प्रारम्भ
यतिबेला हाम्रो मुलुकको राजनीतिक परिदृश्य तरल अवस्थामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग एकाएक गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य सुरू गर्नुभएको छ । हामीलाई जानकारीसमेत नदिइ नयाँ गठबन्धन बनाइयो । नयाँ गठबन्धन निर्माणगर्ने बेला गरेका कमी कमजोरीलाई सच्याउँदै मुलुक जनताले सामना गरिरहेका समस्या समाधान गर्न तथा देश र जनताको विकास एवम् परिवर्तनको दिशामा समान हैसियतका साथ राज्य सञ्चालन गर्ने भन्ने प्रतिबद्धता जाहेर गरेकाले हामी पनि सरकारमा सहभागी भएका छौँ । हामीलाई बेवास्ता गर्दा झण्डैझण्डै अर्को गठबन्धन बनेको थियो । तर, हामीले पदलाई महत्व दिएनौँ । जसरी पनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरालाई महत्व दिएनौँ । देशमा सुशासन कायम हुनुपर्छ, विकास निर्माणका कामअघि बढ्नुपर्छ, राष्ट्रिय हितको रक्षागर्न परिवर्तनकारी शक्तिहरू मिलेर अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढ्न चाहन्छौं ।
विश्व राजनीति र हाम्रो दृष्टिकोण
सोभियत संघको अवसानपछि दुई धुव्रीय विश्व एक ध्रुवमा परिणत भयो । उक्त एक ध्रुवीय विश्व पनि अहिले बहुध्रुवीय बनेको छ । नयाँ नयाँ शक्ति राष्ट्रहरुको उदय भइरहेको छ । अहिले विश्व अर्थतत्त्रको केन्द्र एशियातिर सरिरहेको छ । चीनको बढ्दो आर्थिक शक्तिले उसलाई विश्व राजनीतिकै महत्वपूर्ण शक्तिका रूपमा स्थापित गराएको छ । तेङ सियाओ फिङले १९७८ मा चीनलाई समाजवादी अर्थतन्त्रको बाटोमा डो¥याए यता चार दशकमा चीनले अभूतपूर्व विकास गरेको छ । छिमेकी चीनले समाजवाद निर्माणका सम्पूर्ण क्षेत्रहरूमा जुन असाधारण प्रगति गरेको छ, त्यसले विश्वको शक्ति सन्तुलनमा ठुलो फेरबदल ल्याएको छ । यतिबेला समाजवादी चीन राजनीतिक, आर्थिक, सामाजिक, प्रतिरक्षात्मक, प्राविधिक, व्यापारिक र हर हिसाबले चौतर्फी प्रगतिगर्दै अघि बढिरहेको छ । चार दशकमा चीनले ७७ करोड जनसंख्यालाई गरिबीको चपेटाबाट माथि उठाएको छ ।
प्रविधिको क्षेत्रमा, अध्ययन अनुसन्धानको क्षेत्रमा, उत्पादन र बस्तु निर्यातमा चीनको प्रगतिले सवैलाई प्रेरणा दिएको छ । कुनै पनि देश सशक्त हुनका लागि आर्थिक रूपले अरू देशभन्दा सम्पन्न बन्नु पर्छ । चार पाँच सय बर्ष अघि विश्वको आर्थिक विकासको केन्द्र एशिया थियो । तर, पछि त्यो केन्द्र युरोपमा स¥यो । औपनिवेशिक शासनका माध्यमबाट औपनिवेशिक देशहरुको स्रोत साधन लिएर युरोपले आर्थिक विकासमा फड्को मा¥यो । औपनिवेशिक शासनका विरूद्ध राष्ट्रिय मुक्ति आन्दोलनहरू भए । महान विचारक कार्ल माक्र्सले १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित गर्नुभएको थियो । शोषणबाट मुक्तिका लागि पेरिसवासीहरूले सन १८७१मा संसारको पहिलो सर्वहारा राज्यसत्ताको स्थापना गरे । लेनिनको नेतृत्वमा रूसमा सन १९१७ मा अक्टूबर क्रान्ति सम्पन्न भई सोभियत संघको निर्माण भयो । दोस्रो विश्वयुद्धपश्चात समाजवादी सोभियत संघ तथा पूँजीवादी पश्चिमा मुलुकबीच शीतयुद्ध नै चल्यो । दोस्रो विश्वयुद्धपछि अमेरिकालाई चुनौती दिँदै अर्को महाशक्ति राष्ट्र सोभियत संघ उदायो ।
दोस्रो विश्वयुद्धपछि शक्ति राष्ट्रको गुट उदय हुँदा यस्ता गुटको पछि नलाग्ने विचारसँगै असंलग्न अभियानको जन्मभयो । अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान, अनाक्रमण, पारस्परिक सहयोग तथा शान्तिपूर्ण सह–अस्तित्वका ‘पञ्चशील’ भनिने पाँच मूलभूत सिद्धान्त हुन् । यिनैमा आधारित भएर असंलग्न आन्दोलनको प्रारम्भ भएको हो । नेपाल असंलग्न आन्दोलनका नीतिप्रति प्रतिबद्ध छ । निकै ठूलो जनसंख्या भएका भारत र चीनजस्ता विशाल छिमेकी देशहरूको बीचमा रहेको नेपालले कस्तो नीति अवलम्बन गर्ने भन्ने सन्दर्भमा गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ । शक्तिराष्ट्रहरूको द्वन्द्वबाट नेपालको स्वतन्त्रता र स्वाभिमानलाई कसरी जोगाउने भन्नेबारे गम्भीर चिन्तन गर्नुपर्छ । नेपाललाई विश्व शक्ति राष्ट्रहरूको खेलमैदान बन्न दिनुहुँदैन भन्नेमा हामी सतर्क र सजग हुनुपर्दछ ।
पछिल्लो समय रूस र युक्रेनबीच भएको युद्धको असर पूरै संसारमा परिरहेको छ । रूस–युक्रेन युद्धको विश्वभर बहुआयामिक असर परेको छ । शक्तिराष्ट्रहरूको द्वन्द्वको असर नेपालमा पनि पर्ने हो कि भन्ने चिन्ता छ । कतिपय आर्थिक क्षेत्रमा त्यसको असर परिरहेको पनि छ । पेट्रोलियम पदार्थको बढेको चर्को मूल्य रूस युक्रेन युद्धका कारण पनि हो भन्ने कुरा प्रष्ट छ । आर्थिक शिथिलताका बेला पेट्रोलिय पदार्थले कायम गरेको मूल्यका कारण पक्कै पनि हाम्रो अर्थतन्त्रलाई नै असर गरिरहेको छ । वैदेशिक सहायतामा कमी आइरहेको छ । शोषण तथा उत्पीडनका विरूद्ध विश्वभरका श्रमजीवि जनता जागेका छन् । उत्पीडनमा परेका राष्ट्रहरुले स्वाभिमानी भएर बाँच्न पाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढिरहेका छन् । त्यसकामको अगुवाइ वामपन्थी तथा समाजवादी शक्तिहरूले गरिरहेका छन् । अहिले ल्याटिन अमेरिकाका दशवटा देशमा बामपन्थी वा समाजवादी सरकार गठन भएको छ । अफ्रिकामा पनि वामपन्थी शक्ति बलियो हुँदै गइरहेको छ । युरोपमा पनि वामपन्थी शक्तिहरू बढ्दै गइरहेका छन् । यसरी विश्व कम्युनिष्ट आन्दोलनमा एकातिर जटिलताका पक्षहरू छन् भने अर्कातर्फ सकारात्मकताका कुरा पनि छन् ।
अमेरिकाले नेपाललाई एमसीसी परियोजनाको माध्यमबाट सैन्य रणनीतिको अङ्ग बनाउने आशङ्काले गर्दा संसदबाट व्याख्यात्मक घोषणा सहित पारित गरेर नेपाल कुनै पनि सुरक्षा गठबन्धनमा आवद्ध हुने पक्षमा छैन भन्ने कुरा स्पष्ट पारेका छौं । नेपालको भूमि हाम्रा छिमेकी राष्ट्रहरूको विरूद्ध प्रयोग हुन दिँदैनौं भन्ने कुरा हामीले बारम्बार भनिरहेका छौं । हामीले कुनै पनि सहयोगका परियोजनालाई विशुद्ध आर्थिक परियोजना वाहेक अन्य ढङ्गले स्वीकार गर्न सकिँदैन भन्ने मान्यताहरू प्रष्टसँग अघि सारेका छौँ । अर्काेतर्फ भारतसँगको सीमा सम्वन्धि समस्याहरू हल गर्नुपर्नेछ । भारतमा आम चुनाव भइरहेको छ । अब आउने नेतृत्वले हाम्रा चासो र सरोकारहरुलाई गम्भीरता पूर्वक लिनुपर्दछ । कुनै पनि समस्यालाई लामो समय बल्झाएर राख्नु हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सालाई भारतले स्वीकार गर्नुपर्छ । समानताको आधारमा र पारस्परिक सम्मानको आधारमा एकअर्काको हितलाई घात नगर्ने मान्यताका साथ यो सम्बन्धलाई अघि बढाउनुपर्छ । हामी कसैलाई पनि शत्रु ठान्दैनौं । सबै हाम्रा मित्रहरू हुन् । सबैले हामीलाई पनि त्यस्तै व्यवहार गरून् भन्ने हामी चाहन्छौँ ।
एमालेसँगको सहकार्य र वाम ध्रुवीकरण
एउटा विशिष्ट खालको परिस्थिति पैदा भएपछि हामीले एमालेबाट विद्रोह गरेका हौँ । त्यहाँ देखिएको दक्षिणपन्थी र व्यक्तिवादी चिन्तन, प्रवृत्ति, चरित्र र अहमताले पार्टीलाई दुर्घटनामा पु¥याएकै हो । जनताले कम्युनिष्टहरूलाई झण्डै दुई तिहाई मत दिएपनि त्यसको सही ढंगले सदुपयोग हुन सकेन । त्यही परिप्रेक्ष्यमा हामीले नयाँ पार्टी बनाएर अघि बढ्नु परेको हो । यति बेला नेकपा (एमाले) पार्टी र हामी एउटै गठबन्धनमा रहेका छौँ । एमालेसँग हामीले दूरी कायम गर्न चाहेका छैनौँ । तर, त्यहाँ देखिएकोे गलत प्रवृत्तिले हामीलाई सचेततापूर्वक चल्न हरपल सजग बनाइरहेको छ ।
वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता हुनुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी स्थापनाकालदेखि स्पष्ट दृष्टिकोणका साथ लागेको छ । वामशक्तिहरू एकै ठाउँमा भए धेरै राम्रो । त्यसो नहुँदा सहकार्य गर्दै जनताका पक्षमा कामगर्नु उपयुक्त हुन्छ । तर, बाहिर बाहिर वाम ध्रुवीकरण भन्ने तर, वास्तविकतामा त्यसविरोधी कामगर्ने हो भने परस्परमा अविश्वास पैदा हुन्छ र वाम ध्रुवीकरण केवल नारामा सीमित हुनजान्छ ।
पार्टीको दशौं महाधिवेशन
हाम्रो पार्टी नकपा (एकीकृत समाजवादी) पार्टीको दशौं महाधिवेशनको तयारीमा जुटेको छ । हामीले सुरूमा माघमा महाधिवेशन गर्ने भनेका थियाँै । पछि जेठको पहिलो हप्तागर्ने भनिएको महाधिवेशन पनि सारेर असारमा पु¥याएका छौँ । यतिबेला महाधिवेशनका लागि कमिटी बनाएर मसिनो गरी काम गरिरहेका छौँ । महाधिवेशनमा पेश गरिने राजनीतिक दस्तावेज लेखनको कामपनि लगभग अन्तिम अवस्थामा पुगेको छ ।
हामी आजको नेपाली समाजको अवस्था, यसका अन्तरविरोध, अन्तर्राष्ट्रिय परिस्थिति, समाजवादी क्रान्तिको दिशा, नयाँ जनवाद, जनताको बहुदलीय जनवादका उपलब्धिहरुको समीक्षालगायतका विषयहरूका बारेमा छलफल गरिरहेका छौँ । राजनीतिक दस्तावेजमा कसैलाई पनि मुख्य शत्रु किटान गरेर जानु हुँदैन । हामीले प्रवृत्तिलाई इंगित गर्नुपर्छ र अहिलेको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा कुनै पार्टी विशेषलाई शत्रु भन्नु मुर्खता हुनेछ । बहस छलफलबाटै हामी समान धारणा बनाएर महाधिवेशन हलमा प्रवेश गर्ने आशा गरेका छौँ । अन्य पार्टीहरूले हामीप्रति राखेका विचारका आधारमासमेत उनीहरूप्रति हामीले धारणा बनाउनुपर्छ । कसैलाई जन्मजातै शत्रु घोषणा गर्ने परम्परागत धारणाबाट हामीमाथि उठ्नुपर्छ ।
अहिले हाम्रो सामु संविधानलाई समाप्त पार्ने र गणतन्त्रलाई समाप्त पार्ने प्रवृत्तिहरू नै प्रमुख समस्याका रूपमा रहेका छन् । यसको विपरित संविधानको पक्षपोषण गर्ने, गणतन्त्रको रक्षागर्ने कुरामा उभिएको पार्टीलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा गर्नुहुँदैन। हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो, थोरैभन्दा थोरै शत्रु किटान गर्ने हो । अहिले दलाल नोकरशाही पूँजीपति वर्ग हाम्रो प्रमुख शत्रु रहेको छ । त्यसलाई संरक्षण गर्ने जोसुकैका विरूद्ध हाम्रो संघर्ष रहनुपर्छ । हाम्रो पार्टीले महिलाकोे हक, अधिकार रक्षाका निम्ति सधैँ लड्दै आएको छ। महिलालाई राजनीतिक क्षेत्रमा कम्तिमा ३३ प्रतिशत प्रतिनिधित्व गराउन हामीले भूमिका खेलेका छौँ । पार्टी नै राज्यका निकायहरूमा महिलाको समुचित उपस्थितिको पक्षमा उभिएका छौँ। महिला र युवालाई पार्टीमा विशेष स्थान दिने कुरा हामीले विधान पारित गरिसकेका छौँ । महिलाको सक्रिय सहभागिता र उपस्थिति बिना कुनै पनि राजनीतिक परिवर्तन संभव भएको छैन । पार्टीकोे दशौँ महाधिवेशनमा महिलाको उपस्थिति बढीभन्दा बढी गराउनुपर्छ। हरेक क्षेत्रबाट महिलाको प्रतिनिधित्व होस् भन्ने कुरामा हामी सचेत छौँ । नेतृत्व तहमा पनि महिलाहरूले महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। आउँदो महाधिवेशनबाट त्यसलाई अझँ बढाएर लैजानुपर्छ । पार्टीका हरेक तहमा महिलाको उल्लेख्य र सम्मानजनक उपस्थिति हुनैपर्छ।
पछिल्लो गठबन्धन र हाम्रो भूमिका
उल्लेखित हाम्रो चाहना विपरित अहिलेको गठबन्धनको चाल पछिल्ला केही समयमा ठीक देखिँदैन । छलकपट र जालझेल भइरहेको हो की भन्ने हामी लयायतको आशंका छ । गठबन्धनमा सहमति गर्ने तर, त्यसलाई कार्यान्वयन गर्ने सवालमा समस्या देखिएका छन् । अरू दलको गतिबिधिबाट हामी सन्तुष्ट हुने अवस्थामा छैनौँ । तैपनी परिस्थितिलाई नजिकबाट नियालेर बसिरहेका छौँ । धोकाधडी जालझेल मात्रै हो भने यो गठबन्धन धेरै अघि जान सक्दैन । यो गठबन्धनमा हाम्रो उपस्थिति आफैमा महत्वपूर्ण छ । एकीकृत समाजवादी नरहेको अवस्थामा अहिलेको सरकार र गठबन्धन नरहन पनि सक्छ । राष्ट्रिय राजनीतिमा पनि हाम्रो उपस्थिति ज्यादै महत्वपूर्ण छ । नेपालको कम्युनिष्ट आन्दोलन निक्कै उतार चढावपूर्ण अवस्थाबाट गुज्रिदै आएको छ । भर्खरै मात्र नेपालमा कम्युनष्टि पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको छ । यो अवधिमा नेपालमा कम्युनिष्ट पार्टीहरू ज्यादै लोकप्रिय बन्न पुगे । हामीले २०५१ सालमा ९ महिना मात्रै सरकार सञ्चालन गर्दा पनि अनेकौं जनपक्षीय कामहरु गरेका थियौँ । परराष्ट्र सम्बन्धलाई स्पष्ट मार्गका साथ हिडाउने र भारतसँग रहेको असमान सन्धि सम्झौतालाई पुनरावलोकन गर्ने प्रस्ताव हामीले नै अघि सारेका थियौँ ।
२०६४ सालको संविधानसभा चुनावपछि २०६६/६७ सालमा हामीले सरकार चलाउने दोस्रो अवसर पाएका थियौं । २२ दल समेटेर २१ महिना मेरै नेतृत्वमा सरकार सञ्चालन भएको थियो । त्यसबेला संविधान निर्माणगर्ने, शान्ति प्रक्रियाका कतिपय अत्यन्तै महत्वपूर्ण कार्यहरू सम्पन्न गर्ने, दीर्घकालिन महत्वका विकास परियोजनाहरू अघि बढाउनुका साथै महिला हक अधिकारका लागि, उत्पीडित जाति र समुदायको हक अधिकारका लागि उक्त सरकारले महत्वपूर्ण भूमिका खेलेको थियो । २०७४ सालको चुनाव पछि तत्कालीन नेकपा एमालेसहितको गठबन्धनले झण्डै दुई तिहाई बहुमत हासिल ग¥यो । माओवादी केन्द्रसँग एकता भइसकेपछि तत्कालीन नेकपाले झण्डै दुई तिहाइको सरकारको नेतृत्व गर्ने राम्रो अवसर प्राप्त गरेको थियो । तर, त्यतिबेलाको नेतृत्वमा उत्पन्न भएको व्यक्तिवाद, अहंकारवाद, दक्षिणपन्थी भड्काउ, संगठनात्मक सिद्धान्तलाई लत्याउने प्रवृत्ति व्याप्त भयो र संविधान मिचेर प्रतिनिधिसभा विघटन गरिएपछि हामीले संविधानको रक्षाका लागि जनतालाई आव्हान गर्नुप¥यो । सडकमा नै उत्रिनुप¥यो । हामीले कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा हिँडाउनका लागि नयाँ पार्टी निर्माण गर्नुपर्ने अवस्था सिर्जना भयो । हामी संघर्षकै क्रममा देशव्यापी रूपमा संगठन विस्तार गर्दैगयौं र संविधानविरोधी दक्षिणपन्थी प्रवृत्तिविरूद्ध नयाँ गठबन्धन निर्माण ग¥यौं ।
निर्वाचनमा नयाँशक्ति सन्तुलन देखाप¥यो । कुनैपनि दलले बहुमत ल्याउन सकेनन् । यहिबीचमा, एमाले सहितको गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बने पनि त्यो गठबन्धन टिक्न सकेन । घोर दक्षिणपन्थी र सुस्पष्ट विचारै नभएका पार्टीहरूको संलग्नता, एमाले पार्टीका नेतामा रहेको अहंकार र सर्वसत्तावादी प्रवृतिबाट आजित भएर नेकपा (एमाले) सँगैबस्न नसक्ने निष्कर्षमा माओवादी केन्द्र पुगि सकेपछि पुनः नेपाली काँग्रेससहितको नयाँ गठबन्धन बन्यो । तर, अहिले त्यो अवस्था पुनः बदलियो । एमालेसहितको गठबन्धनमा सरकार बनेको छ । यो पनि कति समय टिक्ट भन्न सकिने अवस्था छैन । अघिल्लो गठबन्धनमा सहज ढंगले कामगर्ने अवस्था हुँदाहुँदै प्रधानमन्त्रीजीले गठबन्धन फेर्नुभयो । किन कांग्रेसहितको गठबन्धन तोडेर अर्को बनाउनुप¥यो भन्ने कुरा अझैँ प्रष्ट भएको छैन । आज पनि यो गठबन्धन कसरी अघि बढ्छ भन्ने विषयमा हामी ढुक्कले भन्न सक्ने अवस्थामा छैनौं ।
निष्कर्ष:
यो गठबन्धनमा हामी सहभागी भएका छौँ । हाम्रो पहिलोे ध्यान भनेकै जनताको सेवा हो । हाम्रा काम कारबाही जनतामा केन्द्रित हुनुपर्छ । आफूलाईभन्दा पार्टीलाई र पार्टीलाई भन्दा जनतालाई र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । सरकारमा सहभागी भएपछि अवसरहरू स्वभाविक रुपमा आउँछन् । यसलाई जनताको पक्षमा उनीहरुको हितमा प्रयोग गर्नुपर्छ । हामीले राजनीतिक पाटोसँगै आर्थिक, सामाजिक, साँस्कृतिक पाटोलाई विशेष ध्यानमा राख्नुपर्दछ । सांस्कृतिक हिसाबले हेर्दा चरम बेथितिहरू देखिरहेका छौँ । व्यक्तिवादी प्रवृत्ति फस्टाएको छ । भ्रष्टचार व्याप्त छ । समाजमा अन्याय, अत्याचार, शोषण, उत्पीडन, व्यापक रुपमा विद्यमान छ । यी सबै कारणहरूले गर्दा जनतामा निराशा व्याप्त छ । विशेष गरी युवाहरूमा निराशा र हतासा फैलिएको छ । उनीहरू देशमा रोजगारी नपाएर विदेशमा रोजगारीका लागि जान बाध्य छन् । यी सबै कुरालाई ध्यानमा राखेर आर्थिक क्षेत्रमा व्यापक प्रगति गर्नुपर्ने आवश्यकता छ । रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । दलाल तथा नोकरशाही पूँजीपति र त्यसको नियन्त्रण र शोषणलाई अन्त्यगर्नु आवश्यक छ । त्यसतर्फ सम्पूर्ण पार्टीपंक्ति र सबै तहका सरकार एवम् जनप्रतिनिधिहरूको ध्यानजान आवश्यक छ । सिंङ्गो पार्टीको ध्यान पनि यसमै केन्द्रित हुनुपर्दछ ।
धन्यवाद ! १७ बैशाख, २०८१
कोटेश्वर, काठमाडौं
नोटः अनेमसंघ (समाजवादी) द्वारा प्रकाशित महिला संकल्प दोस्रो संस्करणमा प्रकाशित लेख।