हामीले हाम्रो गौरवशाली पार्टी नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन विद्रोह र नेतृत्वको अनुमोदनसहित सम्पन्न गरेका छौँ। २०८१ भाद्र ९ देखि १३ सम्म काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठकले बाँकी रहेका पदाधिकारी तथा पोलिटब्यूरोको निर्वाचनपछि महाधिवेशनको काम औपचारिक रूपमा सम्पन्न गरेको छ। प्रथम बैठकले ‘दक्षिणपंथी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ’ भन्ने मूल नाराकासाथ सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले गरेको दिशा निर्देशलाई पारित दूतावेजसहित व्यवहारमा कार्यान्वयनको मैदानमा जाने प्रतिबद्धता जाहेर गरेको छ ।
दशौं राष्ट्रिय महाधिवेशनले नेपाली कम्यूनिष्ट आन्दोलनको पुनगर्ठन र रूपान्तरणको कार्यदिशा अनुमोदन गर्दै नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम सर्वसम्मत पारित गरेको छ । कम्युनिस्ट पार्टीमा सही सिद्धान्त, विचार तथा नीति र कार्यक्रम पारित गरेपछि दोस्रो महत्वपूर्ण काम भनेको सोही अनुसारको सङ्गठनात्मक संरचना स्थापित गर्नु हो । किनभने कुनै पनि विचार सही भएर मात्र पुुग्दैन त्यसलाई भौतिक शक्तिमा बदल्नुपर्ने र कार्यक्रममा ढाल्नुपर्ने अनिवार्य हुन्छ ।
विचारलाई व्यवहारमा लैजाने साधन भनेको सही किसिमको सङ्गठनात्मक स्वरूप हो । सङ्गठन भनेको क्रान्ति गर्नुभन्दा अगाडि र क्रान्ति सम्पन्न गर्ने भौतिक साधन हो भने क्रान्ति सम्पन्न भएपछि समाज व्यवस्था सञ्चालन गर्ने वा अधिनायकत्व लागू गर्ने साधन हो । लेनिनले भनेझैं पुँजीवादमा सम्पत्ति र सामन्ती संस्थामा कुलिनता, नोकरशाह, जातिवाद, पुरूषवाद र राजामहाराजाले सबै कुराको फैसला गर्ने गर्दछन् तर कम्यूनिष्ट पार्टीको सङ्गठनमा आउने यस्ताखाले तमाम प्रश्नहरूको जवाफ दिने दायित्व हाम्रो पार्टी नेतृत्व र हाम्रो काँधमा आएको छ। लेनिनले भनेझैं कम्युनिस्ट पार्टी मेहनतकश जनताको पार्टी भएरपनि त्यो उनीहरूमध्ये बढी सचेत र अग्रगामी तत्वहरूको पार्टी हो । त्यसैले आज हामी निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरू विशेष सचेत कार्यकर्ताहरूबाट निर्वाचित भएका छौं । जनवादी केन्द्रीयता माक्र्सवाद र संशोधनवाद बिचको लक्ष्मण रेखा भएकाले हामीले अभिव्यक्तिको स्वतन्त्रतालाई जनवादका रूपमा र काम कारवाहीमा एकरूपतालाई केन्द्रीयताका रूपमा स्थापित गर्दै हरेक किसिमको परिस्थितिमा आफूलाई त्यस अनुकूल बदल्ने क्षमता भएको दरिलो नेतृत्व निर्माण आजको कार्यभार हो।
पार्टी सङ्गठनलाई एउटा भयानक कारखाना मानिन्छ। सर्वहारा वर्गको पूर्ण केन्द्रिकरण र अनुशासन नै पुँजीपति वर्गमाथि विजय प्राप्त गर्नको लागि एउटा अनिवार्य शर्त हो भन्ने लेनिनको निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीको नीति र कार्यक्रम स्विकार्नु, नियमित आर्थिक काम गर्नु र कुनै एक सङ्गठनमा बसेर सङ्घर्षमा सरिक हुनुपर्ने विचारलाई हामीले दृढता र लचकता अवलम्बन गर्नुपर्दछ। माओले भनेझैं “क्रान्ति गर्नुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टी विना, माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टी विना साम्राज्यवाद तथा त्यसका दलालहरूलाई पराजित गर्न वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव हुन्छ।
माओले भनेझैं हामीले मैत्रीपूर्ण अन्तरविरोधहरू वा जनताका बिचका अन्तरविरोधहरू अल्पमत बहुमत बनाउनुभन्दा पूर्व आलोचना र आत्मालोचनाको माध्यमबाट रूपान्तरणको प्रक्रियामा जानुपर्दछ। गलतसँग सङ्घर्ष गर्ने, गलत गर्नेलाई रूपान्तरण गर्ने र सच्याउने काम गर्नुपर्दछ । तथ्यका आधारमा सत्य पत्ता लगाउने, अनुसन्धानद्धारा नयाँ तथ्यहरूको खोजी गर्न अब हामीले पार्टीलाई नीति, नेतृत्व र संगठनमा जोड्ने काम गर्नुपर्नेछ । आजको सूचना प्रविधि, यातायात, शिक्षा र बढ्दो सामाजिक चेतनाको कारण सङ्गठनमा पनि प्रभाव परेको छ। भने क्रान्तिले वंगलादेशको जस्तो विद्रोहात्मक चरित्र ग्रहण गर्ने अवस्था बन्दै गएको अवस्था छ। यस्तो अवस्थामा हामीले अत्यन्तै सुुझबुुझकासाथ पार्टी सङ्गठनमा क्रान्तिकारी भावना, इमान्दारिता, नैतिकता र अनुुशासित भावना व्यवहारमा लागू गर्न सक्नुपर्दछ। नेपालको सन्दर्भमा हाम्रो पार्टी सङ्गठनको मेरूदण्डका रूपमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम, अपाँगता भएका व्यक्ति र दुुर्गम क्षेत्रका जनताको श्रमजीवि तप्काको विचारमा आउन सक्ने संभावित स्खलनले सङ्गठनमा पनि विचलन सुरू हुुने कुराप्रति उच्च ध्यान दिनुपर्नेछ।
विचारको शक्तिलाई भौतिक शक्तिमा बदल्न नसक्दा विचारको वैज्ञानिकता पुष्टि गर्न सकिँदैन । त्यसैले विचार अनुरूपको पार्टी सङ्गठन निर्माण गर्न सकेमात्र पार्टीले अपेक्षित सफलता प्राप्त गर्न सक्छ भन्ने मान्यताका आधारमा ‘सफलता भनेको एक प्रतिशत प्लान र ९९ प्रतिशत एक्सन’ भन्ने भनाइलाई सार्थक तुल्याउन हामीले दशौं राष्ट्रिय महाधिवेशनबाट एक स्वरले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम तथा अन्य दस्तावेजलाई ९९ प्रतिशत एक्सनसहित अर्जुन दृष्टिकासाथ मिसन–८३ को यात्रामा अघि बढ्नुपर्नेछ । मिसन–८३ को सफलतासँगै स्वाभाविक रूपमा मिसन–८४ लाई सफल बनाउनेछौं । हामीले के कुरा बुझ्नुपर्छ भने कम्युनिष्ट आन्दोलनभित्रको वैचारिक संघर्ष भनेको समाजमा चलिरहेको वर्गसंघर्षको प्रतिबिम्ब हो । यतिबेला हामी सम्पूर्ण शक्तिकासाथ दलाल पुँजीवादका विरूद्ध लडिरहेका छौं । त्यसैले आजको दक्षिणपन्थी अवसरवाद विरोधी सर्घष सोझै दलाल पुँजीवाद विरोधी, सम्राज्यवाद, प्रभुत्ववाद विरोधी सघर्षसँग जोडिएको छ । त्यसका निम्ति हामीले आन्तरिक अन्तरविरोध तथा असन्तुष्टिलाई गाली‐गलौजमा उत्रेर होइन, तथ्य र प्रमाणविहिन आलोचना गरेर पनि होइन, व्यक्तिगत वा समूहगत आरोप–प्रत्यारोप गरेर पनि होइन, बदलाको भावना लिएर त हुदैहोइन बरू पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत रूपामा बलियो बनाउन तथ्यका आधारमा सत्य पत्ता लगाउँदै स्वच्छ वैचारिक तथा सैद्धान्तिक वहसहरू संचालन गर्नुपर्नेछ ।
हामीले पार्टी विद्रोह गर्दाका बखत आमजनताको इच्छा, आकांक्षा, भावना, चाहना र निरासाको संबोधन गर्ने प्रतिबद्धताहरूलाई गहिरो गरी सिंहावलोकन गर्दै पार्टी स्थापनादेखि पटक पटक नेपाली जनतामा जोगाएको विश्वासमा एकपटक पुनर्जागरण ल्याउन आवश्यक छ । त्यसैले पार्टी पुनर्गठनदेखि आजसम्मको अवधिमा पार्टी निर्माण तथा विस्तारका क्रममा प्राप्त गरेका अनुभवहरूको समग्र रूपमा संमिक्षा गर्दै मुलुकमा विकसित भएको ठोस सामाजिक–आर्थिक परिस्थिति, बदलिएको समाजको वर्गीयस्थिति, अन्तरविरोधहरूको स्थितिको जगमा नेपाली समाजवादी क्रान्ति र रूपान्तरणका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्यलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्नुपर्नेछ । सोही अनुसार हाम्रो गौरवमय पार्टीको संगठनात्मक सञ्जाललाई जनजनमा पुर्याउनुपर्नेछ । यस कामका लागि हाम्रो पार्टीको केन्द्रीय कमिटीमा रहेका हामी सम्पूर्ण सदस्यहरूले यस ऐतिहासिक महान अभियानको नेतृत्व गर्नुपर्नेछ ।
अब हामीले तुरून्तै प्रदेश कमिटी र जिल्ला कमिटी तथा स्थानीय कमिटीहरूको गठन पुनगर्ठनमा जुट्नुपर्नेछ । यसकासाथै पार्टीका जनवर्गीय संगठनहरूका राष्ट्रिय सम्मेलनहरू गरेर क्रियाशिल बनाउदै सम्बन्धित क्षेत्रमा पार्टीलाई स्थापित गर्नुपर्नेछ । नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई सफल बनाउने हाम्रो तत्कालिन अभियान देशको वर्तमान विशिष्ट राजनीतिक परिस्थितिमा शान्तिपूर्ण र संविधानसंवत नै हुनेछ । हामीले निर्माण गरेको वर्तमान संविधानको रक्षक हामी स्वयंले नै हुनुपर्नेछ । यस बीचमा हामीले प्राप्त गरेका अनुुभवका आधारमा आवश्यकताका आधारमा संविधान संशोधनको ठोस प्रस्तावसहित नेपालका सबै राजनीतिक दलहरू र सम्पूर्ण जाति समुदाय र वर्गको विश्वासमा मात्र संविधान संशोधन गर्नुपर्दछ । संविधान संशोधन कुनै अमूक दलहरूको स्थायी सत्ता प्राप्तिका लागि होइन कि नेपाली जनताको गरिवी, अभाव र बहिष्करणको संबोधनका लागि हाम्रो पार्टी जनतामा पुनर्जागरण अभियान लिएर जानुपर्नेछ । अब आजकै दिनदेखि पार्टीमा जिम्मेवारी प्राप्त गर्न बाँकी कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिनुपर्दछ । अनिमात्र हामीले गरेको विद्रोहको औचित्यलाई अझ उचाइमा लैजान सकिनेछ।
यसका लागि हाम्रा सामु आन्तरिक र बाह्य चुनौतिहरू जतिसुकै भएपनि, हाम्रो बाटो जतिसुकै कठिन भएपनि हाम्रो पार्टीको विजय सुनिश्चित छ, समाजवादको भविष्य सुनिश्चित छ भन्ने विश्वासकासाथ हामीले कार्ल माक्र्सले भनेझैं सर्वहारा श्रमजीवि वर्गको उद्देश्य पूर्ति गर्न आफ्नै स्वतन्त्र सङ्गठन र नेतृत्व आवश्यक हुन्छ । जसले सर्वहारा वर्गलाई पुरानै सत्ताधारीको पुच्छर बन्नबाट बचाओस । यसका लागि सामूहिक नेतृत्व र आफ्नै शक्तिशाली माक्र्सवादी लेनिनवादी सिद्धान्तयुक्त क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तले सुसज्जित भएको, जनआधारित कम्यूनिष्ट पार्टी निर्माण गर्दै दलाल पुँजीवादका विरूद्ध व्यापक जनपरिचालनका माध्यमबाट सामाजवादी लक्षकासाथ वहुआयमिक वर्ग सघर्षमा लामबद्ध हुसन सके मात्र नेपाली कम्यूनिष्ट आन्दोलनको पुनगर्ठन र रूपान्तरणको कार्यभार पूरा गर्न सकिनेछ ।
लेखक बिक, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव हुनुहुन्छ।