विराटनगर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि हाल उठाइएका मुद्दा राजनीतिक पूर्वाग्रह र प्रतिशोधको उपज भएको दाबी गरेका छन् ।
प्रदेश समिति बैठकमा भाग लिन आएका नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग भने, ‘मेरो मुद्दा कुनै भ्रष्टाचारको होइन, विधि प्रक्रिया पूरा भएर भएको निर्णय हो । यसले सरकारलाई नोक्सान होइन, फाइदा नै भएको छ ।’
उनले निजी जग्गा हदबन्दीभन्दा बढी खरिद गर्न कानुनले नै अधिकार दिएको बताउँदै ऐन, कानुन र संविधानअनुसार नै सर्वसम्मत निर्णय भएको बताए ।
नेपालले पतञ्जलि समूहसँग जोडिएको कार्यक्रमको सन्दर्भमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र झलनाथ खनाललगायत नेताहरूले समेत योग कार्यक्रममा भाग लिएको स्मरण गराउँदै आफूलाई मात्र लक्षित गरी आरोप लगाइनु अनुचित रहेको बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीप्रति पनि कडा टिप्पणी गरे । ‘ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको छ । जबसम्म केपी ओलीलाई बिदा गरिन्न, देश समृद्ध बन्दैन,’ उनले भने । झलनाथ खनालको भूमिकाप्रति प्रश्न उठाउँदै अध्यक्ष नेपालले निर्णय उल्लङ्घन गर्नेमा झलनाथ खनाल नम्बर वान रहेको बताए ।
समाजवादी मोर्चालाई निरन्तरता दिने स्पष्ट संकेत दिँदै उनले माओवादी केन्द्रसँग सहकार्य अझ सुदृढ बनाइने जानकारी दिए । ‘दुई पार्टीबीचको सम्बन्ध विश्वासको जगमा उभ्याएर सहकार्य बलियो बनाउँदै लैजानेछौँ,’ उनले भने ।
राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक नलगाएको स्पष्ट पार्दै नेपालले व्यक्तिको स्वतन्त्र अधिकारलाई सम्मान गर्नुपर्ने धारणा राखे ।
विद्या भण्डारी प्रकरणमा एमालेले तमासा देखाएको भन्दै उनले भने, ‘एमालेले सिंगो कम्युनिस्ट आन्दोलन सिद्धाएरै छाड्ने देखिन्छ । त्यो राष्ट्रका लागि ठूलो नोक्सान हुनेछ ।’
साभारः कान्तिपुर अनलाईन।