काठमाडौँ। चालु आर्थिक वर्ष (आव) को ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेर नेपालको कुल बजेटभन्दा माथि पुगेको छ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा आउँदा १४.८८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ। मुलुकसँग रहेको कुल विदेशी विनियम सञ्चित चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको उक्त बजेटभन्दा माथि पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रामा करिब १५ प्रतिशतले वृद्धि देखिएको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा भने १३.६ प्रतिशतले बढेको छ। २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ। २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
आयातमा भएको संकुचन र विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले सञ्चिति पर्याप्तता सूचकमा पनि उल्लेख्य सुधार भएको छ। आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३२.८ प्रतिशत, कुल आयातसँगको अनुपात ९८.३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २७.५ प्रतिशत पुगेको छ। -एजेन्सी