काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनु भएको छ।
जेठ ३ गते मदन आश्रितको निधन भएको ३२ वर्ष पुग्यो। सोही अवसरमा अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताउनु भएको हो। जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको ३२ वर्ष पूरा भएको छ। नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको उक्त दुखद् घटनालाई स्मरण गर्दै जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउन तात्कालिन पार्टीले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई सिंगो कम्युनिष्ट आन्दोलनले गौरवका साथ स्मरण गरिरहने छ।
यसैगरी कुशल सङ्गठक कमरेड जीवराज आश्रितले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरूपको सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।
कमरेड पुष्पलालले कोर्नुभएको नेपाली क्रान्तिको मौलिक रूपरेखालाई उत्तराधिकार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले यसलाई वैज्ञानिक समाजवादको लक्ष्यसम्म पुर्याउने सङ्कल्प लिएको छ। यसै क्रममा नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्ने उद्देश्यले समाजमा भएका शोषण, दमन र निरकुंशतासंग जुधेर लोकतन्त्रका मुल्य मान्यता स्थापित गर्न अहिले हाम्रो पार्टी लागिपरेको छ। जनताले सङ्घर्ष गरेर स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्ने दक्षिणपन्थी अवसरवाद,अहंकारवाद र विसर्जनवादका विरुद्ध हाम्रो संघर्ष जारी छ।
हामी हाम्रो पार्टी संरचना र पार्टी आबद्ध जनसङ्गठनहरूलाई सामाजिक आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्न तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिकआर्थिक प्रश्न, विकास निर्माण तथा उत्पादनसँग जोडिएका विषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउन र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निमार्ण गर्न चाहन्छौँ। हाम्रो पार्टीको सही कदमले नै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नेमा हामी विश्वस्त छौँ। अन्त्यमा, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति पुनःभावपूर्ण श्रद्धाञ्जली।'