रूपन्देही। नेकपा (एकीकृत समाजवादी) रूपन्देही जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक आज जिल्ला पार्टी कार्यालयमा अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला सह इन्चार्ज भगवती अधिकारी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
बैठकले पार्टी संगठन सुदृढीकरण, विस्तार तथा प्रभावकारी सञ्चालनका लागि कार्यविभाजनलाई मुख्य एजेण्डाका रूपमा अघि सारेको थियो। उक्त बैठकले रूपन्देहीका पाँचवटै संघीय निर्वाचन क्षेत्रमा सह–इन्चार्जहरू तोकेको छ, भने जिल्लाभित्रका सबै स्थानीय तहहरूमा इन्चार्जहरू पनि नियुक्त गरिएको छ। साथै, जिल्ला सचिवालयको गठन, विभिन्न विभाग तथा जनसंगठनहरूको नेतृत्वमा जिम्मेवारी तोकिएको छ।
बैठकमा जिल्ला सदस्यहरूको मनोनयन तथा सपथग्रहण सम्पन्न गरिनुका साथै आर्थिक व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विषयहरूमा पनि विस्तृत छलफल भएको थियो। छलफलपछि सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जिल्ला सचिवालयले जनाएको छ।
बैठकमा पार्टी केन्द्रीय सदस्य बाबुलाल यादव, केन्द्रीय अनुशासन आयोगका सदस्य कृष्ण भुसाल, लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारीलगायत नेताहरूले बैठकबाट जिम्मेवारी प्राप्त गरेका गरेका नेता तथा कार्यकर्ता हरूले पार्टी आन्दोलनका कार्यहरूलाई थप सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
साथै, संगठन निर्माण, परिचालन तथा विस्तारसँगै जनसरोकारका मुद्दामा पार्टीलाई जनतासँग जोड्ने कार्यमा अग्रसर हुनुपर्ने धारणा समेत व्यक्त गरियो। कार्यक्रमको सञ्चालन जिल्ला सचिव कमरेड टंक पोखरेलले गर्नुभएको थियो।