काठमाडौँ, भदौ १
दैलेख जिल्लाको भगवती माइ गाउँपालिका ५ का कर्ण विकलाई २०५६ मा नागरिकता बनाउँदा ठगे कामी बनाएकोमा सच्याउन जाँदा जिल्ला प्रशासन कार्यालयले सच्याउन आनाकानी गरेको छ ।
दैलेखकी सांसद पार्वती कुमारी विशुन्केले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘दैलेख जिल्ला प्रशासनमा सिंगो दलित समुदायको अपमान हुने गरी प्रशासकले जुन हर्कत र अमानवीय तथा अपमानजनक र जातीय विभेदलाई प्रश्रय दिने गरि जुन व्यवहार गरे त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
अपमानित नाम सच्चाउन प्रक्रिया पुर्याएर गएका कर्णबहादुरको निवेदन च्यात्नु र विवरण भरेको नागरिकता फारममा केरमेट गर्नु कानुन विपरीतको कार्य हो।’
जिल्ला प्रशासन कार्यालयले अमानवीय तथा अपमानजनक नाम फेर्न आनाकानी गरेको उहाँले बताउनु भएको छ । विशुन्केले मान्छे हुनको लागि बारम्बार लडिरहेको दलित समुदायलाई भइरहेको अपमानजनक व्यवस्था कसरी अन्त्य गर्न सकिन्छ भनेर प्रश्न उठाउनु भएको हो ।
‘नामबाटै अपमानित भएका दलित समुदायका व्यक्तिले प्रक्रिया पुर्याएर नाम सच्याउन निवेदन दिँदा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले अपमानजनक व्यवहार गरेको पाइएको छ,’ उहाँले भन्नुभयो , ‘साउन १७ गते विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा नाममा नै अपमान दलितलाई भनेर छापियो। उक्त समाचारमा दैलेखका ६२ वर्षीय ‘करवीर कामी’ लाई ‘कुकुरे कामी’, सोही जिल्लाका ३५ वर्षीय कुलबहादुर बादीलाई फ्याउरे बादी, ६५ वर्षीय सिंह बहादुर कामीलाई सिँगाने कामी, बागलुङकी ४७ वर्षीय कोपिला कामीलाई कुकुर्नी कामी र रुकुमका ६१ वर्षीय कुलबहादुर कामीलाई कुत्ता बादी नाम राखियो। २०४४ र २०४६ सालमा गाउँमा नागरिकता बनाउने टोलीमा खटिएका अधिकारीले यसरी पशु नाम मान्छे सँग जोडेर नागरिकता जारी गरिएको थियो।’
नामकै कारण परिवार र समाजमा नै अपमानित हुनु परेको र जातकै कारण अपमान गरी नाम लेखिएको पीडितको गुनासो छ। सदनमा नै कुरा उठेपछि गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी मानिसको नाम र नागरिकता जारी नगरिने जनाएको थियो। त्यस्ता अपमानजनक नाम र थर राखी जारी भएका नागरिकता सम्बन्धित व्यक्तिले सच्याउन पाउने मन्त्रालयले जनाएको थियो। आवश्यक प्रक्रिया पुर्याई सच्याउन साउन २३ गते गृह मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिएको थियो।
त्यही निर्देशनको आधारमा दैलेखका कुकुरे कामीले कविराम नाम राखी नागरिकता प्रतिलिपि पाउँ भनी साउन २४ गते निवेदन दिएको एक हप्ता नाघेपनि अहिलेसम्म उहाँले नागरिकता नपाएको परियारले जनाउनु भएको छ ।
‘तर २९ गते आवश्यक प्रक्रिया पुर्याइ ठगे कामीको सट्टा कर्ण बहादुर कामीले दैलेखको जिल्ला प्रशासन जाँदा त्यहाँका प्रमुख जिल्ला अधिकारीले अपमान र दुर्व्यवहार गरेका छन्। अधिकारीले उहाँको निवेदन च्यात्नुका साथै भरेको नागरिकताको फाराम काम नलाग्ने गरी डटपेनले केरमेट गरेर पठाएका छन्’ उहाँले थप्नुभयो ‘यो लोकतन्त्रमाथिको भद्दा मजाक हो।’
उहाँले प्रजिअले आफूलाई कानुनभन्दा माथि राखेर जातीय दम्भ देखाएको भन्दै गृह मन्त्रालयले नै दिएको निर्देशन प्रजिअले नमान्ने कुन कानुन अन्तर्गतका शासक हुन भनेर उहाँले प्रश्न उठाउनु भयो । परियारले यसरी नागरिकता सच्याउन नदिनेलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गर्नुभएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने आफुले कुनै पनि निवेदन नच्यातेको बताउनु भयो ।