काठमाडौं। नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ।
मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो।
जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो। माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन्। माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए। यो नेपालको महिला टी-२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो।
नेपालको जितमा अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन्। पूजा महतोले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर ३ विकेट लिइन्। रुविना क्षेत्रीले ३.५ ओभरमा २ रन खर्चेर ३ विकेट लिइन्।
त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलेकी थिइन्। पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन्।
पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए। रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छिन्। नेपालले महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो। यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी-२० आई खेलमा कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो।
नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन्। माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिइन्। नब्बा बिन्थु नसिमले १ विकेट लिइन्। नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको थियो। नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ।
हङकङ ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ। क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यस वर्ष हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछन्। समूह 'ए' मा थाईल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। कुवेत ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमाछ। थाईल्यान्डको नेटरनरेट प्लस ५.७२९ र कुवेतको माइनस ०.५१४ छ।
थाइल्यान्ड र सिंगापुरबीच खेल जारी छ। जितको लागि १६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले १० ओभरमा ५ विकेट गुमाउँदै ४४ रन बनाएको छ। यो खेल थाईल्यान्डले हार्दा पनि समूह विजेता बन्ने पक्का छ। त्यसैले क्वाटरफाइनलमा नेपाल र कुवेत भिड्ने भएका हुन्।