हुनुहुन्छ।