काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।
सोमबार एक विज्ञप्ति जारी गदै अध्यक्ष नेपालले बुद्धको प्रेरणादायी उपदेश र मार्ग दर्शनको परिपालना गर्न तथा विश्व शान्तिका लागिसमेत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सम्पुर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु। गौतम बुद्धको जन्म र बुद्धत्व प्राप्तिको संयोग परेको आजको पवित्र दिनमा उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न तथा विश्व शान्तिका लागि समेत सवैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।
आजको दिनले हामीलाई प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै आपसी सद्भाव, सहिष्णुता र प्रगतिको बाटोमा अग्रसर रहन प्रेरित गर्दछ। शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न समेत हामी सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु।
साथै, आजै मनाइने किराँत समुदायको महत्वपूर्ण उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यी दुबै पर्वले हामी सबैमा आपसी सद्भाव, मेलमिलाप, र समृद्धिको भावना बढाओस् भन्ने कामना गर्दै, फेरी एकपटक बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना।