केही विषय आरम्भमा
दामोदर अर्यालको भर्खर प्रकाशित 'बिर्सिएको वर्ग संघर्ष' नामक मार्क्सवादी रचनाको अध्ययन गरिसकेपछि एक प्रकारले सन्तोषको अनुभूति भएको छ । वर्तमान भागदौडको समयमा पनि युवाहरूले मार्क्सवादको गहन अध्ययन गरेर आफ्ना अनुभवका आधारमा यस प्रकारको विचार प्रवाह गरेको देख्दा खुसी लागेको छ । भविष्यमा यस्ता मार्क्सवादका अध्येताहरू अरु पनि जन्मिएलान् भन्ने विश्वास गर्न सकिन्छ । जसका आधारमा समाजवादी ध्येयमा क्रियाशील रहनुहुने अन्य युवाजनका निम्ति पनि एउटा अजश्र प्रेरणाको स्रोत बन्नेछ ।
सर्वप्रथम वर्तमान समयमा अधिकांश फेसबुके बुद्धिजीवीहरूको बोलवाला चलेको देखिन्छ । मोबाइलको फेसबुकमा विदेशीहरूले जे–जस्तो सूचना साम्राज्यको जालो फैलाएका छन्, त्यसैलाई मार्क्सवादभन्दा पनि आधिकारिक ठान्ने वामपन्थी भनिएका बुद्धिजीवीहरूको कुनै कमी छैन । तिनैको चर्चा गरेर आफूलाई निकै ठूलो बुद्धिजीवी भएको ठान्ने यस प्रकारको बौद्धिक वातावरणमा दामोदर अर्यालले यी सबै विषयहरूबाट छुट्टै बसेर मार्क्सवादी चिन्तनमा आधारित भएर बिर्सिएको वर्ग संघर्ष प्रकाशन गर्नु नितान्त फरक विषय हो ।
यसमा रहेको पहिलो लेख 'कम्युनिस्ट सरकार, सत्ता र समाजवाद'मा संसारभरि कम्युनिस्ट विचारकोे लोकप्रियता रहे पनि विगतमा सरकार सञ्चालनमा रहेका कमी कमजोरीहरूको निर्मम तरिकाले चिरफार गर्ने काम भएको देखिन्छ । दोस्रो लेख 'नेपाली समाजवादी आन्दोलनका केही सैद्धान्तिक आधारहरू' मा मुख्यतया विगतमा कम्युनिस्ट आन्दोलनको जे–जस्तो विकास देखिएको थियो, त्यसमा लोकतन्त्रीकरणको नितान्त अभाव रहेको थियो । सोभियत संघलगायतका देशहरूमा समाजवादको असफलताको मुख्य कारण त्यसमा लोकतन्त्रीकरणको अभाव हो ।
नेपालमा समाजवादी आन्दोलनको विकास गरिरहँदा यस पक्षलाई विशेष ध्यान दिनु आवश्यक छ भन्ने विषयमा लेखकले जोड दिनुभएको छ । तेस्रो 'संस्कृति निर्माणमा बरालिएको वाम आन्दोलन' मा वर्तमान समयमा आफूलाई वामपन्थी विचारमा आबद्ध भएको ठानिए तापनि उनीहरूको सामाजिक व्यवहार उही परम्परागत जीवनशैलीमा आधारित छ ।
हरेक संस्कृतिको निर्माण पनि तत्कालीन भौतिक परिस्थितिले गरिरहेको हुन्छ । तिनमा पनि कुनै न कुनै वर्गीय छाप लागेकै हुन्छ । सुरुदेखि नै समाज वर्गमा विभाजित भएको हुन्छ । त्यसमा सबै वर्गका आआफ्ना विचारहरू रहे तापनि 'जुन वर्गका हातमा राज्यसत्ता रहेको हुन्छ, सोही वर्गको विचार सत्ता रहेको हुन्छ' विषयमा ध्यान नपुग्दा यस प्रकारको वैचारिक गडबडी देखिन्छ । यस विषयमा विगतमा पनि विचार सत्ताले काम गरेको थियो, अहिले पनि जसको राज्यसत्ता उसैको विचारसत्ता कायम छ ।
भविष्यमा पनि यदि समाजवादी राज्यसत्ता लागू भयो भने त्यसैको विचारसत्ता कायम रहनेछ । लेखकका 'समाजवाद निर्माणमा संस्कृति' र 'समाजवाद निर्माणमा वैज्ञानिक चेतना' यी दुवै लेखको विषयवस्तु एउटैएउटै रहेको देखिन्छ । यसमा मुख्यतया हामीले भोगिरहेका सामाजिक विश्वासहरू अत्यन्त अवैज्ञानिक खालका रुढिग्रस्त अवस्थाका छन् । तिनलाई वैज्ञानिक चेतनाले युक्त पार्नु आजका मार्क्सवादीहरूको प्रमुख कर्तव्य रहन गएको छ भन्ने विषयलाई प्रस्ट पारिएको छ ।
पुस्तकको शीर्षक नै रहेको 'सत्ता संघर्षले बिर्सिएको वर्ग संघर्ष' नामक लेख आकारमा सानो भए पनि विषयवस्तुका हिसाबले महत्त्वपूर्ण छ । यसमा कम्युनिस्टहरू पटकपटक सत्तामा गएर अपवादका रूपमा केही काम भए पनि त्यस्ता उल्लेखनीय कामहरू गर्न सकेनन् । बरु सत्ताको रमझममा अल्मलिएर आफ्ना सम्पूर्ण आदर्श मूल्यमान्यताहरू छोड्दैछोड्दै गए । र, कुन कम्युनिस्ट हो ? कुन गैरकम्युनिस्ट हो भन्ने विषय नै अलमलमा परेको छ भन्ने विषयलाई अत्यन्त मार्मिक ढंगले उठाइएको देख्न सकिन्छ ।
सातौँ लेख 'आमसञ्चारः पुँजीवाद र वर्ग संघर्ष' रहेको छ । यस विषयमा त लेखक स्वयम् पनि आधुनिक सञ्चार प्रणालीको महत्त्वलाई राम्रो गरी बुझ्नुभएको हुनाले यसलाई पुँजीवादले आफ्नो स्वार्थका निम्ति कसरी प्रयोग गरिरहेको छ र श्रमजीवी जनताको संघर्षशील चेतनालाई कसरी निस्तेज पार्न सकिन्छ भन्ने विषयमा लागेको अवस्थालाई पनि प्रस्तुत लेखले राम्रोसँग प्रस्ट पारेको देख्न सकिन्छ ।
यसैको अर्को लेख 'सूचना प्रविधिको विकासले आउनै लागेको अर्को दुनियाँ'मा मानव जातिको इतिहासमा जे–जति विज्ञान र प्रविधिको विकास भएको देख्न सकिन्छ, त्यो सबै मानव जातिकै गौरवको विषय हुन सक्दछ । तर, त्यही प्रविधिको विकसित स्वरूपको उपयोग गरेर साम्राज्यवादले विश्वका सामु पारमाणविक हतियारको यति ठूलो विकास गरिदिएको छ कि त्यसले भविष्यमा कदाचित् विश्वयुद्ध नै छेडियो भने न त पुँजीवादका स्रष्टाहरू बाँच्न सक्छन्, न त उनीहरूले शत्रु ठानेकाहरू नै ।
साथै, सूचना सञ्चारको पनि त्यस्तै अवस्था छ । त्यसको उपयोग गरेर उसले जे–जति मात्रामा लाभ प्राप्त गरिरहेको छ, त्यसले पनि आफ्नो सूचना साम्राज्यलाई विस्तार गरिरहेको छ । यदि सोही विकसित विज्ञान र प्रविधिको सदुपयोग समाजवादले गर्न पाउने हो भने त्यसले शान्ति, प्रगतिसहितको विश्व निर्माण गर्न सक्दछ भन्ने विषयलाई लेखकले यसमा उठाउन खोज्नुभएको जस्तो बुझ्न सकिन्छ । किनभने अहिलेको सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रलाई निकै ठूलो प्रभाव पारिरहेको देख्न सकिन्छ ।
नवौँ लेख पुँजीवाद शीर्षका रहेको छ । यसमा पुँजीवादका विविध पक्षको परिचय दिइएको छ । आज हामीले जुन प्रकारको पुँजीवादको अवलोकन गरिरहेका छौँ, त्यसको एउटा मात्र आयाम छैन । त्यसका विविध पक्षहरू छन् । यहाँनेर ती सबै पुँजीवादका विशेषताहरूको व्यापक परिचर्चा रहेको देखिन्छ । यसले वर्तमान अवस्थाको पुँजीवादको स्वरूप बुझ्न निकै ठूलो मद्दत पुग्नेछ ।
दशौँ लेख 'ती कम्युनिस्ट, यी कम्युनिस्ट' रहेको छ । यसमा नेपाली समाजमा रहेको सामन्ती संस्कृतिको जडतालाई परास्त गर्दै कम्युनिस्टहरूले समाज परिवर्तनमा विगतमा खेलेको गौरवशाली भूमिकाको यथेष्ट रूपमा चर्चा गरिएको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनको महान् र गौरवशाली परम्परालाई इङ्गित गरेको छ । साथसाथै अहिलेका कम्युनिस्टहरूले त्यस गौरवशाली परम्परालाई अक्षुण्ण राख्न नसकेर प्रतिक्रियावादी चिन्तन र व्यवहारबाट कताकता पराजित भए र लामो सामाजिक परिवर्तनको यात्रामा लाग्न नसकी त्यसबाट पन्छिएर थकित एवं गलित भएको अनुभवलाई लेखकले यथेष्ट रूपमा प्रकाश पार्नुभएको देखिन्छ । एघारौँ लेख 'आन्दोलनको अर्को एउटा मोड'मा नेपाली कम्युनिस्ट आन्दोलनको गौरवशाली विगतको चर्चा गर्दै माओवादी जनयुद्धको वस्तुगत सत्यताको चर्चा गरिएको छ ।
कम्युनिस्ट आन्दोलनभित्र येल्तसिन र ओलीहरू जन्मिने कारणको पनि यथार्थपरक विश्लेषण गरिएको पाइन्छ । यसमा नेपाली कम्युनिस्ट आन्दोलनको गौरवशाली परम्पराको उत्तराधिकार एकीकृत समाजवादीले मात्र वहन गरेको छ भन्ने विषयलाई स्थापित गर्दै आगामी दिनमा नेपाली कम्युनिस्ट आन्दोलनका कार्यभारहरू र गन्तव्यको पनि यथेष्ट चर्चा भएको देखिन्छ ।
अन्तिम लेखका रूपमा 'विद्यार्थी आन्दोलनः विगतको सिकाइ र आजको तयारी' छ । यसका सन्दर्भमा लेखक स्वयम् पनि विद्यार्थी आन्दोलनको नेता तथा कार्यकर्तासमेत रहेको हुनाले यस आन्दोलनप्रतिका जीवन्त अनुभवहरूको सङ्ग्रह पनि भन्न सकिन्छ । यसमा विद्यार्थी आन्दोलनको गौरवशाली विगत आउँदा दिनहरूमा विद्यार्थी आन्दोलनको स्वरूपका विषयमा अत्यन्त व्यावहारिक निष्कर्षहरू दिइएको छ । अबको विद्यार्थी आन्दोलनले वहन गर्नुपर्ने दायित्व पनि यसैमा आधारित रहेको देखिन्छ ।
केही पूरक विचारहरू
कमरेड दामोदरले आफ्नोतर्फबाट यस कृतिमा सक्दो स्तरीकरण एवं पूर्णता दिने प्रयत्न गर्नुभएकै छ । तर पनि त्यसमा कतिपय सीमा रहेको विषय पनि स्पष्ट रूपमा बुझ्न सकिन्छ । कतिपय विषयमा उहाँले प्रस्तुत गर्नुभएका विचार शृंखला गलत होइनन् । तिनमा यसो भन्दा पूर्णता हुनेछ भनेर पहिला उहाँको प्रस्तुतिलाई जस्ताको त्यस्तै त्यसमा केही प्रस्तुतिलाई फरक मसीबाट दर्शाइएको छ । तिनका शृंखला यस प्रकार छन्:
१. लेखकको भनाइ छ, '...सत्ता प्राप्ति र त्यसले गर्ने घोषणाले मात्र समाजवाद निर्माण हुने कुरा होइन । यो श्रमजीवी वर्गको वैज्ञानिक चेतनाले बन्छ । श्रमजीवी वर्गमा त्यो चेतना हुन पनि भौतिक परिस्थितिका अनेकौँ कालखण्डबाट उनीहरू गुज्रिनैपर्छ ।' (पृष्ठ ४)
उहाँको उपर्युक्त भनाइ सटिक र सही छ । तर, त्यसमा उत्पादनका साधनहरूमाथिको स्वामित्व र उत्पादित वस्तुको वितरण व्यवस्थाले मात्र समाजवादको भौतिक आधार निर्माण हुन्छ । यो विषय छुटेजस्तो लाग्यो ।
२. लेखकको भनाइ छ, 'समाजवादी सामाजिक चेतना निर्माण हुन उत्पादक शक्तिको विशाल उपस्थिति, उनीहरूको वैज्ञानिक चेतना र व्यापक विकासले मात्र सम्भव हुने कुरा देखियो...। समाजवाद समाजवादी चेतनाले मात्र आउँछ ।' (पृष्ठ ५)
लेखकको उपर्युक्त भनाइसँग मेरो कुनै विमति छैन । तर, समाजवादी चेतना निर्माण हुन उत्पादक शक्तिको विशाल उपस्थिति चाहिन्छ भन्ने विषयलाई अझै प्रस्ट पार्न उत्पादक शक्ति भनेको के हो भन्ने विषयलाई प्रस्ट पार्नुपर्छ । जस्तो; उत्पादक शक्ति भनेको सर्वप्रथम उत्पादनका साधनहरू र ती साधनहरूलाई परिचालित गर्ने मानवीय श्रम, सीप र कौशलद्वारा उत्पादक शक्ति निर्माण हुन्छ । त्यो उत्पादक शक्ति कहिल्यै पनि स्थिर भएर बस्दैन र निरन्तर गतिशील बन्दछ । यही उत्पादक शक्तिको गतिशीलतालाई उत्पादन सम्बन्धले रोक्छ । यही उत्पादक शक्ति र उत्पादन सम्बन्ध मिलेर उत्पादन पद्धति/प्रणालीको निर्माण हुन्छ ।
मानवजातिको इतिहासमा आजसम्म पाँचवटा उत्पादन प्रणाली रहेका छन् । आदिम साम्यवादी उत्पादन प्रणाली, दासयुगीन उत्पादन प्रणाली, सामन्ती उत्पादन प्रणाली, पुँजीवादी उत्पादन प्रणाली र समाजवादी उत्पादन प्रणाली । यी सबैमा उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरसंघर्षबाट समाजकोे विकास हुँदै आएको छ । सामाजिक चेतनाको विकास पनि यसै क्रममा भएको हो ।
३. लेखकको भनाइ छ, '... त्यो युगको अत्यन्त कष्टकर जंगली क्रूर, त्रासदी र अमानवीय अवस्थाका कैयौँ चरणहरू पार गरेर मान्छे संगठित र सामाजिक हुँदै आएको हुनुपर्छ । घुमन्ते र छिनाझपटीबाट बच्दै आएका मान्छेले व्यवस्थित श्रम प्रणाली जानिसकेपछि मात्रै दासयुगको सुरुवात भयो ।' (पृ७)
यो प्रस्तुति अति सरलीकृत भयो । यस विषयको जानकारीका लागि एङ्गेल्सको बाँदरदेखि मानिसको संक्रमणमा श्रमको भूमिका नामक कृतिको सहारा नलिएसम्म यस विषयलाई पुष्टि गर्न सकिँदैन । आदिम युगको मानवीय विकासक्रम कस्तो रह्यो होला भनेर बुझ्नका लागि कम्युनिस्टहरूले ऐगल्सकै अर्को रचना 'परिवार, सम्पत्ति र राज्यको उत्पत्ति' नामक रचना अत्यन्त उपयोगी छ भनेर पढेका हुन्छन् । हाम्रो हिमाली उपमहाद्विपमा समाज विकासको स्वरूप कस्तो रह्यो होला भन्ने विषय बुझ्न 'आदिम साम्यवाददेखि दासप्रथासम्मको इतिहास' भन्ने पुस्तकको सहारा चाहिन्छ । तब मात्र यस्ता विषयमा आधिकारिक रूपमा केही भन्न सकिन्छ ।
मानव विकासक्रमको सामान्य रूपरेखा 'राजनीतिक ज्ञान र शिक्षाका आधारहरू'मा पनि पाउन सकिन्छ । यी विषयहरूको अवलोकन गरेपछि मात्र मानव विकासक्रम र समाज विकासक्रमको भेद छुट्याउन सकिन्छ ।
४. लेखकले पृ ६–७ मा सोभियत संघमा समाजवादको असफलताका विषयमा अत्यन्त सटिक र चित्तबुझ्दो प्रस्तुति दिनुभएको छ । तर, त्यसैमा सोभियत संघको समाजवादले गरेको साम्राज्यवादको प्रतिरोध र द्वितीय विश्वयुद्धमा खेलेको भूमिका र विज्ञान प्रविधिको विकासमा अमेरिकी साम्राज्यवादलाई दिएको टक्करलाई हामीले कहिल्यै बिर्सिनु हुँदैन । त्यसको कतै न कतै उल्लेख हुनुपर्थ्यो । यो एकपक्षीय भयो ।
५. लेखकको भनाइ छ, 'यहाँ दासयुगको थोरै बाछिटा परे पनि यसको ठूलो प्रभावबाट गुज्रिएन ।' 'एउटा युगले अर्को युगलाई विस्थापित गर्ने गरी कुनै पनि कालखण्ड विकसित नभएको नेपाली समाज हामीले विरासतमा पायौँ ।' (पृ ९)
लेखकका उपर्युक्त भनाइहरू ठीकठीकै भए पनि अलि अपर्याप्त छन् । यसमा थोरै छलफल चलाउनैपर्ने भयो । सर्वप्रथम युग भनेको के हो, बुझ्नुपर्यो । संसारका सबै किसिमका बुद्धिजीवीहरू चाहे अध्यात्मवादी हुन्, चाहे कम्युनिस्ट भौतकवादी हुन्, युग के हो भनेर व्याख्या विश्लेषण गरेकै हुन्छन् ।
अध्यात्मवादीहरूले मानव जाति पहिले सत्ययुगमा अत्यन्त समृद्ध थियो । अहिले कलियुग आएपछि सबै कुरा ध्वस्त भयो भनेर व्याख्या गरेका छन् । र, सबै पुराण र धर्मशास्त्र पढ्नुभयो भने यही कुरा पाउनुहुन्छ । तर, मार्क्सवादीहरूले यसको ठीक उल्टो प्राचीन् आदिम युग अत्यन्त कष्टकर मानवीय जीवन थियो, अहिले उत्पादनमा विज्ञान र प्रविधिको सहाराले गर्दा समृद्धि त आएको छ तर यसलाई खास वर्गले कब्जा गरेको हुँदा संसारमा घोर गरिबी र वर्गीय असमानता छ । समाजवादी वितरणसहितको उत्पादन पद्धति हुने हो भने न्यायपूर्ण समाजवादी समाज निर्माण हुन सक्दछ भन्ने हाम्रो विश्वास हो ।
अर्को विषय समाज कसरी बन्छ ? त्यसको परिचालन हुने आधार के हो ? कुन विषय हुँदा समाज परिवर्तन हुन्छ ? कुन विषय विरासतमा पाएका हुन्छौँ ? र त्यसमा कुन विषय नयाँ थप्छौँ भन्ने थाहा हुनैपर्छ । किनभने समाज विज्ञान पनि विज्ञानकै एउटा शाखा हो । वैज्ञानिक प्रयोगहरू चाहे अमेरिकामा बसेर गर्नुहोस् या नेपालमा बसेर, त्यसको परिणाम एउटै आउँछ ।
६. लेखकको भनाइ छ, 'समाजवाद निर्माणको प्रमुख सर्त सामाजिक चेतना हो । सामाजिक चेतनाका लागि भौतिक परिस्थितिमा परिवर्तन ल्याउनुपर्छ ।' (पृ१०)
थप भनाइ छ, 'भौतिक परिस्थितिले चेतनाको निर्माण गर्छ ।'
यो ठीक कुरा हो । तर, भौतिक परिस्थिति कसरी निर्माण हुन्छ भन्ने विषय खुलेन । हरेक सामाजिक भौतिक परिस्थिति भनेको उत्पादनका साधनहरू र उत्पादित वस्तुहरूको वितरण व्यवस्थामा कुन वर्गका हातमा छ भन्ने विषयले भौतिक परिस्थिति निर्धारित गर्छ ।
७. लेखकको भनाइ छ, 'नेपालका कम्युनिस्टहरूले लोकतान्त्रिक आन्दोलनमा आफूलाई अब्बल सावित गरे ।' (पृ ११)
यो भनाइ ठीकै भए पनि नेपाली कम्युनिस्टहरूले आफूमा लोकतान्त्रिक संस्कारको विकास गर्न सकेनन् । जब सत्तामा पुग्न थाले, त्यसपछि यिनीहरूलाई सत्ताले प्रभावित पारिहाल्यो । आफूले सत्तालाई प्रभावित पारेर त्यसलाई समाजवादी संस्कृतिमा हुर्काउन सकेनन् । यो मुख्य विषय हो ।
८. लेखकको भनाइ छ, 'हाम्रोजस्तो मुलुक जहाँको सत्ता समाजवादी आन्दोलनका लागि सहयोगी छैन । तर, सरकारमा कम्युनिस्टहरू प्रायः देखिइरहन्छन् । कम्युनिस्ट सरकारले सत्तासँग संघर्ष गर्नुको साटो घाँटी जोडिरहेको पाउँछौँ । अहिलेको हाम्रो समस्या यही हो ।' (पृ १२)
लेखकको उक्त भनाइ यथार्थ हो । यसमा अरु के विषय पनि थप्नु आवश्यक छ भने हाम्रा कम्युनिस्ट नेता र सांसदहरूको अधिकांश रूपमा योग्यता र क्षमता ब्युरोक्र्याट्सहरूको भन्दा कमजोर देखियो । कतिपय सवालहरू राजनीतिक नेतृत्व पङ्क्तिद्वारा परिचालित हुनुपर्नेमा तिनीहरूले हरियो घाँस देखाएर उनैलाई लोभ्याएर आफ्नो नियन्त्रणमा लिन सफल भए । यदि यस्तो हुन्नथ्यो भने कैयौँ नीतिगत भ्रष्टाचारहरू किन मौलाएर गए त ? यस्ता विषयहरूलाई केही प्रतिनिधिमूलक भ्रष्टाचार काण्डबाट नै हेरिनुपर्छ ।
९. लेखकको भनाइ छ, ' मार्क्सवाद विज्ञान हो । यो जड वा पुरानो हुँदैन । किनकि यसले गर्ने निरन्तर खोज र प्रयोगले उत्पन्न हुने तथ्यहरूका आधारमा उसले आफूलाई पुनर्ताजगी गर्दै सधैँ नवीन नै भइरहन्छ ।' (पृ१४)
यस प्रसङ्गमा लेखकको भनाइ ठीक छ । तर, मार्क्सवाद एउटा सामाजिक विज्ञान हो । हरेक विज्ञानका आआफ्ना आविष्कारहरू हुन्छन् । त्यस्तै, मार्क्सवाद समाज विज्ञान भएकाले यसका मुख्य आविष्कारका दुईवटा पक्षहरू हुन्छन् । पहिलो, इतिहासको भौतिकवादी धारणा अर्थात् मानिस कसरी बाँच्छ भन्ने हो । दोस्रो अतिरिक्त मूल्यको सिद्धान्त अर्थात् मानिसद्वारा मानिस कसरी ठगिन्छ भन्ने हो ।
आजसम्म कुनै पनि दार्शनिकहरू चाहे पूर्वका हुन् चाहे पश्चिमका, तीमध्ये कुनैले पनि मानिस कसरी बाँच्छ भन्ने विषयमा केही पनि भन्न सकेनन् । मार्क्सले मात्र मानिसलाई सर्वप्रथम बाँँच्नका लागि खाना, नाना र छाना चाहिन्छ, यसका लागि प्रकृतिमाथि उसले श्रम गर्नुपर्छ, श्रमले मानिस–मानिसबीचमा सम्बन्ध कायम हुन्छ, समाज बन्छ, उत्पादनका साधनको उपयोग गरेर मात्र समाज कायम हुन्छ, यो नियम समाज कायम हुँदासम्म लागू हुन्छ भन्ने निष्कर्ष दिनुभयो । यसरी मानिसको बाँच्ने ग्यारेन्टी भएपछि उसले अन्य कामहरू गर्न सक्छ । सत्ताका लागि संघर्ष गर्न सक्छ । साहित्य कला र यहाँसम्म कि धर्म गर्न सक्छ । कसैले पनि उपर्युक्त जीवन पोषणका साधनहरू भएपछि अरु विषयमा लाग्न सक्छ । यो नै मार्क्सको पहिलो वैज्ञानिक अविष्कार हो ।
दोस्रो आविष्कार अतिरिक्त मूल्यको सिद्धान्त अर्थात् मानिसद्वारा मानिस कसरी ठगिन्छ भन्ने हो । मार्क्सभन्दा पहिले कुनै अर्थशास्त्रीले पुँजीपतिको पुँजी कसरी वृद्धि हुन्छ भन्ने विषयलाई खुलाउन सकेका थिएनन् । श्रमिकको अतिरिक्त श्रमको शोषणबाट मात्र पुँजीपतिको पुँजीको वृद्धि हुन्छ भन्ने विषयलाई खुलाउन सकेका थिएनन् । मार्क्सले नै श्रमिकको अतिरिक्त श्रमको शोषणबाट मात्र पुँजीपतिको पुँजीको वृद्धि हुन्छ भन्ने पत्ता लगाएका हुन् । र, यी दुई आविष्कारहरू नै मार्क्सका वैज्ञानिक र मौलिक आविष्कार हुन् भनेर बुझ्नुपर्छ ।
१०. लेखकको भनाइ छ, ' मार्क्सवाद कमजोर होइन, झन् समृद्ध हुनेछ ।' (पृ१५)
लेखकको यस भनाइप्रति पूर्ण सहमत हुनैपर्छ । व्यवहारका दौरानमा नै मार्क्सवाद अझै समृद्ध हुँदै जानेछ । लोकतन्त्र मार्क्सवादको मूल प्रस्थापना बन्नेछ ।
११. लेखकको भनाइ छ, 'विश्व कम्युनिस्ट आन्दोलनले आफ्ना इतिहासलाई पुनर्मूल्यांकन गर्ने जोखिम उठाउनैपर्छ । यी प्रश्नहरूको यथोचित जवाफ खोजेर त्यसबाट प्राप्त निष्कर्ष लिएर मात्र आजको कम्युनिस्ट आन्दोलनले सही दिशा पक्रिन सक्दछ ।' (पृ१६)
यस विषयमा विमति राख्नुपर्ने कुनै कारण छैन । तर, कम्युनिस्ट पार्टीहरूले मार्क्सवाद लेनिनवादलाई आफ्नो सैद्धान्तिक आधार मान्दै आएका छन् । मार्क्सवादको दार्शनिक पक्ष द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक भौतिकवादका मुख्य तीन नियममध्ये 'विपरीत तत्त्वको एकता र संघर्षको नियम' एउटा मुख्य नियम हो । यस नियमलाई राज्यसत्तामाथि लागू गरेर हेर्ने काम कहिल्यै पनि भएन । मानौँ, राज्यसत्ता भन्ने कुनै वस्तु नै होइन भन्नेजस्तो व्यवहार भयो । यसलाई समाजविज्ञानमा लागू गरेर हेर्ने कोसिस भएन ।
समाजवादमा राज्यसत्तालाई विपरीत तत्त्वको एकता र संघर्षको सार्वभौम नियमलाई आरोपित गर्ने हो भने विश्व कम्युनिस्ट आन्दोलनको पुनर्मूल्याङ्कन हुन सक्दछ । हामीले सामाजिक विकासक्रमका प्रत्येक चरणमा राज्यसत्तामा दुई विपरीत वर्गतत्त्वको स्वार्थका बीचमा संघर्ष भएको पाउँछौँ । अन्यत्र एकता र संघर्षको नियम लागू हुने तर समाजवादी राज्यसत्तामा लागू नहुने भन्ने हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनको कमजोरी यही नै हो ।
१२. लेखकको भनाइ छ, '... नेपाली लोकतान्त्रिक आन्दोलनको स्वामित्वमा सबैभन्दा बढी कम्युनिस्टहरूको हक छ । नेपाली लोकतान्त्रिक आन्दोलनलाई अझै विस्तार गर्ने दायित्व पनि कम्युनिस्ट पार्टीकै हो । यो कुरालाई समाजवाद निर्माणको आन्दोलनसँग अभिन्न रूपमा गाँसेर मात्र समाजवादलाई सन्निकट गराउन सकिन्छ ।' (पृ१८)
लेखकको यो भनाइ ठीकै भए पनि केही अपूर्ण भने छ । जस्तो; नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालको पहिलो पर्चामा नै उल्लेख भएको विषय राणा शासनविरुद्ध प्रजातन्त्र, साम्राज्यवादविरुद्ध राष्ट्रियता र जनताको मौलिक हक जनजीविका रहेको देखिन्छ । त्यस कारण नेपाली कम्युनिस्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत आन्दोलनको महान् परम्परा हो ।
नेपाली कम्युनिस्ट आन्दोलनले कहिले लोकतन्त्रलाई, कहिले राष्ट्रियतालाई, कहिले जनजीविकाको विषयलाई प्राथमिकतामा राखेर आन्दोलन गर्नुपरेको इतिहास छ । हामीले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरिरहेको परिप्रेक्ष्यमा पनि पुँजीवादीहरूले जस्तो खालि बोल्ने, लेख्ने, छाप्ने र संगठन गर्ने स्वतन्त्रता मात्र होइन, गाँस, बास र कपासको अधिकारसहितको स्वतन्त्रता खोजेको हो । यी कुराहरू नै कम्युनिस्ट आन्दोलन र हाम्रो समाजवादी आन्दोलनका प्रमुख विषय हुन् ।
१३. लेखकको भनाइ छ, 'बोल्सेभिकहरूले रुसमा छलाङ मारेका थिए, त्यहाँको समाज ७० वर्षपछि पुरानै ठाउँमा आइपुग्यो । छलाङले रोक्न सकेन । चीनमा सांस्कृतिक क्रान्तिको कालखण्डमा छलाङ मार्ने प्रयत्न भएकै हो, त्यो पनि टिकेन, बरु त्यसले नकारात्मक असरहरू ज्यादा पैदा गरायो ।' (पृ२१)
छलाङ एक प्रकारको दार्शनिक अर्थ प्रकट गर्ने पदावली हो । यो मुख्यतया द्वन्द्वात्मक भौतिकवादको दोस्रो नियमसँग सम्बन्धित छ । यो नियम भनेको 'मात्रात्मक विकास र गुणात्मक विकासको नियम' हो । यसअनुसार कुनै पनि वस्तुको विकास कसरी हुन्छ भन्ने विषय अर्थ्याउनका लागि प्रयोग गरिन्छ । मात्रात्मक विकासलाई झट्टै अनुभव गर्न सकिँदैन । गुणात्मक विकासको स्वरूपलाई देख्न सकिन्छ । नेपाली कम्युनिस्ट आन्दोलनको ५८ वर्षको आन्दोलनको मात्रात्मक विकास विकास हुँदै गएर २०६५ मा नेपालमा राजतन्त्र हट्यो । विगतका आन्दोलनहरू मात्रात्मक विकास थिए भने राजतन्त्र समाप्त हुनु निश्चित रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रकारले छलाङ थियो अर्थात् गुणात्मक फड्को थियो ।
त्यस्तैगरी, आदिम साम्यवादी युग भनेको १०/२० वर्षको युग हो र ? यसको आयु त लाखौँलाख वर्ष रह्यो । दासयुगलाई मापन गर्न हज्जारौँहजार वर्षको प्रयोग गर्नुपर्छ । सामन्तवादलाई सयकडौँ वर्षले मापन गर्नुपर्छ । विश्वमा पुँजीवादको विकास हुन थालेको जम्मा ५०० वर्ष भयो भने सन् १९१७ को अक्टुबर क्रान्ति भएको भरखर १०० वर्ष पुगेको छ ।
हामीले समाजवादी आन्दोलनको परिणाम १०/२० वर्षभित्रै प्राप्त गर्न खोजिरहेका छौँ । यो त हाम्रा मनोगत इच्छाले मात्र प्राप्त हुँदैन । यस्तो परिवर्तनका लागि उत्पादक शक्तिको प्रगतिशील विकास र उत्पादन सम्बन्धबीचको अनुकूलताले मात्र प्राप्त हुन्छ । यसमा मानवीय प्रयत्नहरूको भने आवश्यकता परिरहन्छ । यस विषयलाई नकारात्मक अर्थमा लिनु आवश्यक छैन ।
१४. लेखकको भनाइ छ, 'मान्छेले जीवन र जगत्का सन्दर्भमा सामान्य जानकारीसमेत पाएन भने ऊमाथि भइरहेका तमाम शोषण र यसका रूपका बारेमा समेत थाहा पाउँदैन ।'
'समाजवाद निर्माणको पहिलो सैद्धान्तिक आधार भनेको नै विश्वब्रम्हाण्ड र जीवनको उत्पत्तिसम्बन्धी वैज्ञानिक सूचना हो ।'(पृ३६)
मानिसले जीवन र जगत्का विषयमा जानकारी प्राप्त गर्न थालेको त प्राणी जगत्बाट मानिस जगत्मा प्रवेश गर्दादेखि नै हो । तर, उसले जीवन र जगत्को विषयमा कस्तो जानकारी प्राप्त गर्यो भन्ने विषय प्रमुख हो । जीवन र जगत् विषयक जानकारीहरू आदिम युग (वैदिक साम्यवादी युग) मा एकखालका थिए, दासयुग (पौराणिक युग) मा अर्कै खालका थिए, सामन्तवादी युगमा जीवन र जगत् विषयक जानकारी अलग खालका थिए । प्रारम्भिक पुँजीवादी युगमा जीवन जगत् विषयक जानकारी अर्कै खालका रहे भने वर्तमानकालको उच्च प्रविधियुक्त कालखण्डमा जीवन जगत्सम्बन्धी जानकारी फरक छन् । यस विषयमा विचार गर्दा जीवन जगत्सम्बन्धी जानकारी दिने विधा भनेको दर्शन हो । त्यसैले दर्शनका स्वरूपको क्रमबद्ध विकासक्रमका आधारमा जीवन जगत्सम्बन्धी जानकारी लिनु वेश हुन्छ । विश्वब्रम्हाण्डसम्बन्धी विपुल जानकारी आधुनिककालको दर्शन र विज्ञानले मात्र दिन सक्दछ ।
१५. लेखकको भनाइ छ, 'संस्कृति मानव जातिको सभ्यता पनि हो, जुन एकदेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै जान्छ । हरेक समुदायको आ–आफ्नो संस्कृति छ । फरक संस्कृतिले मानव समुदायलाई फरक र मौलिक बनाइरहेको छ ।' (पृ३९)
सभ्यता भनेको के हो र संस्कृति भनेको के हो भन्ने विषयको सटिक र वैज्ञानिक परिभाषाको जानकारी नहुँदा धेरैले यस विषयमा अलमल किसिमको प्रस्तुति गरेको देखिन्छ । मैले नै प्रस्तुत गरेको परिभाषामा पनि अरु कसैले खोट लगाउन सक्छन् । यस विषयमा छोटकरीमा भन्नुपर्दा सभ्यता र संस्कृति भनेका एउटै सिक्काका दुई पाटा हुन् । सभ्यता भनेको मानव जातिले आफ्नो जीवन पोषणका क्रममा अवलम्बन गर्दै आएका क्रियाकलापको समष्टि हो भने संस्कृति मानसिक पोषणका लागि अवलम्बन गर्दै आएका क्रियाकलापहरू हुन् । मानिसले सभ्यता र संस्कृतिको उत्पादनसँगसँगै गरेको हुन्छ । उसले दुई प्रकारका उत्पादन गर्छ । प्रथमत: भौतिक उत्पादन, द्वितीय– मानसिक उत्पादन । यसैबाट सभ्यता र संस्कृतिको निर्माण हुन्छ ।
लेखकले पृष्ठ ३७ र ३८ मा भौतिकवाद र अध्यात्मवादका विषयमा पनि विस्तृत चर्चा गर्नुभएको छ । त्यो आधारभूत रूपले ठीक छ । तर, अध्यात्मवाद र भौतिकवादको विषयवस्तु कसरी छुट्टिन्छ भने त्यसलाई सूत्रात्मक हिसाबले प्रस्तुत गर्न सकिन्छ । जस्तो; 'यो विश्व जीवन र जगत् कसलेे बनायो भन्ने प्रश्न पनि उ्ठन सक्छ । र, यो विश्व जीवन र जगत् कसरी बन्यो भन्ने प्रश्न पनि हुन सक्छ । कसले बनायो भन्ने प्रश्नको उत्तरको खोजीमा जाँदा कुनै व्यक्तिको खोजी हुनुपर्यो । त्यो व्यक्ति भनेको ईश्वर हुने भयो । त्यस्तै, दोस्रो प्रश्न कसरी बन्यो भन्ने विषयमा खोजी गर्दा यसको कारणमा जानुपर्यो । कारण खोज्ने क्रममा वस्तुगत नियम खोज्नुपर्यो । यसरी व्यक्तिप्रधान नभएर वस्तुप्रधान हुने भयो । र, त्यो भनेको भौतिकवाद हो । यिनै सूत्रात्मक कथनहरूको उत्तर खोज्ने क्रममा नै अध्यात्मवाद र भौतिकवाद छुट्टिन्छ ।
१६. लेखकको भनाइ छ, 'यस्तो प्रकारको व्यवस्था विश्वव्यापी भएपछि त्यसलाई युग भनिन्छ ।'
'पुँजीवादी युगमा उत्पादनका साधन भनेको श्रम, कारखाना, पुँजी, मेसिन र इन्जिनको संयुक्त रूप हो । यहाँबाट वस्तुको उत्पादन हुन्छ । ती वस्तुहरूमा पुँजीपतिहरूको स्वामित्व हुन्छ र पैसा कारखानाका मालिकहरूमा थुप्रिन्छ ।' (पृ५६)
लेखकका उपर्युक्त भनाइहरूसँग मेरो कुनै विमति छैन । एक अर्थमा यी विषय ठीकै हुन् । तर, शब्दको जेजस्तो परिभाषा हुन्छ, सोहीअनुसारको भने हुनैपर्छ । सर्वप्रथम युग भनेको के हो भन्ने विषयमा जाऔँ । निश्चित प्रकारका उत्पादनका साधनहरू भएको समयको अन्तराललाई युग भनिन्छ । जस्तो; लाखौँलाख वर्षमा मापन गरिने आदिम साम्यवादी युगमा उत्पादनका साधनहरू र युद्धका तरिकाहरू एक प्रकारका थिए । र, त्यसलाई आदिम साम्यवाद भनिन्छ ।
त्यस्तै, हजारौँ वर्षमा मापन गरिने दासयुगमा उत्पादनका साधन र युद्धका हतियार र तरिकामा एक खालको हुन गएर त्यसलाई दासयुग भनियो । सयकडौँ वर्षमा मापन गरिने सामन्तवादी युगमा उत्पादनका साधन र युद्धका हातहतियार एक प्रकारका भएको हुनाले त्यसलाई सामन्ती युग भनियो । त्यस्तैगरी, शताब्दीहरूमा मापन गरिने पुँजीवादी युगमा उत्पादनका साधनहरू र युद्धका हतियारहरूले त्यस युगको चरित्रलाई निर्धारित गर्छन् । हरेक युगलाई त्यसैको परिप्रेक्ष्यमा बुझ्दा उपयुक्त देखिन्छ ।
१७. लेखकको भनाइ छ, '... आजको पुँजीवाद उत्पादनमा भन्दा उत्पादनका साधनहरूमा लगानी गर्दै र त्यसलाई नियन्त्रण गर्दै नाफा जम्मा गर्न उद्यत छ । ऊ यस्ता ठाउँहरूमा लगानी गर्दै छ, जहाँ उत्पादन होइन, पैसा लगाएर पैसा आउँछ ।' (पृ७६)
यिनै त हुन् हरेक युगका समस्या । कमरेडले ठीक पहिचान गर्नुभएको छ । आदिम साम्यवादी युगमा प्रकृति स्वयम् उत्पादनको साधन थियो । मानिसले प्रकृतिसँग प्रत्यक्ष संघर्ष गरेर आफ्ना लागि जीवनपोषणका साधनहरू जुटाउँथ्यो । जब समाज वर्गीय रूपमा विभाजित भयो र दासयुगको आरम्भ भयो, त्यतिबेलादेखि उत्पादनका साधनका रूपमा जमिन, जंगलहरू, पानीका स्रोतहरू, थोरै शासकहरूका हातमा रहेका युद्धका हतियारहरू पनि यिनै शासक बनेका मालिक वर्गका हातमा आए । यसरी शासक वर्गले दासहरूको श्रम शोषण गरेर विशाल किसिमका स्मारकहरू खडा गर्न सफल भयो । र, सोही शासकले आफूलाई ईश्वरका रूपमा स्थापित गर्ने अध्यात्मवादी दर्शनको पनि विकास गर्यो ।
यसरी दास मालिकवर्गले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपहरू आफ्नो वर्गस्वार्थअनुरूप सिर्जना गर्यो। दासयुगपछि सामन्तवादको जन्म भयो । यसमा सामन्तवर्गले सम्पूर्ण उत्पादनका साधनहरू र त्यो अवस्थामा विकसित भएका युद्धका औजारहरू सबैमा यही वर्गको कब्जा रह्यो । यस वर्गले पनि आफ्नो वर्गस्वार्थअनुरूप राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र यहाँसम्म कि दर्शनका क्षेत्रमा समेत एकेश्वरवादी सिद्धान्तको प्रतिपादन गर्यो ।
सामन्तवादी युगपछि पुँजीवादी युगको जन्म भयो । यसमा पनि सम्पूर्ण उत्पादनका साधनहरू जसमा जमिन, प्राकृतिक स्रोत, सम्पदा र सम्पूर्ण श्रमका साधनहरूमा सोही पुँजीपतिवर्गको कब्जा हुन गयो । सम्पूर्ण युद्धका सामग्रीदेखि लिएर राजनीतिकपक्ष, सामाजिकपक्ष, आर्थिकपक्षदेखि लिएर दार्शनिकपक्ष यान्त्रिक भौतिकवादसम्मको विकास गर्यो । हामीले पुँजीवादको विकासको चर्चा गरिरहँदा यसको राजनीतिकपक्ष, आर्थिकपक्ष, दार्शनिकपक्ष अर्थात् विश्व जीवन जगत्को विषयमा पुँजीवादको सिद्धान्त कस्तो हुन्छ भन्नेसमेतको व्याख्या प्रस्तुत गर्न आवश्यक हुन्छ । यस लेखमा पुँजीवादका विभिन्न रूप र पक्षहरूका विषयमा चर्चा भए पनि यसको अन्तरवस्तुको विषयमा चर्चा गर्दा यो लेख आफैँमा पूर्ण हुन्थ्यो भन्ने मनसाय मात्र हो ।
१८. लेखकको भनाइ छ, 'हिजोको आन्दोलनमा साथ दिनेहरू, आज प्रतिक्रियावादी ध्रुवमा उभिन सक्छन् । त्यस कारण ती चुनौतीलाई साथ दिँदै समाजलाई अगाडि बढ्न मार्गनिर्देशन गर्ने ल्याकत आजका कम्युनिस्टहरूमा छ ? हिजो ती कम्युनिस्टहरूले गरेका काम आजका यी कम्युनिस्टहरूले गर्न सक्छन् ? यो प्रश्न आजको केन्द्रीय प्रश्न हो ।' (पृ७९)
कमरेड दामोदरले उठाउनुभएको कम्युनिस्टहरूका लागि यी प्रश्नहरू ज्वलन्त प्रश्न हुन् । विगतमा प्रतिक्रियावादी सत्ताका कालकोठरीमा बन्द रहँदा पनि, जनयुद्धका अवसरमा युद्धमा होमिँदा पनि कम्युनिस्ट आदर्शलाई जोगाउने सन्दर्भमा खरो उत्रिएका नेता कार्यकर्ताहरू अधिकांश सत्तामा जान थालेपछि लल्याकलुलुक भएर त्यही सत्ताकै वरिपरि रहेर जनकार्यहरूमा भन्दा केही सीमित व्यक्तिको स्वार्थका लागि समर्पित हुन गए । आज किन अन्य प्रतिक्रियावादी वर्ग स्वार्थका लागि समर्पित अन्य राजनीतिक पार्टीका कार्यकर्ताहरूभन्दा पनि तुलनै गर्न नसकिने किसिमले चारित्रिक अधोपतन भएर गए ? किन कम्युनिस्ट साहित्यको अध्ययन, चिन्तन, मनन र लेखन हराउँदै गयो ? यो पनि अत्यन्त शोचनीय विषय बन्न पुग्यो ।
अहिले विभिन्न स्थानीय निकायहरूदेखि लिएर प्रदेश र संघमा समेत राज्यसत्ता सञ्चालनको क्षेत्रमा पुगेका नेता कार्यकर्ताहरूको समस्या भनेको सत्ताकेन्द्रित समस्या हो । सर्वप्रथम त कम्युनिस्ट आदर्श र चिन्तन केवल सत्ताबाहिर मात्र रहने विषय होइनन् । सत्तामा गएपछि त्यसलाई प्रयोग गरेर जनताका पक्षमा अधिकतम कार्य कसरी गर्न सकिन्छ भन्दा पनि हाम्रा नेताहरूको ध्येय कसरी पैसा बनाउने र आगामी निर्वाचनमा पुनः आफू निर्वाचित हुने भन्नेमा नै केन्द्रित रहेको देखिन्छ ।
यदि त्यस्तो थिएन भने सत्तामा गएका कतिपय नेताहरू भ्रष्टाचारका ठूलाठूला काण्डहरूमा किन मुछिन्थे भन्ने प्रश्न पनि स्वतः उपस्थित हुन जान्छ । सानाको सानै स्केलको भ्रष्टाचार, ठूलाको ठूलै स्केलको भ्रष्टाचार, यही हो वर्तमानको समस्या ।
१९. कमरेड दामोदरको 'आन्दोलनको अर्को एउटा मोड' शीर्षकको लेखमा नेपाली कम्युनिस्ट आन्दोलनमाथि विहङगम दृष्टिपात गर्न खोजिएको छ । पार्टीको जन्मकालदेखि विशेष अवसरका घटनाक्रमको वर्णन रहेको भए पनि कतिपय उल्लेख नै हुनुपर्ने विषयवस्तु छुट्न गएका छन् । अन्त्यमा एकीकृत समाजवादीको आगामी कार्यदिशाको उल्लेख गरेर नेपाली कम्युनिस्ट आन्दोलनको दिशानिर्देश पनि भएको देखिन्छ ।
२०. 'विद्यार्थीकालदेखि नै प्रगतिशील संस्कृतिको निर्माणको जग बसाल्ने प्रयत्न गर्दै जानुपर्छ' भन्ने भावधाराका साथ उहाँ भन्नुहुन्छ, 'हाम्रोजस्तो अति कम विकसित मुलुकमा पछौटे संस्कृति हावी हुन्छ । त्यसबाहेक सभ्यताका नाममा पुँजीवादले थोपरेको व्यक्तिवादी, स्वार्थी, अराजक र उपभोक्तावादी संस्कृति त छँदै छ । त्यसका विरुद्ध प्रगतिशील संस्कृति निर्माण नगरी हामी समाजवादउन्मुख हुन सक्दैनौँ ।' (पृ१०१)
कमरेडको यस भनाइसँग विमति राख्ने विषय नै छैन । यथार्थ पनि यही हो र हामीले भोग्नुपरिरहेको सांस्कृतिक समस्या पनि यही हो । तर यस्ता विषयवस्तुको निराकरण गर्न हाम्रा संगठनहरूले के कस्ता कामहरू गरेका छन् ? यस्ता विषयहरूमा व्यवस्थित छलफल गरेका छौँ कि छैनौँ ? खालि एउटा दुइटा लेखहरू लेख्दैमा समस्या समाधान हुने पनि होइन । बरु यस्ता विषयमा आधारभूत पाठ्यक्रम बनाएर लक्षित समूहलाई एकत्रित गरेर कक्षाहरू चलाउने, उपर्युक्त सन्दर्भ सामग्रीहरू जम्मा पारेर समूहगत रूपमा छलफल चलाएर मात्र यस प्रकारको प्रगतिशील संस्कृतिको पहिचान र विकास गर्न सक्छौँ ।
अन्त्यमा यस पूरक विचारहरूको प्रस्तुतिका सन्दर्भमा प्राथमिक रूपमा निम्न लेखहरूमा आधारित भएर छलफल एवं विमर्श चलाउँदा वेश हुने देख्दछु । मैले प्रस्तुत गर्न खोजेका लेखहरू निम्नअनुसार छन्:
१) कार्लमार्क्सको समाधिमा एङ्गेल्सको भाषण
२) मार्क्सवादका तीन स्रोत, तीन संघटक अंगहरू –लेनिन
३) आजका प्रगतिशील बुद्धिजीवीहरूको कर्तव्य –पुष्पलाल
४) कम्युनिस्ट घोषणापत्रको निर्माणका १५० वर्षहरू –एजाज अहमद
५) ब्रम्हाण्डमा नेपालको खोजी –वामदेव गौतम
६) अध्यात्मवाद र भौतिकवादको अन्तर्वस्तु –गोपीरमण उपाध्याय
७) दर्शनका आधारभूत प्रश्नहरू –गोपीरमण उपाध्याय
८) महाभारत दासयुगीन साहित्य हो –गोपीरमण उपाध्याय ।
उपर्युक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका लेखहरू अध्ययन मात्र होइन, सामूहिक छलफल नै चलाएर अध्ययन गर्न सकिन्छ । यी लेखहरूले प्रगतिशील विचार र संस्कृतिको निर्माणमा योगदान गर्नेछन् ।
साभार: शिलापत्र