राणा शासनको अन्त्यको पछिल्लो कालखण्डदेखि सचेत परिवारको रूपमा रामेछापका भक्तलालको चार छोरामध्ये जेठा १९९७ सालका चार शहीमा गङ्गालाल उमेरले कान्छा तर शौर्य तथा चेतनाले सर्वोच्च रहेको देखिन्छ । उनै शहीद गङ्गालालका स्वमातृ भाईहरू पुष्पलाल, गौरीलाल अनि कान्छा विजयलाल श्रेष्ठ हुुुनुहुन्छ । सरसरती किताब प्रस्तुतिका अध्यायहरूको संयोजन हेर्दा यो किताब गङ्गालाल परिवारको आत्मकथन जस्तो लाग्छ । वास्तवमा यस किताबले नौ दशकको ऐतिहासीक सामाजिक अर्थात राणाकालदेखि गणतन्त्रको आठ दशकसम्मको मध्यमस्तरीय नेपालीको अनुभूतिलाई संक्षिप्त जानकारीको उजागर गरेको छ । घटनाका क्रमहरू परिवार केन्द्रित रहेपनि राजनीतिक सन्दर्भ र परिवेश मिल्दो किसिमले उल्लेखित भएकाले एकचित्तले पढ्ने पाठकलाई त्यसै कालखण्डमा विचरण गरिरहेझैँ लाग्दछ ।
यस १७२ पानाको पुस्तकको अग्रभागमा चार पाना रङ्गिनमा बा भक्तलाल र दुइ आमाहरू, जेठा दाज्यु शहीद गङ्गालाल र भाउज्यु हसिनादेवी, माहिला दाज्यु पुष्पलाल र भाउज्यु सहाना प्रधान हुनुहुन्छ । मन्तव्य प्रा.डा.त्रिरत्न मानन्धर तथा जयराज आचार्य दुइ जनाको सात पाना अनि लेखकीय भनाई तिन पानासहित दुई पानामा विषय सूची अटाइएको छ । पछाडी भागमा १२ पाना श्यामस्वेत पारिवारीक चित्र थप दिइएका छन् । यसरी किताबका लागि समाविष्ट करिब तीन सय पानाको यो ऐतिहासिक पुस्तकको समर्पण बा भक्तलाल तथा आफ्नी आमा तुलसीमायालाई गरिएको छ । बिमोचनमा उपस्थित सबैलाई सहुलियत मूल्यमा बिक्रिगरिएकाले सबैका हातमा पुगेको देखिएको थियो । विद्यार्थी पुस्तक भण्डारको प्रकाशनलाई कञ्चन प्रेस बागबजारले कुशल मुद्रण गरेकाले आकर्षक आवरण देखिन्छ र अहिलेको बजारको तरलतामा रू.४००।– मुल्य बढी लाग्दैन ।
‘भक्तलाल श्रेष्ठका सन्तान’ पुस्तकचार अध्यायमा बाँडिएको छ, अध्याय १ मा कीर्तिपुर थातथलो, बँशाबलीको झलक, आफ्ना दुइ आमा भएकाले सानीआमा पट्टिका सन्तानहरूसाथै बा भक्तलालको देहाबसानका दुखदायी क्षणहरू सापेक्षतामा चर्चा भएको छ । अध्याय २ मा यो किताबमा धेरैले विशेष महत्वकासाथ पढ्ने गङ्गालाल केन्द्रित परिवर्तन र उपलब्धि बारेमा बर्णन छ । तीन अक्षरको ‘बिराएँ’ भनेमा ज्यान बाँच्ने थाहा हुँदाहुँदै आफ्नो उन्नत चेतनाले प्राप्त राजनीतिक ज्ञानको स्थिर चिन्तनका कारण बलिदानलाई हाँसीहाँसी स्विकारगर्ने शहीदगङ्गालालको अन्तिम दिनका गतिविधि तथा आफ्ना बालाई लेखेको मार्मिक पत्र दिइएको छ । त्यस प्रस्तुतीले हरेक पाठकलाई यो अध्यायमा उहाँका गतिविधि बारेमा कुतुहल तथा पारिवारीक यर्थार्थताका अनुभवभएका थप पानाहरू आशा पक्कै गर्दछन् ।
अध्याय ३ मा दाज्युको बलिदान र अटल दार्शनिक बिचार साथै व्यक्तिगत अनुभवका आधारमा माहिला भाई पुष्पलालमा माक्र्सवादी दर्शनले अविचल छाप पारेकाले कम्युनिष्ट पार्टी बनाउन लागिपरेको संक्षिप्त चर्चा छ । आरोह–अवरोह सहँदै पार्टी महासचिव भएर एकल र सँयुक्त मोर्चाको नीति अवलम्बनगरी सङ्गठन निर्माणगर्दे नेपालमा नयाँ जनवादी क्रान्तीको बाटो प्रष्ट पार्दै अघि बढेको सजिव वर्णन छ । ऐतिहासिक नेकपा स्थापनाको पहिलो पर्चा र पार्टी घोषणापत्र यस अध्यायको आकर्षक गहना बनेको छ । संयुक्त मोर्चाको कार्यभारलाई समयसापेक्ष एक सिमासम्म स्विकारगर्ने र काम फत्येभए पछि आफ्नै अटल बाटोमा लागिरहनु पर्ने तथ्यलाई नबुझेर तथा बुर्जुवा ठस्साकै लालसामा रमाएका त्यसपछिका पार्टीहरू झल्याक झुलुक गतिलै सुरूवात गरेपनि अहिले नवपूँजीवादी आहालमा डुबेको दुर्दशा सबैले भोगेकै छौँ । अल्फ्रेड नोबेलले अक्कर भूमिलाई मानव हितमा प्रयोगगर्न बिष्फोटक आविस्कार गरे तर अहिले यन्त्रविज्ञानलाई मान्नेहरूले गरिबका बस्ती र सर्र्वसाधारणको जीउ–धन मास्न प्रयोग गरेझैँ भएन त, यो संयुक्त मोर्चाको अवधारणा ? त्यसैले त अहिलेका नामधारी नेकपाहरू ‘आत्मसमर्पणका साथ गठबन्धनमा’ लागेका छन्, क्या बिभत्स र जनबिरोधी लुच्चाइँ बुर्जुवाहरूको ? कम्युनिष्ठको रातो झण्डा छुँदा कति आत्मग्लानी हुँदो हो त्यस्ता द्रव्यपिशाचहरूलाई ? पुष्पलालको इमानी नीति र अटल विश्वासमा आफू अनुकुल कस्तो बाङ्गो र उल्टो व्याख्या ? धिक्कार छ तिनको बिब्ल्याँटो सोचाईलाई, पुष्पलालसमेतलाई उनका फोहोरी आहलमा डुबाउन खोज्छन् !
अध्याय ४ मा सहिदका एकै कोखका जीवित कान्छा भाई विजयलालको आफ्नै कनुभव र अनुभूति पस्किएका छन् । किताबका लेखक हुनाले पनि धेरै लेखिनु स्वभाविक छ, त्यसैले करिब १०० पाना विजयलालजीले बालखकालदेखि राजनीतिक सम्पर्क, क्रियाशिलता तथा जीविकोपार्जन सहित अहिलेका विभिन्न सक्रिय भनिएका नेकपा गुटहरूको आन्द्रभूँडी केलाउनु भएको छ । प्रष्ट राजनीतिक लाइनका अभावमा कार्यकर्ताले जीविकोपार्जनका लागि केही त गर्नै प¥यो, विजयजी विदेशी संस्थामा कामगर्न थाल्नुभयो र विदेशतिर बरालिन पनि पाउनुभयो । अनुभव र परिवारको व्यवस्थापन गरेपछि ‘घुमिफिरी रूम्जाटार’ भनेझैँ आफू भने नेपालमा नै फर्कीआई मातृभूमिकै सेवामा लाग्नुभयो । एक पटक त्यो पनि किशोर अवस्थामा नै लागेको माक्र्सवाद, जनसेवा र बाँचुञ्जेल सक्रियरहने सोच उहाँले छोडन सक्नुभएन । त्यसैले ९० वर्ष काटेको अतिपाको उमेरमा नेपालको लागि एक ऐतिहासिक किताब प्रस्तुतगर्न सफल हुनुभएको छ । व्यक्तिव्यक्तीका कथनका आधारमा केलाई सङ्ग्रहित सामाग्रीले नै देशको साँचो इतिहास निर्माण गर्दछ, साशकले त आफू अनुकुल इतिहास लेखाउँछन । त्यसैले यो किताब नेकपाको इतिहास जस्ताको त्यस्तै लेख्न र राणाकालदेखिको नेपालको सामाजिक र राजनीतिक इतिहास लेख्न गतिलो सामाग्री बन्नसक्ने कुरामा दुइमत नहोला !