हाम्रो देशमा आजभन्दा ७५ वर्षअघि कमरेड पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । हामी अहिले कम्युनिष्ट आन्दोलनको हिरक जयन्ति पार गरिरहेका छौँ । कमरेड पुष्पलालले नै पार्टी स्थापनाका लक्ष्यहरू अघि सार्दा नेपाली क्रान्तिका दुईवटा चरणहरू (नयाँ जनवादी क्रान्तिको चरण र समाजवादी क्रान्तिको चरण) छन् भन्नुभएको थियो । आजसम्मका ७५ वर्षमध्ये ५८ वर्ष लगाएर हामीले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न ग¥यौँ ।
त्यो पहिलो चरणको क्रान्ति ०६२–०६३ मा सम्पन्न भइसकेको छ । त्यो क्रान्तिमा नेपाली कम्युनिष्ट आन्दोलनले अत्यन्त महत्वपूर्ण भूमिका खेल्यो । कम्युनिष्ट पार्टी र पूँजिवादी पार्टी सबैको संयुक्त प्रयत्नबाट नै त्यो क्रान्ति सम्पन्न भएको थियो । तर, क्रान्ति सम्पन्न भएपछि त्यसका उपलब्धिहरूलाई संस्थागत गर्न संविधान बनाउने र संविधान बनाएपछि मुलुकलाई समाजवादको दिशामा अघि बढाउन सबै वामपन्थीहरू एकताबद्ध हुनुपर्ने जुन आवश्यकता थियो, त्यसलाई वामपन्थीहरूले ठीक ढंगले बुझ्न सकेनन् । इतिहासले आफ्ना काँधमा बोकाएका ऐतिहासिक दायित्वहरूलाई ठम्याउन सकेनन् ।
एकपटक परिवर्तनको एउटा विराट सम्भावनाको उचाइमा पुगेको कम्युनिष्ट आन्दोलनका विभिन्न घटकहरू अहिले दक्षिणपन्थी शक्तिहरूको पिछलग्गु बन्ने वा बुई चढ्ने स्थितिमा पुगेको अवस्था छ । कमरेडहरू ! एकपटक संम्झना गरौं त !! एक बेलामा ‘नेपाल कम्युनिष्ट पार्टी’ यो देशकै सबैभन्दा ठूलो पार्टी बन्न पुगेको थियो । त्यसका संगठित सदस्यहरू मात्र पनि १० लाखभन्दा बढी थिए । त्यो पार्टीले संसदीय निर्वाचनमा प्राप्त मत मात्र पनि लगभग ४५ लाखभन्दा बढी थियो । प्रतिनिधि सभामा दुईतिहाई सिट प्राप्त गरेको थियो । राष्ट्रिय सभामा बहुमत प्राप्त गरेको थियो । देशका ७ वटा प्रदेश संसदहरू मध्ये ६ वटामा पूर्णबहुमत प्राप्त गरेको थियो । स्थानीय तहमा रहेका ७५३ पालिकाहरूमध्ये ४५२ पालिकाहरूमा नेकपाकै शक्तिशाली वर्चश्व कायम भएको थियो । त्यो पार्टीले एकसाथ संघीय, प्रदेश र पालिकाहरूबाट समाजवादतिर अघि बढ्न आमूल परिवर्तनका नीति, कार्यक्रम, बजेट र ऐनकानुनहरूको निर्माण गरेर अघि बढ्न नेपाली जनताले जनादेश दिएका थिए । त्यो एउटा यथार्थ थियो । तर, परिस्थितिको सहिविश्लेषण गर्न नसक्नु, आफै शक्तिको आंकलन ठिक ढंगले गर्न नसक्नु, ठिक कार्यदिशा लिन नसक्नु र आफ्ना सामु उत्पन्न वैचारिक र व्यावहारिक समस्या ठिक ढंगले समाधान गर्दै अघि बढ्न नसक्नुले त्यसबेलाको नेतृत्व आत्म विध्वंसतिर लाग्यो । त्यसले आफ्नै पार्टीको दुईतिहाई बहुमतलाई ध्वस्त पारिदियो । प्रदेश र पालिकामा रहेको वर्चश्वलाई पनि ध्वस्त पारिदियो र आखिर एकीकृत भइसकेको नेकपालाई विभाजन र विखण्डनको अर्को दुःखद अध्यायतिर धकेलिदियो । आज फेरी कम्युनिष्ट आन्दोलनमा एकपछि अर्को नयाँनयाँ समूहहरू प्रकट भइरहेका छन् । हाम्रो पार्टीको ‘विद्रोह’ त्यहि प्रकृयाको उपज हो । यी सबै कुराको कारण एउटै हो—पार्टी र क्रान्तिको वैचारिक—राजनीतिक कार्यदिशा गलत हुनपुग्नु । पार्टीको वैचारिक–राजनीतिक कार्यदिशा ठिकभयो भने पार्टीको विकास, विस्तार, एकीकरण, सुदृढीकरणलाई कसैले रोक्न सक्दैन । तर, वैचारिक–राजनीतिक कार्यदिशा बेठिक भयो भने भइरहेको ठूलो पार्टी पनि विवादग्रस्त हुन्छ, विभाजन हुन्छ र अनेक टुक्रामा विखण्डन हुनपुग्छ । आज त्यही परिदृश्य हाम्रा सामु देखा परिरहेको छ ।
के सँधै यस्तै स्थिति जारी रहिरहन्छ त ? होइन यसलाई बदल्न सकिन्छ, बदल्नुपर्छ । त्यही भनेर हामीले ‘विद्रोह’ गरेको हो । हाम्रो विद्रोह एउटा वैचारिक–राजनीतिक–सांगठनिक विद्रोह हो । त्यो दक्षिणपन्थी भड्काउका विरूद्धको विद्रोह हो । त्यो नेपाली क्रान्तिलाई पूँजिवादी यथास्थितिवादी धरातलबाट माथि उठाउन र समाजवादी क्रान्तिलाई अघि बढाउन गरेको विद्रोह हो । नेपाली कम्युनिष्ट आन्दोलनमा हावी हुन खोजेको दक्षिणपन्थी यथास्थितिवादका विरूद्ध गरेको विद्रोह हो । सुधारवादी र दक्षिणपन्थी होइन एउटा क्रान्तिकारी पार्टी निर्माण गर्नका निम्ति गरिएको विद्रोह हो । त्यो एउटा समाजवादी क्रान्तिलाई सहिढंगले बाहन गर्न र हाक्न सक्ने एउटा सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्नका निम्ति गरेको विद्रोह हो । सहिवैचारिक–राजनीतिक कार्यदिशा विकास गर्दै त्यसका आधारमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ धरातलबाट एकताबद्ध गर्ने उद्देश्यले गरेको विद्रोह हो ।
हामीले गरेको ‘विद्रोह’ को यो पवित्र उद्देश्यलाई ठिक ढंगले बुझ्नुपर्छ । मुलुकको परिवर्तित परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ । पूँजिवादी–जनवादी क्रान्तिले ल्याएका परिवर्तनहरू के हुन ? हामी कसरी समाजवादी क्रान्तिको नयाँ चरणमा आइपुगेका छौँ ? यो चरण आएपछि नेपाली समाजको अवस्था कस्तो छ ? यो समाजमा कस्ता वर्गहरू अस्तित्व छन् ? यहाँ कस्ता नयाँ अन्तरविरोधहरू विकास भएका छन् ? तिनीहरूमध्ये प्रधान वर्गीय अन्तरविरोध कुन हो ? त्यो वर्गीय अन्तरविरोधको प्रतिबिम्वका रूपमा अनिवार्य रूपले विकास हुने प्रधान राजनीतिक अन्तरविरोध कुन हो ? आज देशका समस्त वामपन्थी वा समाजवादी शक्तिहरूको मुख्य प्रतिद्वन्दी शक्ति कुन हो ? कुन प्रधान प्रतिद्वन्दीसँग संघर्ष गर्दै वा प्रतिस्पर्धा गर्दै समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्छ ? हामीले जनवादी क्रान्ति सम्पन्न त ग¥यौँ तर, त्यो क्रान्ति कालका कतिपय कार्यभारहरू अझैँ पूरा भएका छैनन् । तर, के त्यसको अर्थ नँया जनवाद, जनताको जनवाद, वा जनताको बहुदलीय जनवादकै ‘उपादेयता’ अझै सकिएको छैन भनेर तिनीहरूलाई नै अहिले पनि अनुसरण गर्न मिल्छ ? कि तिनीहरू अब समाजवादी क्रान्ति र समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बनाएर अघि बढ्नुपर्छ ? यस्ता तमाम प्रश्नहरूको क्रमबद्ध, व्यवस्थित र तर्कसंगत ढंगले जवाफ अघि सार्नुपर्छ ।
ती कामहरू सम्पन्न गर्नका निम्ति नै अब हाम्रो पार्टीको राष्ट्रिय महाअधिवेशन यहि २०८१ जेठको पहिलो हप्तामा आयोजित हुँदैछ । त्यसले माथिका सबै प्रश्नहरूको विश्लेषण गरेर नेपालको समाजवादी क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ अघि सार्नेछ । आजको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सटिक विश्लेषण गर्नेछ । समाजवादी क्रान्तिको कालमा निर्माण गरिने पार्टी संगठनका सिद्धान्तहरूका बारेमा धारणाहरू प्रष्ट पार्नेछ । यसरी नेपालको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूको श्रृंखला अघि सार्नेछ । त्यसले नेपाली कम्युनिष्ट आन्दोलन र क्रान्तिलाई बिल्कुल नयाँ धरातलबाट अघि बढाउने छ ।
यसै शिलशिलामा यो लेखमा ०६२–६३ को पुँजीवादी–जनवादी क्रान्तिले ल्याएका परिवर्तनहरू के हुन् ? त्यस बारेमा विश्लेषण गर्नेछौँ । वास्तवमा त्यो क्रान्तिले नेपाली समाजको वस्तुगत स्थितिमा ल्याएका परिवर्तनहरू के के हुन् ? ती वस्तुगत परिवर्तनहरूले नेपाली क्रान्तिका त्यसबेला अघि सारिएका कार्यदिशा, नीति र सिद्धान्तहरूमा कस्ता परिवर्तन ल्याएको छ ? त्यसबेला जनवादी क्रान्तिको कालमा पार्टीले अघि सारेका कार्यदिशा, नीति र सिद्धान्तहरू कसरी कालातित हुँदैगए ? तिनीहरूलाई हामीले निम्न १४ बुँदाहरूमा बुझ्न सक्छौँ । योभन्दा अरू कुराहरू पनि छन् । तर, निम्न १४ बुँदाहरू प्रमुख र आधारभूत पक्षहरू हुन् । आउनुहोस् अब पूँजीवादी–जनवादी क्रान्तिको क्रममा क्रान्ति र हाम्रा नीति सम्बन्धि कुरामा भएका परिवर्तनका पक्षहरूलाई विश्लेषण गरौं ।
पूँजिवादी जनवादी क्रान्तिले ल्याएका परिवर्तनहरू
(१). हिजोको अर्धसामन्ति समाज अहिले पूँजीवादी समाजमा रूपान्तरित भएको छ ।
(२). हिजोको अर्धसामन्ति उत्पादन सम्बन्ध समाप्त भयो र अहिले पूँजीवादी उत्पादन सम्बन्ध हावीहुदैँ गएको छ ।
(३). हिजोको सामन्तवाद र दलाल नोकरशाही पूँजीवादसँग व्यापक जनताको अन्तर्विरोध समाप्त भयो र अहिले दलाल पूँजीवाद र व्यापक जनताबीचको अन्र्तरविरोधमा बदलियो ।
(४). हिजो नेपाली समाजमा सामन्त वर्गसहितको वर्गीय संरचना थियो, अहिले सामन्त वर्ग नरहेको दलाल पूँजीवाद हावी भएको वर्गीय संरचना विकास भएको छ ।
(५). हिजोको अर्धसामन्ति आर्थिक आधार माथि अधिसंरचनाका रुपमा राजतन्त्र थियो, अहिले त्यसलाई उन्मुलन गरेर पूँजीवादी आर्थिक सम्बन्धको आधारमाथि संघीय लोकतान्त्रिक गणतन्त्र खडा भएको छ । यो पूँजीवादी आर्थिक सम्बन्धको अधिसंरचना हो ।
(६). हिजो हामी क्रान्तिको मुख्य बाधकका रूपमा राजतन्त्रको सामना गरिरहेका थियौँ, अहिले वामपन्थीहरूको मुख्य प्रतिद्वन्दी नेपाली काङ्ग्रेस बन्न पुगेको छ । आज प्रधान राजनीतिक अन्तर्रविरोध नै बदलिएको छ ।
(७).हिजो क्रान्तिको स्वरूप नयाँ जनवादी क्रान्ति थियो, अहिले क्रान्तिको स्वरूप नै बदलिएर समाजवादी क्रान्ति बनेको छ ।
(८).अब समाजवादी क्रान्तिको कार्यक्रम पनि नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको जनवाद पनि हुँदैन, जनताको बहुदलीय जनवाद पनि हुँदैन । तर, अब क्रान्तिको एक मात्र कार्यक्रम ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ हुनेछ ।
(९). अब हिजोको कार्यक्रमहरू के हुन्छन् त ? हिजोका सबै कार्यक्रमहरू अब कालातित भए । नयाँ जनवाद कालातित भयो, राष्ट्रिय जनवाद र जनताको जनवाद पनि कालातीत भयो, जनताको बहुदलीय जनवादको कार्यक्रम पनि कालातित भयो । तिनीहरू सबै हाम्रा ऐतिहासिक सम्पत्तिका रूपमा रूपान्तरित भए ।
(१०). त्यति मात्र होइन कमरेडहरू ! सिंगो नयाँ जनवादी क्रान्ति नै अब कालातित भयो । त्यो इतिहासको वस्तु वा प्रक्रिया बनिसक्यो । अब त्यो क्रान्तिका मूल्यवान् अनुभवहरू मात्र हामीस्ाँग छन् । ती अनुभवहरू माथि टेकेर समाजवादी क्रान्तिको दिशातिर अघि बढ्नुपर्छ ।
(११). स्वभाविक रूपमा हिजोको नयाँ जनवादी क्रान्तिका कार्यक्रमहरू मात्र होइन, त्यो क्रान्तिका कार्यदिशा, नीतिहरू, सिद्धान्तहरू, रणनीतिक लक्ष्य, कार्यनीतिहरू, कैयौँ तत्कालिन विशिष्ट नीतिहरू, क्रान्तिका तत्कालिक शत्रु र मित्र सम्बन्धि कतिपय धारणाहरू, त्यसबेलाको संयुक्त मोर्चा र कार्यगत एकता सम्बन्धि धारणाहरू यी सबै नै कालातित भए । अब तिनै कुरा दोहो¥याउन खोज्यौँ भने हामी अगाडि होइन, यथास्थितिमा पनि होइन, हामी पछाडि फर्कने खतरा हुन्छ ।
(१२). के त्यसो भए हिजो जनवादी क्रान्तिको कालमा पार्टीले अघि सारेका सबै विचार, नीति, सिद्धान्तहरू निरपेक्ष रूपले कालातीत भइसके त ? होइन होइन । हामीले त्यस्तो त कहिल्यै सोच्न हुन्न, सोचेका पनि छैनौँ । जस्तो हाम्रो पार्टी १९४९ मा स्थापित भयो । त्यतिबेला हाम्रो पार्टीले आफ्ना स्थापना लक्ष्यका रूपमा पाँच लक्ष्यलाई अघि सारेका थियो । (१). सामन्तवादको उन्मूलन (२). नयाँ जनवादको स्थापना (३).दलाल नोकरशाही पूँजीवादको उन्मुलन (४).साम्राज्यवादको विरोध (५). समाजवाद र साम्यवादको स्थापना । के हाम्रा यी स्थापना लक्ष्य पूरा भए त ? २ वटा पूरा भए ३ वटा पूराहुन बाँकी छन् ।
(१३). हाम्रा स्थापना लक्ष्यमध्ये हामीले पूँजीवादी जनवादी क्रान्ति पूरा ग¥यौँ । सामन्तवादलाई उन्मूलन गर्ने लक्ष्य पनि पूरा ग¥यौँ । तर, दलाल पूँजीवादलाई अन्त्य गर्ने र समाजवाद प्राप्त गर्ने लक्ष्य बाँकी छ । हिजोको क्रान्तिले अन्त्य गर्न नसकेको दलाल पूँजीवादलाई अब समाजवादी क्रान्तिले अन्त्य गर्छ र त्यो कार्य समाजवादी कार्यक्रमको अभिन्न कार्य बन्न पुग्छ र पुगेको छ । तर, यी कुरा पूरा भएका छैनन्, त्यसैले अहिले पनि नयाँ जनवादको उपादेयता अन्त्य भएको छैन वा अहिले पनि जनताको बहुदलीय जनवादको उपादेयता अन्त्य भएको छैन भन्न मिल्छ र ? मिल्दैन ।
(१४). ठिक त्यसरी नै नेपालमा नयाँ जनवादी क्रान्तिको थालनीको बिन्दुदेखि नै हामीले साम्राज्यवाद र प्रभुत्ववादको विरोध गर्दै आएका छौँ । पूँजीवादी जनवादी क्रान्तिको कालमा त्यो संघर्ष जारी रह्यो । अब समाजवादी क्रान्तिको कालमा पनि त्यो जारी रहन्छ । त्यो कार्यभार समाजवादी क्रान्तिको कार्यभार र समाजवादी कार्यक्रमको अभिन्न अङ्ग भएर बिकसित हुन्छ । यस्तो अवस्थामा जनवादी क्रान्तिकै कार्यभार सकिएको छैन । त्यसैले जनवादी क्रान्तिकै उपादेयता बाँकी छ भन्न मिल्दैन । यो क्रान्तिलाई समग्रबाट हेर्न नसक्ने अधिभूतवादी दृष्टिकोण हो । चीन, क्युबा र भियतनाममा हेरौँ त उनीहरूले समाजवाद निर्माण गरिरहेको दशकौं भयो । तर, साम्राज्यवादका विरूद्ध अहिले पनि सङ्घर्ष गर्नुपरिरहेको छ । अब के ती देशहरूले जनवादी क्रान्तिकै उपादेयता पूरा भएको छैन त्यसैलाई जारी राखौं भन्नमिल्छ ? बिल्कुल मिल्दैन ।
उपरोक्त परिवर्तनहरू हाम्रो देशमा ०६२–६३ को पूँजीवादी–जनवादी क्रान्तिले ल्याएका परिवर्तनहरू हुन् । त्यो परिवर्तन भएको अहिले १८ वर्ष पार भइसक्यो । यो १८ वर्षमा कम्युनिष्ट आन्दोलन आफ्नै पार्टीको २÷३ बहुमत भएको प्रतिनिधि सभाको बिघटन गरेको बेलादेखि दिनप्रतिदिन कमजोर हुँदै जाने र दक्षिणपन्थी पुँजीवादी शक्तिहरू बलियो बन्दै जाने क्रम जारी छ । यस अवधिमा मुलुकमा विशेष गरी दलाल पूँजीवाद मुलुकका सबै क्षेत्रमा हावीहुँदै गएको छ । देशको राजनीतिक क्षेत्र दिशाहीन र अन्यौल ग्रस्त बन्न पुगेको छ । सरकारले जनताको कुनै आधारभूत समस्याहरूको सम्बोधन गर्न सकेको छैन । मुलुकको आर्थिक स्थिति चौपट बनिरहेको छ । भ्रष्टाचार जताततै फैलिरहेको छ । बेरोजगारी यति व्यापक बनेको छ कि देशका युवाहरूको बहिर्गमनले डरलाग्दो रूप लिदैछ । मंहगी र मूल्यवृद्धि बेलगाम बढ्दैछ । देशको कृषि र उद्योग क्षेत्र गतिहिन बनेका छन् । सांस्कृतिक संकटसमेत गहिरिँदै गएको छ । राष्ट्रियतामाथिको खतरा अझँ गहिरो बन्दैछ । दलाल पुँजीवाद बेलगाम ढङ्गले मुलुकको राजनीति, अर्थतन्त्र, व्यापार, प्रशासन माथि हावी भइरहेको छ । जनता र राष्ट्रको हरेक क्षेत्र संकटग्रस्त बन्दैछ । यस्तो अवस्थामा मुलुकका तत्कालिक वा दीर्घकालिन सम्पूर्ण समस्याहरूको समाधानका निम्ति समाजवाद नै एकमात्र विकल्पका रूपमा हाम्रा सामु देखा परेको छ ।
त्यसैले यो दलाल पूँजीवादले कसरी जनता र देशलाई रसातलतिर लाँदैछ, पराधिनतातिर लाँदैछ र कसरी त्यसले हाम्रो देशलाई विदेशीहरूको शोषण र क्रिडा स्थल बनाउँदैछ, त्यसबारेमा प्रष्ट हुनु जरुरी छ । त्यसकारण यहाँ दलाल पूँजीवाद र समाजवादका बीचमा कति ठूलो भिन्नता छ ? दलाल पूँजीवादको नेतृत्वमा रहेको बहुदलीय जनवाद र समाजवादी लोकतन्त्रका बीचमा कति ठूलो भिन्नता छ ? आज समाज कसरी संकटग्रस्त बन्दैछ ? समाजवाद नै अबको किन बिकल्प हो ? भन्ने कुरालाई प्रष्ट पार्न अत्यन्त जरुरी छ । त्यसैले यहाँ दलाल पुँजीवादको वर्तमान बहुदलीय जनवाद र हामीले भनेको वैज्ञानिक समाजवादबीचका २७ वटा भिन्नताहरूका बारेमा उल्लेख गरिएको छ । यस्ता भिन्नताहरू अरु पनि धेरै छन् । तर, यहाँ केही आधारभूत भिन्नताहरूलाई उल्लेख गरिएको छ र समाजवाद किन अबको एकमात्र क्रान्तिकारी विकल्प हो भन्ने कुरालाई विश्लेषण गरिएको छ ।
समाजवाद नै अबको एकमात्र लक्ष्य
१. पूँजीवादी–जनवादी क्रान्तिले अहिले मुलुकमा दलाल पूँजीपति वर्गको नेतृत्वमा वहुदलीय जनवादको सत्ता कायम गरेको छ र आम जनतामाथि हर प्रकारको शोषण, उत्पीडन, अन्याय र अत्याचार थोपरिरहेको छ । आजको यो वहुदलीय लोकतन्त्र आम जनताको लोकतन्त्र होइन दलाल पूँजीवादको लोकतन्त्र बनेको छ ।
तर, समाजवादले यो दलाल पूँजीवादको पुँजीवादी अधिनायकत्वलाई समाप्त पार्छ र यसैमाथि टेकेर श्रमजीवि वर्गको नेतृत्वमा आम जनताको लोकतन्त्र–समाजवादी लोकतन्त्रको स्थापना गर्नेछ । त्यो नै इतिहासमा पहिलो पटक स्थापना भएको श्रमजीवि वर्गको नेतृत्वमा अत्यधिक बहुसंख्यक जनताको लोकतन्त्र हो ।
२. आज बहुदलीय पूँजीवादी व्यवस्थाले आम जनतामाथि हर प्रकारका पूँजीवादी शोषण, उत्पीडन, अन्याय, अत्याचार थोपरिरहेको छ र जनतालाई कंगाल पारिरहेको छ ।
समाजवादले सबै प्रकारका मानिसले मानिसमाथि गर्ने शोषण र उत्पीडनलाई अन्त्य गर्नेछ र नेपाली समाजलाई वास्तविक मानव मुक्तिको दिशामा अघि बढाउनेछ । समाजवाद भनेको शोषण मुक्त समाज हो ।
३.अहिलेको पूँजीवादी लोकतन्त्रले आम जनतालाई बोल्ने, लेख्ने, संगठित हुने, आलोचना गर्ने, निर्वाचित गर्ने र निर्वाचित सरकार बनाउन पाउने केही राजनीतिक हकहरू दिएको छ । तर, जनताको खान पाउने, बास बस्न पाउँने, लाउन पाउँने, शिक्षा प्राप्त गर्न पाउँने, स्वास्थ्य उपचार गर्न पाउँने र मानिसमाथि गरिने शोषणको अन्त्य गर्न पाउँने आधारभूत मानव अधिकारबाट भने वञ्चित गरेको छ ।
समाजवादले जनताका सम्पूर्ण आधारभूत र मानव अधिकारहरूको सुनिश्चितता गर्नेछ र हर प्रकारले जनतालाई सशक्तिकरण गर्नेछ ।
४. दलाल पूँजीवादले समाजमा विद्यमान वर्गभेदलाई झन्झन् गहिरो पार्दै लान्छ र एकातिर धनको थुप्रो र अर्कातिर गरिबीको थुप्रो लगाउँदै जान्छ ।
तर, समाजवादले वर्गभेदलाई नै उन्मुलन गर्छ, वर्गीय ध्रुवीकरणलाई अन्त्यगर्छ र श्रमजीवी जनताको जीवनस्तरलाई निरन्तर माथि उठाउँदै एउटा वर्गविहिन समाजको स्थापना गर्छ ।
५. दलाल पूँजीवादले जातिजातिबीचका विभेदहरूलाई चर्काउँदै, जनतालाई लडाउँदै आफ्नो सत्तालाई सुदृढगर्छ ।
तर, समाजवादले सबै जातिबीचको भेदलाई उन्मुलनगर्छ र पूर्णरूपले जातीय समानता स्थापना गर्छ र उनीहरूका पहिचान, भेषभुसा र संस्कृतिको विकास गर्न उत्प्रेरणा दिन्छ ।
६. दलाल पूँजीवादले विभिन्न जातिहरूका भाषाहरूबीचका भेदलाई पनि चर्काउने र उपयोगगर्ने काम गर्छ ।
तर, समाजवादले सबै जातिका भाषा र संस्कृतिको विकासका निम्ति समान अधिकार दिन्छ, पीछडिएकाहरूलाई विशेष सुविधाहरू दिन्छ र भाषिक समानता स्थापना गर्छ ।
७. दलाल पूँजीवादले कमिसन खोरी, कालाबजारी, तस्करी र दुई नम्बरी धन्दालाई मात्र प्रोत्साहन गर्छ, राजनीतिज्ञहरुलाई करोडौं दिएर किन्छ र रातारात अरबौं कमाउँछ ।
तर, समाजवादले यस्ता संगीन अपराधी क्रियाकलापलाई निमिट्यान्न पार्छ र मुलुकलाई पुँजीवादी फोहोरबाट मुक्त पारेर अघि बढाउँछ ।
८. दलाल पूँजीवादले राष्ट्रिय उद्योगधन्धा, व्यापारलाईसमेत अघि बढ्न दिँदैन र देशलाई कमिसन खोरीको भरमा विदेशी कम्पनीहरूको बजार बनाउँछ र जनतालाई उपभोक्ता बनाउँछ ।
तर, समाजवादले मुलुकका साधनश्रोतमाथि आधारित भएर राष्ट्रिय औद्योगिकरणको लहर चलाउँछ र हाम्रो मुलुकलाई औद्योगिक मुलुकमा रूपान्तरण गर्ने कामगर्छ ।
९. दलाल पूँजीवादले देशमा विद्यमान राजकीय उद्योग धन्दाहरूलाईसमेत व्यापक रूपले निजीकरण गर्ने, चलाउन नसकेपछि बन्द गर्ने र मुलुकलाई विदेशीहरूको शोषण भूमि बनाउँदै लान्छ ।
तर, समाजवादले मुलुकको अर्थतन्त्रलाई कमाण्ड गर्ने, उद्योगहरूलाई राष्ट्रियकरण गर्छ र तीन खम्बे नीति अख्तियार गरेर अघि बढ्छ । राजकीय क्षेत्रलाई समृद्ध बनाउँछ र सहकारी तथा निजी क्षेत्रलाई संबिधान र कानुन सम्वत ढङ्गले अघि बढाउँछ ।
१० दलाल पूँजीवादले एकपछि अर्को भ्रष्टाचारका काण्डहरूको रचनागर्ने र मुलुकलाई भ्रष्टाचारीहरूको अखडा बनाउने र विश्वमा बदनाम मुलुक बनाउने कामगर्छ ।
तर, समाजवादले भ्रष्टाचारप्रतिको वास्तविक रूपमा जिरो सहनशीलताको नीति लिन्छ, भ्रष्टाचारलाई उन्मुलन गर्छ र भ्रष्टाचार गर्नै मन नलाग्ने परिस्थिति बनाउँदै लान्छ ।
११. दलाल पूँजीवादको लोकतन्त्रले जनतालाई दलहरू खोल्न दिन्छ । तर, त्यसले यस्ता निर्वाचन नीतिहरू बनाउँछ, जसले गर्दा पूँजी, मसल, सत्ता, मिडियामा पहुँच नहुनेलाई केही गर्न नसक्ने बनाउँछ र बहुदलीय जनवादका नाममा मुठ्ठीभरका दलाल पूँजीवादी पार्टीहरूको अधिनायकत्व कायमगर्छ ।
तर, समाजवादले संविधान बमोजिम आम जनतालाई लेख्ने, बोल्ने, सभा जुलुस गर्ने, संगठित हुने, चुन्ने चुनिनेलगायतका सबै मौलिक र आधारभूत अधिकारहरूले सम्पन्न बनाउँछ । योग्यता, क्षमता, जनसेवाको भावना, अनुभव र जनताप्रति समर्पित व्यक्तिहरूलाई मात्र जनप्रतिनिधि उम्मेद्धार बनाउने प्रणालीको विकासगर्छ ।
१२. दलाल पूँजीवादले आवधिक निर्वाचनहरूलाई जनताका आँखामा छारो हाल्ने, ठग्ने, शोषकहरूको काँध फेर्ने, हद से हद भए पूँजीपति वर्गकै एक वा अर्को गुटमा पालो फेर्ने रूपमा प्रयोग गर्छ ।
तर, समाजवादले मुलुकका राष्ट्रपतिदेखि तल्लो इकाइका सदस्यहरूसम्म जनताबाट योग्यता, क्षमता, अनुभव, जनसेवा, जनता र राष्ट्रपतिको समर्पण जस्ता योग्यताको आधारमा निर्वाचित गर्छ ।
१३. दलाल पूँजीवादले राज्य सत्तालाई आफ्ना एजेन्टहरूको सञ्जालका रूपमा विकास गर्छ र राष्ट्रिय बजेटको ठूलो हिस्सा प्रतिवर्ष उनीहरूको पेटमा पु¥र्याउँछ ।
तर, समाजवादले राष्ट्रिय बजेटलाई जनता र राष्ट्रको सर्वोपरी हितलाई केन्द्रबिन्दुमा राखेर योजनाबद्ध विकासको प्रक्रियालाई अघि बढाउँछ । आम जनता र उनीहरूका प्रतिनिधिलाई नै योजना र आयोजना बनाउन परिचालित गर्छ ।
१४. दलाल पूँजीवादले सम्पूर्ण श्रमजीवी जनताले हर दिन सिर्जना गरेको असिमित श्रमको मूल्यको ठूलो मागमाथि लुटपाट गर्छ, एकाधिकार जन्माउँछ र राष्ट्रियतामाथि ब्रह्मलुट चलाउँछ ।
तर, समाजवादले समस्त श्रमजीवि जनताले सिर्जना गरेको श्रमको मूल्य मध्ये एक भाग उनीहरू कै सेवामा लगाउँछ भने अर्को भागलाई राष्ट्रिय पूँजीका रूपमा विकासगर्छ र त्यही पूँजीले राष्ट्रको आधुनिकीकरण र समाजवाद निर्माणगर्छ ।
१५.दलाल पूँजीवादी लोकतन्त्रले समस्त समाजमा महिला र पुरूषबीच बढिरहेको भेदका बारेमा वास्तापास्ता गर्दैन, एकाध महिलाहरूलाई अधिकार दिए जस्तो गरेपनि पूँजीपति वर्गकै परिवारलाई मात्र दिनेगर्छ ।
तर, समाजवादले प्राचिनकालदेखि समाजमा जारीरहेको पितृसत्तालाई समाप्त पार्ने लिङ्गभेदलाई अन्त्य गर्छ र महिला पुरूष समानता भएको सुखी समाजको निर्माणगर्छ ।
१६. दलाल पूँजीवादको बहुदलीय जनवादले हाम्रो देशमा युगौंदेखि जारी रहेको उच्चनिचको भेद र एकथरीलाई अछुत ठान्ने वर्ण विभाजनको जुन कलङ्कपूर्ण प्रथा छ, त्यसलाई रक्षागर्छ र जारीराख्छ ।
तर, समाजवादले यो भेदभावपूर्ण सामाजिक कलंकलाई जरैदेखि उखेलेर फ्याक्छ र एउटा समतापूर्ण समृद्ध समाजको स्थापनागर्छ ।
१७. दलाल पूँजीवादले समाजमा रहेको गरिबीलाई झन्झन् फराकिलो पार्दैलान्छ र धेरै जनतालाई गरिबीको रेखामूनी झार्दै लान्छ ।
तर, समाजवादले तीव्र सामाजिक—आर्थिक विकास मार्फत आम जनतालाई नै गरिबीको रेखामुनीबाट माथि उठाउँछ, गरिबी उन्मुलन गर्छ र समृद्धितिर लान्छ । अहिलेको चीनलाई उदाहरणका निम्ति लिन सकिन्छ ।
१८. दलाल पूँजीवादको शोषण, दमन र अत्याचारले देश उजाड बन्दैजान्छ र मुलुकमा बेरोजगारीको डरलाग्दो स्थिति तयार हुन्छ । अनि ती युवा बेरोजगारहरु खाडी र मलेसियातिर जान बाध्य हुन्छन् । विगत १८ बर्षको दलाल पूँजीवादी शासनले त्यही गरिरहेको छ ।
तर समाजवादले मुलुकमा कृषि क्रान्ति, औद्योगिक क्रान्ति, हरित क्रान्ति, जलश्रोत क्रान्ति र प्रविधि क्रान्ति जस्ता क्रान्तिकारी कदमहरूबाट देशलाई औद्योगिकरणको लहरतिर लान्छ, स्वदेशमै रोजगारी सिर्जना गर्छ, नेपाली युवाहरूलाई नेपालमै कामदिन्छ र मुलुकलाई आत्मनिर्भरतातिर अघि बढाउँछ ।
१९. दलाल पूँजीवादले मुलुकलाई अनौद्योगिकरणतर्फ लान्छ । जस्तै १९९५–९६ तिर नेपालको कुल ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदानहरू १४% भन्दा बढी पुगेको थियो र अहिले ५% भन्दा कममा झरेको छ ।
तर, समाजवादले मुलुकलाई निरन्तर औद्योगिकरणतिर लैजान्छ र आजको पीछडिएको कृषिलाईसमेत आधुनिक औद्योगिक अर्थतन्त्रको अङ्ग बनाउँदै लैजान्छ ।
२०. दलाल पूँजीवादले मुलुकको समग्र विकासलाई असन्तुलित बनाउछ, पूर्वाधारको विकासलाई समेत भ्रष्टाचारको अखडा बनाउँछ र विकास रकममासमेत लुटपाटगर्छ ।
तर, समाजवादले मुलुकको उच्च प्राथमिकताका आधारमा पूर्वाधारको विकासलाई अघि बढाउँछ, राष्ट्रिय गौरवका आयोजनालाई समयबद्ध रूपले पूरागर्छ र मुलुकका हर क्षेत्रलाई आधुनिक यातायात सञ्जालले जोड्छ ।
२१. दलाल पूँजीवादले मुलुकको बाहिरी आवागमन,पारवहन आदिका बारेमा खाली दक्षिणमुखी पारबहनलाई नै सधैं रक्षा गर्न चाहान्छ र देशलाई कुनै पनि बेला अर्को नाकाबन्दी भोग्नुपर्ने बनाउँछ ।
तर, समाजवादले नेपालजस्तो देशका दुबै छिमेकीहरू चीन र भारतबाट पारबहन सुविधा प्राप्तगर्ने कुराको सुनिश्चितता गर्छ र नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भूजडित अवस्थामा रूपान्तरण गर्छ ।
२२. दलाल पूँजीवादले मुलुकका सीमानामा भइरहेका अतिक्रमणविरुद्ध पनि चाईचुई केहीक गर्दैन । उसको नीति नै लम्पसारवाद हुन्छ ।
तर, समाजवादले मात्र देशको सीमानाको बारेमा आवाज उठाउँछ, सीमानाको रक्षागर्छ र देशको स्वतन्त्रताको पक्षमा ढाल भएर उभिन्छ ।
२३. दलाल पूँजीवादले साम्राज्यवादी र प्रभुत्ववादी मुलुकसँग एकपछि अर्को असमान सम्झौताहरू गर्छ र राष्ट्रको सार्वभौम सत्तालाई खुम्च्याउँदै लान्छ । एउटा देशको दुतावासलाई २० करोडसम्मको योजनाहरू सोझै लागुगर्ने सहमति त्यसको उदाहरण हो ।
तर, समाजवादले विदेशीहरूसँग गरेका सबै असमान सन्धि र सम्झौताहरू विधिपूर्वक अन्त्यगर्छ र स्वतन्त्रता तथा समानताका आधारमा नयाँ सम्झौताहरू गर्छ ।
२४. दलाल पूँजीवादले आम जनतामा छाडा, अपसंस्कृति, भडुवा पूँजीवादी विकृत सस्कृतिहरू फैलाउँछ, आस्था र विश्वासको व्यापार गर्छ र राष्ट्रिय संस्कृतिलाई कमजोर बनाउँदै लान्छ । जनतामा विदेशीहरूको गुलामी गर्ने भावना फैलाउँदै लान्छ ।
तर, समाजवादले जनताको राष्ट्रिय, देशभक्तिपूर्ण, लोकतान्त्रिक, प्रगतिशील समाजवादी संस्कृतिको विकासलाई प्राथमिकता दिन्छ ।
२५. दलाल पूँजीवादले देशको शिक्षा व्यवस्थालाईसमेत निजिकरणतिर लान्छ, शिक्षालाई व्यापारको बस्तु बनाउँछ, शिक्षालाई मंहङ्गो बनाउँछ र धनिका छोराछोरीलाई मात्र शिक्षा दिने स्थिति सिर्जनागर्छ ।
तर, समाजवादले पूँजीवादी शिक्षा पद्धतिकै अन्त्यगर्छ र आम जनतालाई निःशुल्क शिक्षा दिने दिशातिर लान्छ । शिक्षालाई व्यापारको बस्तु बन्नबाट रोक्छ ।
२६. दलाल पूँजीवादले आम स्वास्थ्य सेवालाई पनि निजीकरण गर्छ र जनताको स्वास्थ्यबाट पनि फाइदा उठाएर कमाउँ धन्दाको विकास गर्छ ।
तर, समाजवादले आमरूपमा निःशुल्क स्वास्थ्य सेवाको विस्तार गर्दैलान्छ र जनतालाई व्यापक सेवा दिने व्यवस्था गर्छ ।
२७. दलाल पुँजीवादले मुलुकलाई अन्तर्राष्ट्रिय वित्तिय एकाधिकार पूँजीवादको पक्षधर बनाउँदै लान्छ र मुलुकको राष्ट्रियतालाई नै ध्वस्त पार्छ ।
तर, समाजवादले मुलुकलाई हर प्रकारले स्वतन्त्र, सार्वभौमिकता सम्पन्न र स्वाधिन बनाउँछ र आत्मनिर्भरतातिर लान्छ । हो यहि हो ‘सुखी नेपाली, समृद्ध नेपालको बाटो’ । यहि हो नेपाली विशेषताको समाजवाद । यो समाजवादको कुनै विकल्प छैन । आज दलाल पूँजीवादको नेतृत्वमा भएको बहुदलीय जनवाद दिनप्रति दिन संकटग्रस्त आफैं बन्दैछ । बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद हो । त्यसले नेपाल र नेपाली जनताका आधारभूत समस्या समाधान गर्न सम्भव छैन । ती समस्याहरूको समाधानका निम्ति हामीले आजैदेखि समाजवादप्राप्तिका निम्ति जनताको तत्कालिक र दीर्घकालिन समस्याहरूलाई लिएर संघर्षमा अघिबढ्नु अनिवार्य छ ।
यो समाजवाद नै आज हाम्रो देशका समस्त श्रमिकहरूको लक्ष्य हो । यो नै हाम्रो देशका सम्पूर्ण शोषण उत्पीडनमा परेका डेढ करोड आमा, दिदीबहिनीहरूको पनि लक्ष्य हो । हामी सबै वर्ग र तहका जनताको साझा लक्ष्य हो । हामीले एकताबद्ध संघर्षलाई अघि बढाएर मात्र आजका कतिपय तत्कालिक समस्याहरू समाधान गर्दै वा राज्यसत्तालाई समाधान गर्न बाध्य बनाउँदै हामी समाजवादको त्यो भव्य, सुन्दर र समृद्ध लक्ष्यतिर अघि बढ्न सक्छौँ । त्यसैले आमा दिदीबहिनीहरू ! हामीहरू शताब्दीयौँदेखि पितृसत्तात्मक शोषण र उत्पीडनबाट सताइएका छौँ, त्यसका साथै सामन्ति र पुँजीवादी शोषण र उत्पीडनहरू हामी माथि थोपरिएका छन् । पूँजीवाद त्यसमाथि पनि दलाल पूँजीवादले हाम्रा कुनै पनि समस्याहरूको समाधान गर्न सक्दैन । लैङ्गिक समानता हामीलाई समाजवादले मात्र दिन सक्छ । त्यसैले समाजवादप्राप्तिको यो ऐतिहासिक र अन्तिम संघर्षमा एकजुट बनाँै,समस्त महिला दिदीबहिनीहरूलाई जागृत र संगठित बनाऔँ,महिलामुक्ति आन्दोलनको राष्ट्रव्यापी प्रवाह सिर्जना गरौं र समस्त नेपाली जनताको साझा आकांक्षाका रुपमा रहेको वैज्ञानिक समाजवादप्राप्तिको ऐतिहासिक लडाईमा एकताबद्ध बनेर अघिबढौँ।
नोट: अनेमसंघ (समाजवादी) द्वारा प्रकाशित महिला संकल्प-२ मा प्रकाशित लेख हो।