काठमाडौँ। नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश बिकले राजनीतिमा सामुहिक नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनु भएको छ।
नेपाल दलित मुक्ति संगठन, कोशी प्रदेश कमिटीले गत साताको बिहिबार ५९औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजना कार्यक्रममा अध्यक्ष बिकले उक्त कुरा बताउनु भएको हो।
कोशी प्रदेश कमिटी अध्यक्ष कृष्ण रसाइलीको अध्यक्षता झापामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएका अध्यक्ष बिकले राजनीतिलाई संस्थागत गर्न आर्थिक क्षेत्र बलियो बनाउनु पर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘नेपाली विशेषताको ज्ञान गर्दै शासकीय सुधार, आर्थिक सुधार, लगानीका संरचना परिवर्तन गर्नुपर्छ । साथै बाह्य सहयोग सम्बन्धि हामी स्पष्ट हुनुपर्छ। जनता र प्रणालीबीचको अन्तरसम्बन्ध र भ्रष्टचार नियन्त्रण, पार्टी कार्यकर्ताहरूले अबलम्बन गर्नुपर्ने सिद्धन्त, आचरण, अनुशासनको बृहत खाका बनाई लागुगर्ने काममा हामी लाग्नुपर्छ।’
अध्यक्ष बिकले अगाडि भन्नुभयो, ‘पुनर्जागरण, निर्माण र सुधारको योजनाका साथ स्वामित्व नभएर विकास सम्भव छैन। लक्षित कार्यक्रम र सामाजिक विकास, समृद्धिलाई जनताको एजेन्डा बनाउँदै समुदाय र समाज नियन्त्रीत समाजवाद हासिल गर्नुपर्छ। साथै यसका निम्ति निजि सम्पतिको उन्मुलन र सम्पतिको सामुदायीकरणमा जोड दिनुपर्छ। राष्ट्रव्यापि पार्टी र जनब्यापी जनसङ्गठनमार्फत समाजवादी जागरण अभियानका लागि वर्ग सघर्ष गर्नुपर्छ।’
त्यस्तै कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले छुवाछुत र विभेद दण्डनीय अपराध भएको बताउनु भयो।
मान्छेले मान्छेमाथि गरिरहेको जातीय विभेद पूँजिवादी व्यवस्थामा यसको समुल अन्त्य हुन नसक्ने घिमिरेको भनाई छ। उहाँले अगाडि भन्नुभयो,‘पूँजिवादमा कानुन त बन्न पनि सक्छ। तर, लागु हुँदैन। कानुन निर्माण र कार्यान्वयन दुबैमा दबाब चाहिन्छ। त्यसका लागि श्रमजीवि वर्गको एकता चाहिन्छ। हिजो श्रम विभाजनका क्रममा जातजातीको विकास भएको भएता पनि आज श्रमिक विभाजनका लागि पूँजिवादले यसको उपयोग गरेको छ।’
नेता घिमिरेले अगाडि भन्नुभयो, ‘विभिन्न नाममा श्रमिक वर्गको एकता खल्बल्याउने र वर्गसंघर्ष कमजोर बनाउने आजको नवउदारवादी पूँजिवादको तरिका राम्रोसॅग बुझेर मात्र समाजवादी आन्दोलनलाई सही गति दिन सकिन्छ। जातीय छुवाछुतको आरक्षण र केही पद दिएर सांकेतिक स्वीकारोक्ति गर्ने हैन यसको समुल अन्त्य र मुक्तिका लागि समाजवादीहरूले मिलेर संघर्ष गर्नुपर्नेछ।’
कार्यक्रममा भवानी शंकर, श्याम लुवागुन पार्टीका केन्द्रीय सदस्यद्वय कृष्ण कुमारी बिक र दुर्गा परियारलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
![c3bdc11a-621b-46af-98a6-f3102f958c95-1711358643.jpeg](https://kalamnews.com.np/uploads/posts/c3bdc11a-621b-46af-98a6-f3102f958c95-1711358643.jpeg?timestamp=1711358654942)
![c44a8b1d-2ba4-4b87-93a7-fd761c5dc609-1711358642.jpeg](https://kalamnews.com.np/uploads/posts/c44a8b1d-2ba4-4b87-93a7-fd761c5dc609-1711358642.jpeg?timestamp=1711358654942)
![3fa25e9e-1fc3-4eb7-8187-b7ec558788b5-1711358642.jpeg](https://kalamnews.com.np/uploads/posts/3fa25e9e-1fc3-4eb7-8187-b7ec558788b5-1711358642.jpeg?timestamp=1711358654942)