१. समाजवादको परिभाषा
समाजवाद समानताको सिद्धान्त हो । यो समतामूलक समाज निर्माणको लक्ष्य प्रस्तुत गर्ने चिन्तनको विकसित रूप हो । यस चिन्तनको इतिहास खोज्दै जाने हो भने ईसापूर्व छैठौँ शताब्दीका गौतम बुद्धको सङ्घवाद र ईसापूर्व पाँचौँ–चौथो शताब्दीका प्लेटोaको गणतन्त्रसम्म पुगिन्छ । बुद्ध र प्लेटोपछिका विभिन्न काल खण्डमा अनेकन विद्वानहरूले विविध प्रकारले समतामूलक समाज निर्माण सम्बन्धी अवधारणा प्रस्तुत गर्दै आएका थिए । पछि आएर त्यस प्रकारका अवधारणाहरूलाई समाजवाद भन्ने गरिएको थियो । तर ती अवधारणाहरूमा समाजमा रहेका के–के कुरा हटाउने हो र के–के कुरा कसरी ल्याउने हो भन्ने नै स्पष्ट थिएन । १९औंं शताब्दीको मध्यकालमा आएपछि कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले ती विषयमा स्पष्ट पार्ने काम गरेका थिए । त्यस क्रममा माक्र्सले समाजवादलाई पूँजीवादी र साम्यवादी समाजबीच एउटाबाट अर्कोमा संक्रमण हुने अवस्था रहने छ,...त्यो आफ्नै जगमा विकास भएको नभएर पूजीवादको गर्भबाट निस्किएको हुनाले त्यसका आर्थिक, नैतिक, बौद्धिक हरेक पक्षमा जुन पुरानो समाजबाट आएको हो त्यसका छाप एवम् चिन्हहरू रहेकै हुनेछन् भनेका थिए । माक्र्सको यस परिभाषाअनुसार समाजवाद पूँजीवाद र साम्यवादबिचको चरण हो, पूँजीवादबाट साम्यवादमा संक्रमणको चरण हो ।
माक्र्सपछिका अनेकौं विद्वानहरूले विभिन्न कोणबाट समाजवादको परिभाषा गरेका छन् । विलियम ग्राहमले “समाजवाद सामुहिकतावाद हो, यसले जमीन र पूँजीको सामुहिक स्वामित्व र राज्यको निर्देशनमा उत्पादन भन्ने पैरवी गर्दछ” भनेका छन् । पाउल एम.स्वीजीले “सामजवाद एउटा यस्तो सामाजिक प्रणाली हो, जुन सम्पत्ति सम्बन्धको चरित्रका आधारमा अन्य सामाजिक व्यवस्थाभन्दा भिन्न हुन्छ” भनेका छन् । भिक्टर क्याथरिनले “समाजवादले उत्पादनका साधनलाई समाजको साझा सम्पत्ति बनाउँछ र त्यहाँ उत्पादन र वितरणमा राज्यको नियन्त्रण हुन्छ” भनेका छन् । रबर्ट फ्लिन्टले “समाजवाद कडा परिश्रम गर्ने तर कम प्राप्त गर्नेहरूको भलाइ गर्ने गहिरो एवम् प्रवल इच्छा हो” भनेका छन् । एस. एफ. मार्खमले “समाजवादको आधार आर्थिक–सामाजिक रूपान्तरण हो” भनेका छन् । थोमस किर्कुपले “समाजवादको आधार अर्थव्यवस्था हो, यसले राजनीतिक, सांस्कृतिक, प्राविधिक र कला क्षेत्रका संरचनामा परिवर्तन गर्दछ” भनेका छन् । त्यसैगरी विभिन्न शब्दकोशहरूले पनि आआफ्नो ढङ्गले समाजवादको परिभाषा गरेका छन् । क्याम्ब्रिज डिक्शनरी अफ फिलोसोफीका अनुसार समाजवादको मूल आदर्श समानता हो र यसले समानता प्रवद्र्धन गर्ने हदसम्म नियन्त्रणकारी संस्थाहरूलाई समेत न्यायोचित ठान्दछ । हिस्टोरिकल डिक्शनरी अफ माक्र्सिज्मका अनुसार समाजवाद भनेको त्यस्तो सिद्धान्त हो, जसले उत्पादनका साधनको स्वामित्व एवम् नियन्त्रण समुदायमा रहनुपर्दछ र तिनीहरूको प्रयोग सबैको हितमा हुनुपर्दछ भन्ने धारणा राख्दछ । मेरियम वेब्स्टर्ब डिक्शनरीकाअनुसार समाजवाद समाजको त्यो प्रणाली वा अवस्था हो, जहाँ उत्पादनका साधनहरू राज्यको स्वामित्व र नियन्त्रणमा हुन्छन् ।
उपर्युक्त परिभाषाहरूको आधारमा निष्कर्ष निकाल्दा समाजवाद उत्पानका साधनहरूमाथि सामुहिक स्वामित्वमा आधारित आर्थिक–राजनीतिक व्यवस्था हो । उत्पानका साधनहरूमाथि सामुहिक स्वामित्व हुने र उत्पादन तथा वितरणमा राज्यको नियन्त्रण हुने समाज व्यवस्था हो । समाजमा समृद्धि र वास्तविक स्वतन्त्रता एवं समानता प्राप्त गर्नका लागि श्रोत र साधनहरूमा समाजको नियन्त्रण हुनुपर्दछ भन्ने अवधारणामा आधारित छ । यो त्यस्तो व्यवस्था हो, जहाँ समुदायको हरेक सदस्यले समृद्ध जीवन विताउनका लागि चाहिने वस्तु र साधनहरूमा पहुच राख्दछ । समाजवाद आर्थिक समानतामा जोडदिने व्यवस्था हो । तर, यसो भन्नुको मतलव समाजवादले राजनीतिक स्वतन्त्रता र समानतालाई महत्व नै दिदैन भने चाहिँ होइन । माक्र्स र एंगेल्सकाअनुसार समाजवादी समाज यस्तो समाज हो, जहाँ “हरेकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त हुनेछ ।” तसर्थ समाजवाद समाजका सबै सदस्यहरूको स्वतन्त्र विकासका आधारहरू भएको समाज व्यवस्था हो । समाजवाद समाजका हरेक सदस्यले योग्यताअनुसारको काम र कामअनुसारको दाम पाउने व्यवस्था हो ।
२. समाजवादका प्रकार
समाजवाद सम्बन्धी अवधारणामा एकरूपता छैन । अहिले संसारमा प्रचलित सिद्धान्त र व्यवहारलाई हेर्दा समाजवादका अनेक रूप भएको पाइन्छ । मूल प्रवृत्तिको हिसावले भने साजवादका दुईटा धारा मात्र छन् । एउटा प्रजातान्त्रिक समाजवाद र अर्को माक्र्सवादी समाजवाद वा वैज्ञानिक समजावाद । यी दुईका बिच मुख्य भिन्नताको कुरा गर्नुपर्दा वैज्ञानिक समजावादले उतपादनका साधनमाथि निजी स्वामित्वको अन्त्यगर्ने धारणा राख्दछ भने प्रजातान्त्रिक समाजवादले त्यस्तो धारणा राख्दैन । प्रजातान्त्रिक समाजवादमा उत्पादनको सबै पक्ष निर्वाचित शासकको नियन्त्रणमा हुन्छ भने वैज्ञानिक समजावादमा उत्पादन र वितरणका सबै पक्षमा सामुहिकताको प्रधानता हुन्छ । प्रजातान्त्रिक समाजवादले सामाजिक सुरक्षाको मात्र पक्षपोषण गर्छ भने वैज्ञानिक समजावादले सामाजिक न्यायमा जोडदिन्छ । सामाजिक सुरक्षा भनेको दयामायाले दिने कुरा हो भने सामाजिक न्याय भनेको अधिकारको रूपमा पाउने कुरा हो । प्रजातान्त्रिक समाजवादले व्यक्तिगत स्वतन्त्रतामा बढी जोडदिन्छ भने वैज्ञानिक समजावादले समानतासहितको स्वतन्त्रतामा जोडदिन्छ । यस प्रकारका भिन्नता भएका दुईखाले समाजवादमध्ये हामीले नेपालमा कुन चाहिँ समाजवाद निर्माण गर्ने हो ? हाम्रो संविधानले समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेको छ । त्यो समाजवाद कस्तो समाजवाद हो ? भन्ने संविधानको भाषाले प्रष्ट गर्दैन । राजनीतिक दलका अवधारणाहरू फरक–फरक छन् । हामीले नेपाली विशेषताको समाजवाद निर्माण गर्ने भनेका छौँ । त्यो भनेको के हो ? त्यो समाजवाद कस्तो हुन्छ ? त्यसका विशेषताहरू के–के हुन् ? त्यसका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक नीतिहरू के–के हुन् ? यी प्रश्नहरूको प्रष्ट जवाफ दिनेगरी खुलेर सार्वजनिक रूपमा कुरा आउन सकेको छैन । यहाँका प्रमुख राजनीतिक दलहरूभित्रै पनि जमेर छलफल भएको र निष्कर्ष निकालिएको अवस्था छैन । यो नेपाली विशेषताको बारेमा राजनीतिक दलहरूभित्र र बाहिर सार्वजनि रूपमासमेत व्यापक छलफल, बहस र विमर्श हुनु जरूरी छ ।
३. नेपाली विशेषताको समाजवाद
नेपाली विशेषताको समाजवादबारे कुरा गर्दा सवभन्दा पहिले नेपाली विशेषताको बारेमा स्पष्ट हुनुपर्दछ र त्यसपछि समाजवाद के हो र नेपाली विशेषतासहितको हुँदा त्यो कस्तो हुनेछ भन्ने सम्बन्धमा स्पष्ट हुनुपर्दछ । नेपाली विशेषता भनेको नेपाली समाजको विशेषता हो । नेपाली समाजको विशेषताको कुरा गर्दा मुख्यतः निम्न चार प्रकारका विशेषता रहेको पाइन्छः
३.१. भूराजनीतिक विशिष्टता: नेपाल एउटा विशिष्ट प्रकारको भौगोलिक अवस्थामा रहेको छ । यसको उत्तरतर्फ समाजवादी व्यवस्था अँगालेको विशाल चीन छ भने दक्षिणतर्फ पूँजीवादी प्रजातान्त्रिक प्रणाली अँगालेको गणतन्त्र भारत छ । दुबै छिमेकी मुलुकसँग नेपालको अति प्राचीन कालदेखि नै मैत्री सम्बन्ध रहिआएको छ । दुवैतिरका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवस्थाको प्रभाव नेपालमा पर्दै आएको छ । त्यसैले नेपालले अँगालेका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक मूल्य–मान्यताहरूमा आफ्नै खालका विशेषताहरू रहन गएका छन् । यस्तो प्रकारको भू—राजनीतिक अवस्था हुनु नेपाली समाजको एएटा विशेषता हो ।
३.२. जाति, भाषा, धर्म र संस्कृतिको विविधता: नेपाल कुनै एक जाति, एक भाषी, एक धर्म र एक संस्कृतिको वाहुल्यता भएको मुलुक होइन । यो बहुजाति, बहुभाषा, बहुधर्म र बहुसंस्कृति भएको देश हो । यहाँ कुनै पनि जातिको बाहुल्यता छैन । त्यसैले यसलाई अल्पसंख्यकहरूको मुलुक पनि भन्ने गरिन्छ । यो नेपाली समाजको अर्को एक विशेषता हो ।
३.३. वर्गीय मात्र नभएर जातीय र सांस्कृतिक विभेद समेत हुनु: नेपाली समाज वर्गीय विभेदबाट मात्र होइन जातीय विभेद र सांस्कृतिक विभेदबाट समेत ग्रसित समाज हो । यो वर्णव्यवस्था एवम् छुवाछुत प्रथा जस्तो अमानवीय विभेदबाट समेत आक्रान्त समाज हो । तर, अर्काेतर्फ यो धार्मिक, सांस्कृतिक र जातीय सहिष्णुताको परम्परा भएको समाज पनि हो । यस प्रकारको सामाजिक अवस्था हुनु नेपाली समाजको अर्काे एक विशेषता हो ।
३.४. लोकतान्त्रिक प्रणाली अँगालेको इतिहास हुनु: नेपाल प्राचीन कालदेखि नै लोकतान्त्रिक शासन व्यवस्था आँगाल्ने इतिहास भएको मुलुक पनि हो । शाक्य गणतन्त्र, कोलीय गणतन्त्र, विदेह गणतन्त्र आदि नेपालको प्राचीन गणतान्त्रिक शासन व्यवस्थाका ऐतिहासिक उदाहरण हुन् । ‘राजा’ पदवीका शासक चुन्ने र सभा या समितिद्वारा राज्य सञ्चालन सम्बन्धी एवम् जनसरोकारका सवालमा निर्णय लिने ती प्राचीन गणतान्त्रिक व्यवस्थाको पुरानो इतिहास हुनु र पछिल्लो कालमा निरङ्कुशता एवम् निर्दलीयताका विरुद्ध अविचल रूपमा सङ्घर्ष गरेर आएको ताजा इतिहास हुनु नेपाली समाजको अर्को एक विशेषता हो ।
नेपाली विशेषताको समाजवाद भन्नेवित्तिकै नेपाली समाजका उपर्युक्त विशेषताहरू अनुरूपको समाजवाद हो भनेर बुझ्नुपर्ने हुन्छ । माथि चर्चा गरिएका दुईखाले समाजवादमध्ये हामीले नेपालमा निर्माण गर्न चाहेको समाजवाद प्रजातान्त्रिक समाजवाद नभएर बैज्ञानिक समाजवाद हो । नेपाली विशेषताको समाजवाद विघटित सोभियत सङ्घ वा वर्तमान चीनियाँ मोडलको अन्धानुकरण गरेर निर्माण गरिने समाजवाद होइन । हामीेले निर्माण गर्ने समाजवाद आजको युगका लोकतान्त्रिक मूल्यमान्यताहरू समाविष्ट भएको उन्नत समाजवाद हो । नेपाली विशेषताको समाजवादमा लोकतान्त्रिक हक अधिकार सुनिश्चित गरिनेछ । त्यसमा आम जनसमुदायका लोकतान्त्रिक अधिकार, मुख्यतः सङ्गठन, अभिव्यक्ति, आलोचना, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनेछ । राज्यसत्ता सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता सुनिश्चित गरिनेछ ।
हामीले निर्माण गर्न चाहेको समाजवादी समाज समृद्ध र सुखी समाज हो । समृद्ध र सुखी समाज भनेको समाजका हरेक नागरिकको जीवन निर्वाह, व्यक्तित्व विकास, शिक्षा, स्वस्थ्य र सुरक्षाका आधारभूत आवश्यकता पूरा भएको समाज हो । अहिलेको हाम्रो संविधानले नागरिकका मौलिक हकको रूपमा ३२ प्रकारका अधिकारहरूको प्रत्याभूति प्रदान गरेको छ । ती अधिकारमा स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य, आवास, सञ्चार, न्याय, सामाजिक सुरक्षा, सम्पत्ति, सूचनालगायतका अधिकार छन् । नागरिक सुखी हुन उनीहरूलाई संविधान प्रत्तद सवै अधिकारहरूको व्यवहारिक रूपमा नै उपभोग गरिएको छ भन्ने अनुभूत भई सन्तुष्टि प्राप्त भएको हुनुपर्दछ । त्यस्तो स्थिति सिर्जना हुनु संविधानले राजनीतिक क्षेत्रमा जे गर्ने भनेको छ त्यो हुनुप¥यो, आर्थिक क्षेत्रमा जे गर्ने भनेको छ त्यो हुनुप¥यो, सामाजिक सांस्कृतिक क्षेत्रमा जे गर्ने भनेको छ त्यो हुनुप¥यो ।
समाजको आधार वा जग अर्थतन्त्र हो भने राजनीति समाजको माथिल्लो संरचना हो । आधार र संरचनाको बिचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । आधार संरचनामा प्रकट भएको हुन्छ भने संरचना आधारमा टिकेको हुन्छ । आधार वा जग जस्तो छ त्यस्तै संरचना बन्दछ । त्यसैले आर्थिक आधार बलियो नभैकन राजनीतिक संरचना बलियो हुन सक्दैन । राजनीतिमा आएको परिवर्तन अनुरूप आर्थिक आधारमा परिर्वतन गर्न सकिएन वा गरिएन भने एकातर्पm चालु राजनीतिक प्रणाली टिक्न सक्तैन भने अर्कोतर्पm आर्थिक आधारको विकास नै हुँदैन । हाम्रो संविधानको राज्यका निर्देशक सिद्धान्तमा “सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने” भएिको छ (धारा ५०.२) भने राज्यका नीतिमा “सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने” भनिएको छ (धारा ५१ (घ)
१) । यदि यसो हो भने तीन खम्बे अर्थनीतिका आधारमा सर्वप्रथम राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ, आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउनु प¥यो । त्यसो भएमा त्यो अर्थतन्त्र समृद्धिको आर्थिक आधार बन्ने छ र समाजवाद उन्मुख हुनेछ ।
संविधानले “कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने” पनि भनेको छ (धारा ५१ (ङ) ५) । यो प्रावधान राम्ररी कार्यन्वयन भयो भने मात्र कृषि क्षेत्रको विकासमा फड्को मार्न सकिने छ र कृषकहरूको समृद्धिको आधार निर्माण हुने छ । मान्छे सुखी हुनका निम्ति जीवन निर्वाहका साधनहरूको पर्याप्त उपलब्धता हुनुपर्दछ । साधन पर्याप्त हुनका लागि पर्याप्त आम्दानी हुनु पर्दछ । आम्दानी हुनका निम्ति काम पाउनु पर्दछ । वेरोजगार मान्छे सुखी हुने कुरै भएन । त्यसैले हाम्रो संविधानले “सवैलाई काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यवशायिक बनाउने र देशमा नै रोजगारी अभिवृद्धि गर्ने” भनेको छ (धारा ५१ (झ) १) । त्यसकारण जनसंख्याको सम्पूर्ण श्रमसक्षम हिस्सालाई दक्ष जनशक्तिमा विकास गर्नुप¥यो र सवैलाई योग्यता अनुसारको काम दिने व्यवस्था गर्नुप¥यो । त्यस्तो अवस्था निर्माण गरियो भने समृद्धिको एउता आधार तयार हुनेछ र त्यो नै समाजवादको आधार पनि हुनेछ ।
समाजमा आर्थिक राजनीतिक पक्षका साथै सामाजिक सांस्कृतिक पक्ष पनि हुन्छ । जवसम्म सामाजिक सांस्कृतिक पक्षको परिवर्तन हुँदैन तवसम्म समाजको आमूल परिवर्तन हुदैन । समाजका सवै पक्षमा आधारभूत परिवर्तन नभैकन समृद्धिको आधार नै बन्न सक्तैन र समृद्धिको आधारबिना समाजवादको आधार बन्दैन । त्यसैले समाजवादको निर्माण हुनका लागि सामाजिक सांस्कृतिक रूपान्तरणको अवस्था पनि एउटा उचाइँमा पुगेको हुनुपर्दछ । हाम्रो संविधानले “धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्नेे” उद्देश्य राखेको छ (धारा ५०.२) र “सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने” भन्नुको साथै “समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त गर्ने” समेत भनिएको छ (धारा ५१(ग) १ र ५) । मुलुक समृद्ध भएको मान्न र सवै नेपाली सुखी हुन संविधानका यी प्रावधानहरू व्यवहारिक रूपमा नै लागू भएको हुनु पर्दछ । त्यसो भयो भने समृद्धिको समाजिक सांस्कृतिक आधार तयार भएको हुनेछ र त्यो नै समाजवादको आधार हुनेछ ।
समृद्धि र सुखी जीवनको मापन गर्ने थप पक्ष हुन् शिक्षा र स्वस्थ्य । शिक्षा र स्वस्थ्यको अवस्स्थाले मानिसहरू सुखी छन् कि छैनन् या उनीहरूको जीवन सुखी छ कि छैन भन्ने स्पष्ट हुन्छ । राम्रो शिक्षा प्राप्त नगरेको मानिसले राम्रो काम पाउन सक्तैन । राम्रो काम नपाइकन उसले सुखी जीवन विताउन सक्तैन । विरामी पर्दा राम्रो स्वस्थ्य सेवा प्राप्त हुने अवस्था नभएमा पनि जीवन सुखी हुँदैन । त्यसैले मुलुक समृद्ध छ र मुलुकबासी सवै सुखी छन् भन्ने मान्नका लागि मुलुकभित्रै सवै जनताले गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वस्थ्य सेवा प्राप्त गर्ने अवस्था तयार भएको हुनु पर्दछ । शिक्षाको सम्बन्धमा हाम्रो संविधानले एकातर्फ “शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने” भनेको छ भने अर्कोतर्पm “उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने” भनेको छ (धारा ५१ (ज) १ र ३) । त्यसैगरी स्वस्थ्यको क्षेत्रमा “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्ने” भनिएको छ (धारा ५१ (ज) ६) । मुलुकबासी सवै सुखी हुनका निम्ति संविधानका यी प्रावधानहरू मुलुकभर व्यवहारिक रूपमा नै कार्यन्वयन भएको हुनु पर्दछ । त्यसो भएमा समाजवादका आधार तयार भएको मान्न सकिने छ ।
सुखी जीवनका निम्ति आश्यक पर्ने बस्तु तथा सेवाको उपलब्धता र यातायात सुविधा पनि हो । हाम्रो संविधानले वस्तु तथा सेवाको उपलब्धताको सम्बन्धमा “आधारभूत वस्तु तथा सेवामा सबै नागरिकहरूको समान पहँुच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनाबद्ध आपूर्तिको व्यवस्था गर्ने” भनेको छ भने यातायात सुविधाको सम्बन्धमा “यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित” गर्ने भनेको छ (धारा ५१ (ज) १३ र १४) । सुखी जीवनका निम्ति यी प्रावधान पनि कार्यान्वयन भएको हुनु पर्दछ । माथि चर्चा गरिएका विषयहरू नै समृद्धिका आधारहरू हुन् र यी समृद्धिका आधार नै समाजवादका आधार हुन् । किनभने यतिवेलाको नेपाली समाजको परिप्रेक्षमा आम नेपाली जनताका लागि गास, बास, कपासको व्यवस्था, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्राप्ति तथा रोजगारी, यातायात र वस्तु तथा सेवाको उपलब्धता नै सुखी जीवनका आधार हुन् र सुखी जीवनका आधार नै समृद्धिका एवं समाजवादका आधार हुन् । हामीले निर्माण गर्न चाहेको नेपाली विशेषताको समजवादका मुख्य आधार यिनै हुन् । यी आधारहरू तयार भए भने समाजवाद निर्माण हुँदै गएको मान्न सकिने छ ।
नोटः अनेमसंघ (समाजवादी) द्वारा प्रकाशित महिला संकल्प-२ मा प्रकाशित समाग्री।