- लाल ऋतम्भरा
क्रान्तिको न समापन हुन्छ
न अवसान
बरु क्रान्ति निरन्तर जारी हुन्छ
अविरल र अविछिन्न बगिरहने इन्द्रावती जस्तो
क्रान्ति
इतिहासको विर्सन लायक पाठ्य होइन
जसलाई च्यातेर फाल्नुपर्छ
क्रान्ति उज्यालो तर्फको यात्रा हो
निरन्तर कदम चाल्नुपर्छ
क्रान्तिको न पतन हुन्छ
न स्थगन
क्रान्तिले जित्दैन हमेशा
क्रान्तिले हार्दैनहमेशा
त्यसैले क्रान्तिको नाममा
न विजयोत्सव हुन्छ
न पराजयको सन्नाटा
क्रान्तिको बदलिरहन्छ बाटो
बदलिन सक्छ क्रान्तिको भाष्य
तर बदलिएको हुँदैन
क्रान्तिको उद्देश्य
क्रान्तिको स्वरुप बदलिन्छ
तर बदलिन्न भविष्य
क्रान्तिको न सुरु छ
न अन्त्य
मार्क्सले क्रान्ति लेखेका होइनन्
क्रान्तिको सच्चाई देखेका हुन्
र पढाएका हुन् हामीलाई
क्रान्तिको ‘कोर्स’
सत्ता कि मानव मुक्ति !
मानव मुक्ति रोजेका हुन्
सत्ता छाडेर चे ग्वेभाराले
सम्झाएका हुन् हामीलाई
क्रान्तिको विशालतम अर्थ
क्रान्तिवीर हुनुको अर्थ
बन्दुक भिर्नु र युद्ध लड्नु होइन
न मुर्दा शान्तिको कामना गर्नु हो
क्रान्तिवीर हुनु भनेको
मुक्त आकाशको खोजी गर्नु हो
परिवर्तनका निम्ति
आफूलाई समर्पित गर्नु हो
म देखिरहेछु
पानी भित्र आगो
आगो भित्र उर्जा
तिमी भित्र उम्लिरहेको रगत
रगतलाई पसिना बनाएर
बगाउन सक्ने तागत
हामीले क्रान्ति गर्नु छ
आफैभित्र र बाहिर पनि
अब हामीले पढ्नुपर्छ
क्रान्तिको नयाँ पाठ्यक्रम
श्रमले फलाउनु छ सिर्जना
पसिनाले लेख्नु छ समृद्धि
हाम्रै हातले कोर्नु छ हाम्रो भविष्य
चेतनाको संवाहक बनेर
नवनिर्माणको संकल्प बोकेर
समान मानवीय मूल्यको लागि
गोलबन्द हुँदै समाजवादको कार्यदिशामा