दमक। नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ताप्लेजुङको ११औं अधिवेशनले दुर्गाहाङ सिरेङ चोङबाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।
चोङ्बाङ मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ। युवा नेता चोङबाङको अध्यक्षतामा ४५ सदस्यीय एकीकृत समाजवादी जिल्ला कमिटी ताप्लेजुङ पुनर्गठन गरिएको हो।
सो कमिटीका उपाध्यक्षद्धयमा रामचन्द्र (आरसी) पोमु, देबिमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवत्रयमा बादल गुरुङ, अमर लोहार र गणेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ।
सचिवमा निर्वाचित मोहन न्यौपाने, फुङलिङ नगरपालिका वार्ड नम्बर २ का वडाअध्यक्ष हुनुहुन्छ। जेठ ९ र १० गते ताप्लेजुङ सदरमुकाममा सम्पन्न ११औं जिल्ला अधिवेशनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डले उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा जिल्लाका पुराना र अग्रज बामपन्थी नेताहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दनन् गरिएको थियो।
उद्घाटन समारोहमा पार्टी केन्द्रीय सचिव बलदेब चौधरी, प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्का, पोलिट्व्यूरो सदस्य महेश रेग्मी लगायतका दर्जनौ नेताहरुले नेपालमा कम्युनिष्ट आन्दोलन, कार्यदिशा, गन्तव्य, उदेश्य, सर्घष, एकीकरण र बिद्रोहका बारेमा आ–आफ्ना बिचारहरु व्यक्त गर्नुभएको थियो।