काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताउनु भएको छ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना दिँदै उहाँले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्ने बताताउनु भएको छ ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै अध्यक्ष नेपालले यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने विभिन्न विभेद र महिला सशक्तीकरण लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
समतामूलक एवं प्रगतिशील समाज निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषण साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्याय तथा समानता कायम गर्न तिजले सबैलाई प्रेरणा प्रदान गर्ने विचार प्रकट गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै परम्परागत रूपमा प्रचलनमा रहेका संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ- हिन्दु महिलाहरूले खुशी र उत्साहका साथ मनाउने हरितालिका तीजलाई अहिले अन्य समुदायले समेत महत्वपूर्ण पर्वका रुपमा लिने गरेको पाइन्छ । दिदीबहिनीहरु जमघट भएर मनाईने तीज र यससँगै जोडिएर मनाइने विविध साँस्कृतिक पर्वहरुले बर्षभरीका पीर, व्यथा, हाँसो, खुसी आदिलाई गीत, नृत्य र अभिनयका माध्यमबाट समाजमा पस्किदै मनोरञ्जन प्रदान गर्नुका साथै सचेतनता अभिवबृद्धि गर्ने कार्य समेत गर्ने गरिएको छ। यसका साथै यस्ता पर्वहरुले विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्ने कुरामा सहयोग पुर्याइरहेका छन् ।
उहाँलेथप भन्नुभएको छ-तर, पछिल्ला दिनमा तीज मनाउने क्रममा कतैकतै देखिने विकृती एवम् अन्धविश्वासहरुले मौलिकता भन्दापनि भड्किलोपन र देखावटी गर्ने प्रचलन बढेकोमा चिन्ता हुन थालेको छ । उक्त कुरालाई स्वीकार गर्दै पर्वभित्रका नकारात्मक पक्ष एवम् विकृतिहरुलाई हटाउन जरुरी छ ।
अन्त्यमा, हरितालिका तीज २०८२ ले समाजमा विद्यमान महिला विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्याय एवम् असमानताहरूको अन्त्य गर्दै समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा सहित पुनः शुभकामना व्यक्त गर्दछु ।
