काभ्रेपलान्चोक। नेपाल दलित मुक्ति संगठनका उपमहासचिव नन्दलाल घतानीले दलित समुदायको पेसामाथि हस्तक्षेप हुन थालेकोमा चिन्ता व्यक्त गर्नु भएको छ।
आज काभ्रेमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन विरुद्ध राष्ट्रिय दिवसको अवसरमा भएको विचार गोष्ठीमा बोल्दै उहाँ यस्तो बताउनु भएको हो।
उहाँले सामाजिक ब्यवस्थामा विविध कारणले दलितहरु हेपिनु परेको अबस्थामा पेसा पनि धरापमा पर्न थालेकोले दलित समुदाय झन अबसरबाट बन्चित हुनु परेको प्रष्ट पार्नु भयो। सीप र दक्षताको प्रदर्शन गर्दै आफुलाई समाजमा स्थापित गरिरहेको समुदायलाई जात ब्यवस्थाले अपमानित गरेको उहाँको गुनासो थियो।
यस्तै कार्यक्रममा अर्का उपमहासचिव सुदिरमान सिंह विके खातीले पहिलाका राजा महाराजाले सिर्जना गरेको जात ब्यवस्था हालको २१ औँ सताब्दिमा उचित नभएको बताउनुभयो। उहाँले धार्मिक मान्यता र सामन्ती शासनले लादेको कानुन अहिलेको समाजले स्वीकार नगर्ने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका नेपाल दलित मुक्ति संगठन बागमती प्रदेशका अध्यक्ष मनिष कुमार बर्देवाले गरिबलाई गरिब नभनिदिँदा गरिबी मुक्त नभए जस्तै दलितलाई दलित नभनेर दलित मुक्ति नहुने बताउनुभयो। बर्देवाले सामाजिक विभेद र आर्थिक रुपमा सबल बनाउनु पर्ने धारणा राख्नुभयो।
नेकपा (एकीकृत समाजवादी) काभ्रेक सचिव गोकुल गौतमले कार्यपत्रको सारसंक्षेप प्रस्तुत भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य यसु लामा, नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सचिव श्याम सुनार, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव रायमाझी ,जिल्ला कमिटी उपसचिव हरिगोपाल प्रधानाङ्ग ,जिल्ला सदस्यद्वय राजन प्रसाद पराजुली र रामेश्वर आचार्य, समाजवादी प्रेस संगठन काठमाडौँका अध्यक्ष भीम लामालगायत नेता कार्यकर्ता सहित दलित नेताहरुको उल्लेख्य उपस्थिती रहेको थियो।
