बिर्तामोड। नेकपा (एकीकृत समाजवादी), झापाको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा नरेश खरेलसहित १० जना पुराना बामपन्थी नेताहरूलाई सम्मानि गरिएको छ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेता खरेलसहित इन्द्रबहादुर बुढाथोकी, नारायण सिह राजबंशी, जनार्दन उप्रेती, देवी बराल, पुन्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रूचाल र पुन्य नेपाललाई समारोहमा सम्मान गर्नुभएको हो।
लामो समय एमालेको केन्द्रीय नेतृत्व तहमा बसेर काम गरिसकेका खरेल सत्र वर्ष लामो बन्दी जीवन बिताईसकेका झापाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन्।
सम्मान ग्रहणपछि समारोहमा नेता खरेलले नेपाली कम्युनिस्ट आन्दोलनको मोडालिटी कमजोर बन्दै गएको चिन्ता व्यक्त गर्नुभयो। नेता खरेलले जिन्दगीको उर्वर समय बामप्रन्थी आन्दोलनमै समर्पण गरेको कथन गर्नुहुदै नेपालको समाजवाद आन्दोलनलाई नेतृत्व गर्ने हिम्मत अझै रहेको बताउनुभयो।
शनिबार बिर्तामोड स्थित इन्द्रेणी ब्याङकेटमा सुरु भएको अधिवेशन आइतबार सम्पन्न हुनेछ। अधिवेशनको उदघाटन समारोहमा सम्मानित नेतासहित उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव राजेन्द्र राई, सचिव बलदेव चौधरी, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, एकीकृत समाजवादी झापाका इन्चार्ज पुष्पराज पोख्रेल, पोलिटब्युरो सदस्य अशेष घिमिरे, महेश रेग्मी, दुर्गा परिवारलगायतले सम्बोधन गर्नुभएको थियो।
जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा उद्घाटन गरिएको अधिवेशनमा उपाध्यक्ष प्रत्युस रानाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सचिव बिपि भट्टराई र तीर्थ सिग्देलले सञ्चालन गर्नुभएको थियो। अधिवेशनमा ४ सय बढी प्रतिनिधिहरु सहभागी छन्। आईतबार बन्द सत्रले आगामी नेतृत्व चयन गर्नेछ।

