अशेष घिमिरे
इतिहास भनेको घटना र तिथिमितिको विवरणहरू मात्र होइन, ति घटना र तिथिमितिलाई कसरी सम्झन्छौँ भन्ने कुरा पनि हो ।
एकपटक नेपालकै कम्युनिष्ट आन्दोलनलाई हेरौँ, केही समय अगाडि हाम्रो देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको शक्तिशाली कम्युनिष्ट पार्टी थियो । यसले वाम रूपान्तरणको थालनीका लागि पुँजीवादबाट ‘डिपार्चर’को सुरुवात गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको थियोे । संसदमा करिब दुई तिहाइको शक्तिमा उपस्थित थियो । यसले पुँजीवादबाट समाजवादमा संक्रमणका लागि धेरै हदको नीति बनाउन सक्थ्यो । कृषि क्रान्तिका लागि आवश्यक कानुनी व्यवस्था तथा राजकीय संरक्षण, भू-उपयोग नीतिको निर्माण र प्रयोग, राजकीय तथा सार्वजनिक लगानीको विस्तार गरी रोजगारीको सिर्जना, स्वास्थ्य तथा शिक्षामा सार्वजनिक लगानीको विस्तार, ऊर्जा तथा सार्वजनिक यातायातको सुदृढीकरण गर्न सक्थ्यो । वित्तिय तथा दलाल पुँजीवादमाथि नियन्त्रण, उत्पादनमुलक क्षेत्रमा बैंकको लगानी स्थानान्तरणको थालनी, उद्योगधन्दा तथा कलकारखानाको विस्तार र यसमा राजकीय लगानीका क्षेत्रहरूको निर्धारण तथा प्रयोग गर्न सक्थ्यो ।
साना तथा सामुदायिक पर्यटकीय क्षेत्रहरूको संवर्द्धन, साना उत्पादकहरूको सुरक्षा र उद्यमशीलताको प्रवर्द्धन, आधारभूत तहका श्रमजीवी जनताका हितमा हुने साझा थलो चाहे खेलको क्षेत्रमा होस्, चाहे सामाजिक पुनर्मिलनका क्षेत्र हुन्, पुस्तकालय तथा एकअर्कासँग मानिसहरूले कुराकानी गर्ने, आपसी विश्वास र हार्दिकता बढाउने काम गर्न सक्थ्यो । बालबालिका र ज्येष्ठ सदस्यहरूको सामुदायिक जिम्मेवारीका लागि आवश्यक संरचनाको निर्माण, प्राकृतिक स्रोतसाधनमा जनताको पहुँच सुनिश्चित गर्न सक्थ्यो । यस्ता गर्न सक्ने कामको लामो सूचि बनाउन सकिन्छ । आवश्यक पर्दा संविधान नै संशोधन गरेर रूपान्तरणको मार्गचित्र तयार पार्न सक्थ्यो ।
दुःखको कुरा, हाम्रै आँखा अगाडि कम्युनिष्ट आन्दोलन पुँजीपति वर्गको स्वार्थलाई प्रवर्द्धन गर्ने संस्थाको रूपमा दुरूपयोग भयो । पार्टीभित्रका छलफल र निर्णयहरूलाई पुँजीपति वर्गको स्वार्थको बन्धक बनाइयो । पार्टीभित्रको लोकतन्त्र कमजोर बनाइनु, पार्टी निर्णयहरूलाई पटकपटक उल्लंघन गरिनु, नेकपाको पार्टी सत्ता र राज्यसत्तालाई श्रमजीवी वर्गबाट टाढा, तिनको सरोकारबाट टाढा राख्ने प्रयत्नलाई सम्भव बनाउन लागि थियो । पार्टीभित्र पारदर्शी छलफल र संवादलाई अबलम्बन गरिँदो हो त यति, ओम्नी, बतास काण्डहरू हुने थिएनन् । देशका विभिन्न ठाउँका सार्वजनिक जमिन यसरी बेचिने थिएन । कौडीको मूल्यमा देशका राम्रा प्राकृतिक सौन्दर्ययुक्त स्रोत साधन निश्चित पुँजीपतिहरूलाई दोहन गर्न दिइने थिएन । राज्यका तर्फबाट हुने वस्तु र सेवाको खरिदको ठेक्कामा खुलेआम कमिसनको माग गरिने थिएन । देशमा सार्वजनिक लगानीको विस्तारमा नजरअन्दाज गरिने थिएन । त्यो सम्भव हुने थिएन ।
पार्टीको वर्गपक्षधरताबाट च्यूत हुने प्रक्रियाको दारुण दृश्य त अझ कोभिड संकटका बेला देखापर्यो । माइलका माइल दूरी मजदुरहरूले कष्टकर ढंगले हिंडेर पार गर्नुपर्यो । एम्बुलेन्सको पहुँच नभएर कति बिरामीले मृत्युवरण गर्नुपर्यो । औषधि खरिदमा कमिसनका चक्करमा लागेर, जनताले भोगेका सास्तीलाई नजरअन्दाज गरियो । एकपटक सोचौँ, कसको स्वार्थमा गिरिबन्धु टी स्टेटलाई प्लटिङका लागि खुला गर्ने निर्णय गरियो त ? पक्कैपनि त्यहाँका कामदार वर्गको योजना र चाहनामा होइन । कसलाई खुशी पार्न पार्टी विभाजनमा दीपावली गरियो, कसको स्वार्थमा संसद विघटन गरियो ? यी सबै कामले एकातिर वाम प्रयत्नलाई कमजोर बनाइयो, कम्युनिष्ट आन्दोलनकै नामबाट पुँजीवादी स्वार्थको धन्दा चलाइयो । र, अन्ततः एउटा उज्यालो सम्भावना र हजारौँका बलिदानको जगमा उभिएको समाजवादी सपनामाथि कुठाराघात गरियो ।
यति मात्र होइन, आज वाम आन्दोलनको एउटा हिस्सालाई विचार चाँहिदैन । विचारको प्रश्न महत्वपूर्ण हुन्थ्यो भने हिजो जनताको संघर्षले रछ्यानमा मिल्काएको, आन्दोलनले दरकिनार गरेको पुनरुत्थानवादी शक्तिहरूको जितलाई आफ्नो प्रतिष्ठासँग गाँस्ने अधपतनतर्फ कम्युनिष्ट आन्दोलनलाई निर्धक्क हेलिने थिएन । विचारधारामाथिको यो भद्दा आक्रमणको प्रयोजन निःसन्देह पुँजीवादको सुदृढीकरणका लागि हो । पुँजीपति वर्गको सेवाको लागि हो ।
यी सबै तथ्यांकहरूले वाम आन्दोलनलाई नै, समाजवादी आन्दोलनलाई नै पुँजीवादले सहवरण गरेकोतर्फ संकेत गर्दछ । वाम आन्दोलन र यसको नेतृत्वले गुमाएको अवसरले समाजमा जे विश्वासको संकट सृजना गरेको छ । त्यस ठाउँमा पुँजीवादले आफू अनुकूलको विचार र मूल्य भएकाहरूको नेतृत्व स्थापित गर्ने अवसर बनाएको छ । आज विचार र वादभन्दा माथि छौँ भन्ने भाष्यका आवरणमा उदाएका शंकास्पद शक्ति र व्यक्तिहरूको जग यही हो । यस परिणामका लागि नेपाली समाजले के कस्तो क्षतिपूर्ति तिर्नुपर्ने हो, त्यो हेर्न बाँकी नै छ । तर यो कुरा चाँही ढुक्कले भन्न सकिन्छ कि यी सब मामलामा पुँजीवाद अगाडि बढेको छ र वामपन्थ पछाडि घचेटिएको छ ।
वाम जनमत र वाम आन्दोलनमा पहिला वाम विचारधाराको नियन्त्रण खुकुलो बनाउने, अनि ‘वाम’ भनिएकै नेतृत्वबाट पुँजीवादी योजनाका कामहरू गराउने अभ्यासले वाम हुनु वा पुँजीवादी हुनुमा केही फरक नभएको प्रमाणित गरिदिएको छ । पुँजीवादले विचारधारमार्फत नै गाँजिसकेपछि ठीक बेठीक छुट्याउन नसक्ने, छुट्याइहाले आफ्नो निजी नाफाघाटालाई ध्यानमा राखेर मात्र त्यसबारेमा धारणा राख्ने, पद संकटमा पर्छ कि, ‘करियर’ बिग्रीन्छ कि, अवसर आउँदैन कि भन्ने भयका कारण मुद्दाहरूमा चुपचाप बस्ने, बरु शक्तिको वरिपरि चाकरी गर्ने, गलत कुरालाई पनि ‘हो, हो’ भन्ने र त्यसबाट ऐनमौकामा आफ्नो दुनो सोझ्याउने उपयुक्त अवसरको खोजिमा रहनेजस्ता प्रवृत्तिहरूले प्रश्रय पाएका छन् । आज वाम नामका दक्षिणपन्थी पार्टीहरूमा नेताकार्यकर्ताको ठूलो फौज यही पुँजीवादी दीक्षाबाट कमजोर र अकर्मण्य बनाइएको छ । आफ्ना मालिकजस्ता नेताहरूको उर्दीलाई निर्णय मान्ने र त्यहाँबाट हुने प्रत्येक गलत दिशानिर्देश र फैसलालाई, आफ्नो राजनीतिक आकांक्षा, सत्ता, शक्ति र पदप्रतिष्ठा तलमाथि पर्छ कि भनेर चुपचाप शिरोधार्य गर्ने, केही नबोल्ने, नभन्ने पंक्ति निर्माण गरिएको छ ।
प्रश्न गर्ने, बहसका लागि आमनेसामने हुने, छलफलका लागि आह्वान गर्ने तरिकालाई बन्देज लगाइएको छ । एक्लै भएपनि मुद्दामा उभिने, आफ्ना कुराहरू भन्ने र छलफलमा मुक्त चेतनाले सहभागी हुने कुरालाई हतोत्साही गरिएको छ । यसबाट समग्र मुक्तिकामी प्रतिरोध र विद्रोहका सामूहिक सामर्थ्य संकुचनमा परेको छ । यसले आम जनमानसमा कोही वामपन्थी हुनु वा नहुनुले, समाजवादी हुनु वा पुँजीवादी हुनुले केही फरक नपर्ने स्थिति बनेको छ । एक हिसाबले समाजवादलाई बदनाम गरिएको छ, बङ्ग्याइएको छ । समाजवाद हात्तीको देखाउने दाँतजस्तो भएको र यो कुरा नेताको भाषण र पुस्तकका अक्षरहरूमा मात्र राम्रो तर वास्तविक जिन्दगीमा अवसरवाद नै प्रमुख कुरा हो भन्ने पुष्टि गर्ने प्रयत्न गरिएको छ ।
यसरी समाजवादका नाममा पुँजीवादीहरूले नै रजगज गरेपछि, समाजवादलाई बदनाम गरिएपछि अब हामीले समाजवादलाई पुनर्दाबी गर्नुपर्ने भएको छ । हिजो मुक्तिकामी आन्दोलनलाई बर्वरतापूर्वक दमन गर्नेहरूले लोकतन्त्र, मानव अधिकार, गरीबी, सामाजिक न्याय, सहकारी, संरचनात्मक सुधारजस्ता अवधारणाहरू जसरी कब्जा गरे, आज उनीहरूले समाजवादलाई पनि त्यसैगरी सहवरण गर्ने प्रयत्न जारी राखेका छन् । अरु त अरु विचार र वर्गपक्षधरताको विषयलाई शुद्धतावाद भन्ने आरोप लगाएर कम्युनिष्ट झण्डाको आवरणमा नवउदारवादको धन्दा चलाउने बेइमानी पनि खुलमखुला चलाएका छन् । व्यवहारवादको नाममा समाजवादमाथि जो भद्दा मजाक उडाइँदैछ, त्यसले नेपालमा आजको वाम आन्दोलन उत्थान र पतनको दोसाँधमा पुर्याएको छ ।
तर मान्छेले आफ्नो प्रतिरोध र विद्रोहको क्रममा विकास गरेका यी शोषणविरोधी मुक्तिकामी अवधारणाहरूलाई पुँजीवादी कित्तामा चुपचाप छाडेर हामीले आन्दोलनलाई विसर्जन गर्ने कुरै आउँदैन । यी अवधारणाहरू न्यायिक रूपमा नै हाम्रा हुन् । तसर्थ कम्युनिष्ट आन्दोलनको वा वाम आन्दोलनको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आजका क्रान्तिकारीहरूको काँधमा आएको छ । यस्तो वाम पुनर्गठनको पहिलो काम नै यी अवधारणाहरूमाथिको पुनर्दाबी हो । यसका लागि सबैभन्दा पहिला हामीले निसंकोच र पूरा निश्चितताका साथ भन्नुपर्छ, समाजवाद भनेको पुँजीवाद होइन । यो पुँजीवादको विकल्प हो ।
समाजवादका अनेक अनुभवहरू छन् । समाजवादी संघर्षका पनि धेरै अनुभवहरू छन् । सोभियत, चिनियाँ, क्युबाली, उत्तर कोरियाली र पूर्वी युरोपका अनुभव । अमेरिकी र बेलायती संघर्षको अनुभव । बोलिभेरियन अथवा ल्याटिन अमेरिकन क्षेत्रमा अहिले चलिरहेका संघर्षहरूको अनुभव, अफ्रिकी तथा अन्य एशियाली अनुभव र हाम्रो आफ्नै नेपाली संघर्षको अनुभव आदि । यी तमाम अनुभवहरूका बाबजुद, अब हाम्रो समाजवाद यस्तो हुन्छ र यो समाजवाद फलानो दिनबाट यसरी आउँछ भनेर सुनिश्चित गर्न भने सकिंदैन ।
त्यसोभए, पुँजीवाद अस्तित्वमा रहुञ्जेलसम्म समाजवाद सिर्फ नारा मात्र हो त ? आजको दिनमा बाँचेकाहरूको लागि समाजवाद के हो ? कि उनीहरूको जिन्दगीमा यो समाजवाद मनमोहक क्षितिज मात्र हो ? समाजवाद माथिको पुनर्दाबी गर्दैगर्दा यी प्रश्नहरूको सही र प्रष्ट जवाफ पनि खोज्नुपर्छ ।
समाजवाद लक्ष्य त हो नै, तर आज बाँचेकाका लागि समाजवाद त्यो लक्ष्य प्राप्तिको प्रक्रिया हो । यसरी समाजवाद लक्ष्य र प्रक्रिया दुवै रूपमा एकसाथ अस्तित्वमा रहन्छ । लक्ष्य भन्नुको अर्थ, पुँजीवादी शोषणबाट मुक्त भएको समाज व्यवस्था । प्रक्रियाको अर्थ, पुँजी र पुँजीवादको आजको स्वरूप बुझ्ने काममा सामेल हुने र यसलाई बदल्ने काममा तत्पर हुने प्रक्रिया । पुँजीवादविरोधी प्रतिरोध र विद्रोहलाई, संघर्षका विविध आयामहरूलाई संगठित र परिचालित गर्ने प्रक्रिया । पुँजीवादी संकटका अवस्थाहरूबारे राम्रो जानकारी राखेर उपयुक्त परिस्थितिमा समाजवादी प्रयत्नहरू लागु गर्न गराउन सक्ने तयारी गर्ने प्रक्रिया । श्रमजीवी वर्गको ऐक्यबद्धता जोगाउने प्रक्रिया, लोकतन्त्र सुदृढ गर्ने र विस्तार गर्ने प्रक्रिया । वर्गचेतनालाई दह्रोगरी पकड्ने र त्यसलाई फैलाउने प्रक्रिया । पुँजीका प्रभाव र प्रभुत्वको ठाउँमा वैकल्पिक प्रभुत्वका लागि के गर्न सकिन्छ, त्यसको तयारी र प्रयोग गर्ने प्रक्रिया । पुँजीवादी राजनीतिक दललाई विस्थापित गरी समाजवादी राजनीतिक दल निर्माणको प्रक्रिया ।
आजको कम्युनिष्ट पार्टी आजको परिस्थितिमा बन्छ । यसलाई आजको नवउदारवादसँग लड्न, भिड्न र टिक्न सक्ने विचारले लैस गर्ने प्रक्रिया पनि आज बाँचेका मान्छेहरूको लागि समाजवाद हो । थोरैको हित गर्ने व्यवस्था भएको नाताले पुँजीवादलाई लोकतन्त्रभन्दा ज्यादा गोपनीयता, अपारदर्शिताको खाँचो पर्छ त्यसको ठीक उल्टो समाजकै हित गर्ने भएकाले समाजवादलाई लोकतन्त्र अपरिहार्य हुन्छ । त्यसैले विचार, दृष्टिकोण र व्यवहारले नै समाजवादी पार्टी र यसमा लाग्ने मानिसहरूको समाजवादीकरणको प्रक्रियामा प्रवेश गर्नु आजको मानिसहरूको लागि समाजवाद हो ।
एकथोक भन्ने अर्कोथोक गर्ने त पुँजीवादको आधारभूत चरित्र हो । यसरी पुँजीवादीहरूका लागि विचारको दुनियाँ अलग हो, व्यवहारको दुनियाँ अलग हो । किनकि पुँजीवादले समाजमा झुट बोल्नैपर्छ, साँचो कुरा गरेर पुँजीवाद टिक्दैन । १५ दिनमा अनुहारको गोरोपनदेखि लिएर वासिङ पाउडरका चम्किला धुलाइसम्मका नानाथरीका झुटहरू सार्वजनिक सञ्चारमा खुलेआम विना रोकावट प्रसारण तथा प्रकाशन हुन्छन् ।
नाफाका लागि वा फाइदाका लागि जे पनि गर्न पाइने नैतिक मूल्यको जगमा उभिएको छ पुँजीवाद । समाजवादका लागि विचार र व्यवहारको एकरुपता अनिवार्य शर्त हो । यसको नैतिक मुल्य पारदर्शिता र सत्यतामा अडिएको हुन्छ । यस्तो नैतिक मूल्यमा अडिग रहनु, विचार र व्यवहारको भिन्नता नहुने प्रक्रियामा सामेल हुनु र सोही अनुकूलको जीवनपद्धति निर्माण गर्नु आज बाँचेकाहरूको समाजवाद हो । गरीबको पक्षमा, न्यायको पक्षमा, मानवताको पक्षमा, एकताको पक्षमा, शान्तिको पक्षमा, विभिन्न सामाजिक मुद्दाहरूलाई वर्गसंघर्षमा एकताबद्ध बनाउने पक्षमा आफ्ना ज्ञान सीप र क्षमताको अभिवृद्धि गर्नु र त्यसलाई प्रयोग गर्नु आजको समाजवाद हो ।
यसरी आज बाँचेकाहरूको र समाजवाद प्राप्त हुनुभन्दा अगाडिका मानिसहरूका लागि, समाजवाद काल्पनिक नारा मात्र होइन यो पुँजीवादीकरणका विपक्षमा बहुआयामिक संघर्षमा सामेल हुने र यसरी संघर्षमा सामेल हुनेहरूसँग हातेमालो गर्दै जाने प्रक्रिया हो । यस अर्थमा आजको समाजवादको महत्वपूर्ण पक्ष एउटा सही दृष्टिकोणमा आधारित समाजवादी पार्टी निर्माणको प्रक्रियामा सामेल हुनु हो । त्यस्तो विचारको निर्माण र त्यसको परीक्षणको प्रक्रियामा होमिनु हो । पुँजीवादका संकटहरू बुझ्ने र त्यो संकटका बेला समाजवादलाई कसरी स्थापित गर्ने भन्ने तयारीमा संलग्न हुनु हो । तयारी कति महत्वपूर्ण कुरा हो भने, अरब स्प्रिङ पर्याप्त वाम तयारीको अभावमा विना निश्कर्ष पुनः पुँजीवादकै बाटोमा लाग्यो । यसका संघर्षका सन्देशहरू अनेक होलान् तर वाम तयारीको अभावमा जे प्राप्त हुनुपर्थ्यो त्यो हुन सकेन ।
त्यस्तै, छिमेकी श्रीलंकामा संकट आयो, जनता आन्दोलित भए, बहालवाला सत्ता धरमरायो तर पर्याप्त तयारीको अभावमा त्यो संकटलाई क्रान्तिकारी रूपान्तरणको अवसरमा त्यहाँको श्रमिक वर्गले परिणत गर्न सकेन । यस्तो समाजवादी तयारीको अर्को पक्ष वर्ग पक्षधरताको जगमा उभिएको आफ्नो सामूहिकताको दायरा विस्तार गर्दै जानु पनि हो । पर्याप्त सामूहिक तयारीको अभावमा हिजो पनि समाजवादी भनिएका पार्टीहरू फासिवादमा पतन भए ।
मुसोलिनी आफैँ ट्रेडयुनियन आन्दोलनका नेता, श्रमिकहरूका अगुवा, समाजवादका अभियन्ता, समाजवादी पत्रिकाका सम्पादक थिए । तर जब इटालियन पुँजीपति वर्गले उसलाई मान्यता दियो, आर्थिक सहयोग र सत्ताको साँचो दियो, उसले आफ्नो वर्ग पक्षधरताको कित्ता फेर्न कुनै हिच्किचाहट गरेन र तिनै श्रमिकहरूको आन्दोलन/संघर्षलाई निर्मम दमन गर्दै फासिवादको (खल) नायक बनेर देखापर्यो । पर्याप्त सामूहिक तयारी नभएको इटालियन मजदुर वर्गले फासीवादको उदय रोक्न सकेन । पुँजीवादलाई सास भर्दिने फासिवादको बर्बरता भोग्न सिंगो युरोप अभिषप्त भयो । नेपालमा नेकपा (नेकपा)को नाटकीय अवसान, लोकतान्त्रिक आन्दोलनकै जगमा उठेको नेतृत्व पंक्तिकै स्खलन, अलोकतान्त्रिक शक्ति आर्जनमा लाग्ने प्रवृत्ति र त्यसको सामान्य पनि प्रतिवाद गर्न नसक्ने नेताकार्यकर्ताको भिडले अन्ततगोत्वा पुँजीवादलाई नै बलियो बनाउने काम गर्यो। यसरी यी अनुभवहरूबाट, यो पनि निश्कर्ष निस्कन्छ कि, हरेक गतिविधिमा पुँजीवादलाई बल प्रदान गर्ने कुनै पनि तरिकाबाट अलगथलग हुने प्रक्रिया आजको लागि समाजवाद हो ।
उल्लेखित प्रक्रियाहरूमा सामेल भएर मात्र हाम्रो समाजवादमाथिको पुनर्दाबी अर्थपूर्ण हुन्छ । समाजवादको पुनर्दाबीको यो सवाल, हाम्रो आफ्नो लागि मात्र हैन भावी सन्ततिलाई हामीले के हस्तान्तरण गर्छौँ भन्ने प्रश्न पनि हो ।
देख्दादेख्दै ठूलो भएको पार्टीमार्फत नै समाजवादलाई पुँजीवादले सहवरण गर्ने, यसलाई विकृत र बदनाम गर्ने, दक्षिणपन्थी अवसरवादमा पतन भएका, तर पनि समाजवादी आन्दोलनका हिमायती हौँ भनेर नथाक्नेहरूलाई ठूलो स्वरमा दोहोर्याइ, तेहर्याइ भन्नुपर्ने भएको छ, समाजवाद भनेको पुँजीवाद होइन । समाजवाद भनेको लोकप्रियतावाद होइन । समाजवाद भनेको पुँजीपति वर्गको सेवा गर्ने राज्यमा गरिने भागबण्डा वा मोलाहिजा होइन ।
समाजवाद भनेको अपारदर्शिता, झुट र षडयन्त्र होइन । समाजवाद भनेको व्यक्तिवाद र व्यक्तिगत लाभहानीको हिसाबकिताब गरेर मुद्दाका कित्ता अदलबदल गर्नु पनि होइन । यो कुनै राजनीतिक स्टन्टबाजी होइन । यो लोकतन्त्रको सुदृढीकरण हो, एजेण्डाप्रतिको निष्ठा हो । समाजप्रतिको जिम्मेवारी हो, आन्दोलनप्रतिको जवाफदेहिता हो । प्रत्येक अन्यायको प्रतिरोध हो । प्रत्येक दमनविरुद्धको जागरण हो । सामूहिकता र वर्गपक्षधरताको दृढता हो ।
समाजवाद पुँजीवाद विरुद्धको विद्रोह हो । यो क्रान्ति र रूपान्तरण हो । हरेक मान्छे संघर्षमा आफैँ सामेल हुने स्वमुक्तिको यात्रा हो । पुँजीवादी राज्यव्यवस्थाबाट प्रताडनामा परेका हजारौँसँग सँगसँगै उभिनु र उनीहरूसँग मिलेर यो अमानवीय व्यवस्थाको ठाउँमा मानवीय व्यवस्थाका लागि लड्नुको आजको समाजवाद हो ।
यसरी आजका मान्छेका लागि लक्ष्य पनि समाजवाद हो र यात्रा पनि समाजवाद नै हो । यात्राका हिसाबले यो आज नै र अहिले नै शुरु हुन्छ । तर लक्ष्यका हिसाबले समाजवाद कहिलेबाट ठ्याक्क अगाडि आउँछ, त्यो भने भन्न सकिन्न । तर यो किटानीका साथ भन्न सकिन्छ कि समाजवाद पुँजीवादी शोषणबाट मुक्त भएको समाज व्यवस्था हो । पुँजीवाद पनि मान्छेले नै बनाएको र पछि मुट्ठीभरका मानिसहरूको स्वार्थमा थोपरिएको व्यवस्था भएकाले (यस हिसाबले पनि मानव निर्मित अर्थात् मान्छेले नै मान्छेमाथि थोपरेको व्यवस्था भएकाले) समाजवाद पनि मान्छेको सामूहिक बुद्धि, चेतना र सामर्थ्यले निर्माण गर्न सकिन्छ भनेर किटान गर्न सकिन्छ । तर यसका लागि हरेक मान्छेको ऐतिहासिक भूमिका छ । पुँजीवादका बहुआयामिक हमला र आफ्नो पर्याप्त तयारीको अभावमा पतन र उत्थानको दोसाँधमा वामपन्थी आन्दोलन उभिएको यो परिस्थितिलाई इंगीत गर्दै, भोलि इतिहासको कठघरामा उभ्याएर सन्ततिले ‘तिमी कहाँ थियौ त्यतिबेला ?’ भनेर हामी प्रत्येकको ऐतिहासिक भूमिकामाथि निःसन्देह प्रश्न सोध्ने छन् । त्यतिबेला निर्धक्क भन्न सक्नुपर्छ, सत्ताको मादमा नक्कली आशाका भाषण ठोक्ने र दुनियाँलाई झुक्याउने खेलमा म विलकुल लागिनँ । पद र सत्ताको लोभमा फसिनँ । चर्चाका लागि आन्दोलनलाई स्टन्ट र चलखेलको मञ्चमा परिणत गरिनँ ।
बरु आन्दोलन निर्माणको पक्षमा, वर्गको पक्षमा, समाजवादको पक्षमा, श्रमजीवी वर्ग पक्षधर ज्ञानको पक्षमा, पार्टी निर्माणको झण्डा बर्कतले भ्याएसम्म बोकिरहेको थिएँ । जसरी एक्लै भए पनि मार्क्सले बोकेका थिए । जसरी पुष्पलालले बोकेका थिए । जसरी ग्राम्सी लडे, रोजाले जीवन उत्सर्ग गरिन् । यस्ता हजारौँ इतिहासका अगुवाहरू झैँ, आन्दोलन पुनर्निर्माणको प्रक्रियामा सामेल भएर समाजवाद बचाइरहेको थिएँ भन्ने गौरव संगाल्न सक्नुपर्छ ।
यति निसंकोच भन्नेहरूको दायरा जति फराकिलो बनाउँदै जान्छौँ, त्यति नै बलियो गरी अनि सोही गति र गहिराइमा हामीले हाम्रो समाजवादलाई पुनर्दाबी गर्छौँ । र भावि पुस्तालाई प्रतिरोध, विद्रोह र समाजवादको एउटा गौरवमय इतिहास हस्तान्तरण गछौँ ।
(लेखक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव हुन् ।)