काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अब्दुल हुसेन खांको अध्यक्षता तथा पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको प्रमुख आतिथ्यता, पार्टी महासचिव घनश्याम भूसाल विशिष्ट आतिथ्यता, उपमहासचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज मेटमणि चौधरीको विशेष आतिथ्यता, पार्टी सचिव एवं लुम्बिनी सहईन्चार्ज सोमप्रसाद पाण्डेको आतिथ्यता र पार्टी केन्द्रीय सदस्यहरूको आतिथ्यतामा सम्पन्न भएको हो।
२०८२ जेठ ३० र ३१ गते नेपालगञ्जको होटल कल्पत्रुमा बैठक सम्पन्न भएको हो। बैठकमा ३९ जना नेताहरूले आ-आफ्ने धारणा राख्नुभएको थियो। बैठकमा १२ जिल्लाको रिपोर्टीङ, प्रदेश कमिटीका नेताहरूको कार्यविभाजन गर्नुको साथै संगठनात्मक, वैचारिक र राजनीतिक कामको वार्षीक कार्ययोजना तयार गरेको छ।
पार्टीले सञ्चालन गरेको सुशासन र रोजगारीको आन्दोलनको पहिलो र दोस्रो चरणको कार्यक्रमको समिक्षा गर्दै त्यसलाई निरन्तरता दिने निर्णय गर्दै भाद्र सम्ममा १०९ वटै पालिका अधिवेशन सम्पन्न गर्ने जनसंगठन तथा वडा कमिटीको गठन पुन गठन गर्ने योजना बनाएको छ भने सचिवालय तथा सल्लाहकार कमिटी गठन गर्नुको साथै १५ बुदे समसामयिक प्रस्ताव पारित गरेको छ।
बैठकको पहिलो दिन उपाध्यक्ष प्रकाश ज्वाला तथा दोस्रो दिन महासचिव धनश्याम भूसाल मेटमणि चौधरी र सोमप्रसाद पाण्डेले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो।
नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकममा प्रस्तुत समसामयिक राजनितिक प्रस्ताव
१.संविधानसभाद्धारा निर्मित नेपालको संविधान २०७२ को समाजवादोन्मुख प्रावधान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र संघीयताको पक्षमा यो बैठक दृढता व्यक्त गर्दछ।
२.राजतन्त्र फर्काउने वा जनताका अधिकार मासेर लोकतन्त्र खोस्ने, विधिको शासन उल्लंघन गर्ने, जनतामा निहित सार्वभौमसत्ता निचोर्ने दक्षिणपन्थी, फासिवादी षड्यन्त्रविरूद्ध यो बैठक खबरदारी गर्दछ।
३.पूँजीवादी व्यवस्थाले थोपरेको महंगी, भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्ध ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुल नारावरिपरी नेपाली जनता र श्रमजीवि वर्गलाई आन्दोलित हुन यो बैठक आह्वान गर्दछ।
४.लोकतान्त्रिक गणतन्त्रलाई सीमित पुँजीपतिको पक्षमा दुरूपयोग गर्ने प्रयत्नहरुको विरुद्ध, दलाल पुँजीपति वर्गले राज्य सञ्चालकलाई कब्जामा लिएर राज्यको स्रोत दोहन गरि चलाइरहेका लुटतंत्रविरुद्ध यो अधिवेशन खबरदारी गर्दछ। विकास निर्माणका नाममा पुंजिपतिको इच्छामा विकास थोपर्ने प्रयत्नको यो बैठक विरोध प्रकट गर्दछ।
५.राष्ट्रिय तथा प्रादेशिक आयोजनाहरू मजदुर, किसान र आम श्रमिक वर्गको हितमा निर्माण गर्न, त्यसलाई समयमै सम्पन्न गर्न यो बैठक माग गर्दछ। राष्ट्रिय पूँजीको विकासका लागि आवश्यक पर्यटन, उद्योग, कृषिलगायतका पूर्वाधार निर्माणका लागि यथोचित कार्यक्रम अगाडि सार्न बैठक प्रदेश सरकारसँग जोडदार मागगर्दछ।
६.गरीबहरुमाथि थोपरिएको ऋण र व्याजको भारका ज्यादतीको विपक्षमा, गरीबीको अपराधिकरणको विपक्षमा यो बैठक खबरदारी गर्दछ। अनुत्पादक क्षेत्रमा लगानी गरेर नाफाको उडान भर्ने तर राष्ट्रिय कलकाराखाना र उत्पादन भने कमजोर बनाउने बैकिंग नीतिमा पुनर्विचार गरि राष्ट्रिय पुंजी बढाउन उत्पादनका क्षेत्रमा लगानी बढाउने बैंकिग नीति अबिलम्ब बनाउन यो बैठक जोडदार माग गर्दछ।
७.यो बैठक कृषिमा लगानी बढाउने, हरेक किसानको सानोभन्दा सानो उत्पादन राज्यले विक्रिको ग्यारेण्टी गर्ने प्रणाली सुनिश्चित गर्न माग गर्दछ साथै किसानलाई आवश्यक मल, बिउ समयमै सहजढङ्गले उपलब्ध गराउन सरकारलाई माग गर्दछ।
८.निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य र रोजगारीको पक्षमा उभिँदै, स्वास्थ्य र शिक्षामा सार्वजनिक लगानी बढाउने, सार्वजनिक सेवाहरुलाई सर्वसुलभ र सक्षम बनाउने नीति निर्माण र कार्यान्वयनका लागि यो बैठक प्रदेश सरकारसँग माग गर्दछ।
९.सहकारी ठगी, मिटरब्याज जस्ता जनतामाथि लादिएका वित्तीय अपराधको भण्डाफोर गर्दै, पीडितहरूको न्यायको पक्षमा यो बैठक ऐक्यबद्धता जाहेर गर्दछ।साथै जनताको डुबेको रकम फिर्ता गराउन सम्बन्धित निकायसँग माग गर्दछ।
१०.प्रदेश कमिटीले प्रदेश सरकारलाई पेश गरेको २५ बुँदे स्मरण पत्रमा राखिएको माग लाई तत्काल सम्बोधन यो बैठक प्रदेश सरकारलाई अपिल गर्दछ।
११.सर्वसुलभ र सुरक्षित आवास, व्यवस्थित वसोवास र सहज जनजीवन तथा जनजीविकाको पक्षमा, कुरिति, कुसंस्कार, अवैज्ञानिक र विभेदकारी सामाजिक अभ्यास र मान्यताका विरूद्ध वैज्ञानिक, मर्यादित जीवनयापनका पक्षमा यो बैठक दृढता व्यक्त गर्दछ। साथै सुकुमबासी समस्या तथा भूमि सम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्दछ।
१२.शान्ति सुव्यवस्था कायम गर्न मात्र हैन देशलाई सहि दिशानिर्देश गर्न सरकार असक्षम देखिएको यो बैठक ठहर छ। कथित राजावादीको नाममा जनधनको क्षति गर्ने, हाम्रो पार्टीको केन्द्रीय कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्ने, हाम्रो अध्यक्ष कमरेड माधव नेपालको घरमासमेत तोडफोडको प्रयास गरेकोप्रति यो बैठक खेद र निन्दा प्रकट गर्दछ। यस्ता घटनामा सरकारको उदासिनता, अपर्याप्त तयारीप्रति रोष प्रकट गर्दछ।
१३.वर्तमान सरकारले राजनितिक बदलाको भावनाबाट प्रेरितरही हाम्रो पार्टीका विरूद्द बिगतदेखि नै षड्यन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्बजनिक गर्दै आएका थियौँ। हाम्रो पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपाल विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो हाम्रो विरूद्द षड्यन्त्रको अर्को घटना हो भन्ने हाम्रो ठहर रहेको छ। त्यस्तो कुनै पनि षड्यन्त्रको प्रतिबाद गर्न पार्टी पंतिमा अपिल गर्दछौँ।
१४.लुम्बिनी प्रदेश दुग्द उत्पादनका हिसावले अग्रणी प्रदेश हो यसको बिकासका लागी प्रदेश स्तरमा लुम्बिनी दुग्ध विकास बोर्ड गठन गर्न माग गर्दछौँ।
१५. वर्षायाममा हुने बाढी पहिरोले गर्ने धनजनको क्षति तथा प्रकोप नियन्त्रण गर्न समयमा नै आवश्यक तयारी गर्न सरकारसँग जोडदार माग गर्दछौँ।




