काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली मरणोपरान्त अध्यक्ष बन्न आरती उतारिरहेको आरोप लगाएका छन् ।
भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आजीवन र मरणोपरान्त नेतृत्वको सम्मान दिइरहेको भन्दै कटाक्ष गरेका हुन् । मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँ माआयोजित कार्यक्रममा बोल्दै भुसालले कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए ।
उनले ओलीप्रति लक्षित गर्दै भने, ‘हाम्रो आन्दोलनमा नेतृत्वले ‘म २० वर्ष कुर्सीमा बस्छु, अरूलाई १०–१५ वर्षमा तयार गर्छु र छाड्छु’ भन्नुपर्नेमा च्यासलमा आजीवन र मरणोपरान्त नेतृत्वको आरती उतार्ने काम भइरहेको छ । यो आन्दोलनको ठूलो विरोधाभास हो ।’
उनले राष्ट्रिय स्वाभिमान जोगाउन र संविधान जारी गर्न सफल भए पनि भ्रष्टाचारमुक्त राज्य व्यवस्था निर्माण गर्न नसकिएको बताए । ‘हामीले क्रान्तिकारी पार्टी बनाउन सक्यौँ, तर घूस नखाने व्यवस्था बनाउन सकेनौँ । गुटबन्दी र पार्टी कब्जा गर्ने प्रवृत्ति रोक्न सकिएन । दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल हुन दिएको छैन,’ उनले भने । कम्युनिस्ट आन्दोलन सर्वोकृष्ट भौतिक आन्दोलन हो । तार्किक आन्दोलन हो । निर्मम आन्दोलन हो । यी सारा आन्दोलन छोडेर आज विरोधाभास देखिएको छ ।’
महासचिव भुसालले केपी शर्मा ओली, पुष्पकमल दाहाललगायतका नेताहरूप्रति लक्षित गर्दै भने – ‘लिडरसीपको कुरा गर्दा त कस्तो भयो भने अघि मैले भनिसकेँ, म १४ वर्ष जेल बसेको, मलाई प्रधानमन्त्री चाहियो। म जनयुद्ध लडेको, प्रधानमन्त्र मैलाई चाहियो। पहिले म नेता थिएँ, अब पनि मै नेता हुँ। यो कुनै तर्क हो रु यो कुनै इतिहासको तर्को हो रु इतिहासस इतिहास पनि मिटरब्याज जस्तो बढेको बढ्यै गर्छ रु हाम्रो नेतृत्व हो कि मिटरब्याजीहरूको गठबन्धन हो ?’
भुसालले राजनीति सत्ताकेन्द्रित भएको र गठबन्धनमार्फत राज्य दोहन गर्ने प्रवृत्ति स्थापित भएको बताए । ‘यस्तो राजनीतिले जनतामा असन्तुष्टि बढाएको छ र अराजक पपुलिज्म हावी हुँदै छ। २०८४ को चुनावसम्म अवस्था सहज छैन । समाज उग्र बन्दै छ र यो बङ्गलादेश वा पाकिस्तानको मोडलमा जान सक्छ,’ उनले चेतावनी दिए ।