काठमाडौँ। जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ।
बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्नेसमेत आदेश दिएको छ। जिल्ला अदालतका काठमाडौँकाअनुसार लामिछानेलाई कैदबाहेक ३ लाख रूपैयाँ जरिवाना र पीडितलाई २ लाख रूपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनु भएको छ।
पन्थीकाअनुसार जरिवाना बापतको ३ लाख रुपैयाँसमेत पीडितले नै पाउने भनी आदेश भएको हो। १३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्थाअनुसार बुधबारको मिति तोकिएको थियो।
उनले गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर गरेका छन्। सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ। मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन्।
यो मुद्दामा दुवै पक्ष पुनरावेदनमा जाने निश्चित भएको छ। सरकारी वकिल पक्षले पीडित बालिग ठहर गरेकामा चित्त नबुझाएकाले पुनरावेदन जाने निश्चित छ। क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा चित्त बुझाएका छैनन्।
५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६) लाई भेटेका थिए। सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन्।
उजुरी परेका बेला केन्यामा रहेका उनी आफूविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए। केन्यामा रहेका उनी आफू विरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए।
जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई गतवर्ष पुसमा उच्चअदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। उच्चअदालतले विदेश जान रोक लगाएकामा सर्वोच्च अदालतले भने उनलाई विदेश जान पाउने आदेश दिएको थियो।
क्यानबाट पनि निलम्बन
लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ। अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो।
बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो। लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ।
आज बिहीबार विज्ञप्ति निकालेर क्यानले भनेको छ,’राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं।’
राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो। ५ भदौमा बानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो।