काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामवन्थी नेता प्रदिप नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
नर्भिक अस्पतालमा मंगलबार दिउँसो निधन भएका नेता नेपालको अन्त्येष्टि उहाँले मृत्युअघि लेखेको इच्छापत्र बमोजिम गरिएको थियो। उहाँ पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो।
प्रदिप नेपालको निधनपछि अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत स्मरण गर्दै लेख्नुभएको छ, ‘टुक्रा टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो संघर्षका क्रममा अत्यन्तै निकट रहेर गरेका सहकार्यका अनेकौँ पहलहरू मानसपटलमा छचल्किरहेका छन्।’
साथै अध्यक्ष नेपालले प्रदिप नेपाल बहुआयामिक नेता भएकोतर्फ संकेत गर्दै अगाडि लेख्नुभएको छ, ‘यहॅाको बौद्धिकता, लेखन, तिक्ष्णता र संगठनकलाका अनेकौँ योगदानहरूले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएको छ। हामी तपाईंलाई उच्च सम्मानसहित सदैव सम्झिरहने छौँ।’
बुधबार एक विज्ञप्ति जारी गरेर अध्यक्ष नेपालले नेपालको निधनले सिंगो पार्टी स्तब्ध भएको बताउनु भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य, पूर्वमन्त्री, लेखक तथा वामपन्थी नेता कमरेड प्रदिप नेपालको मिति २०८२ बैशाख २३ गते दुःखद् निधन भएकोमा सिंगो पार्टी स्तब्ध भएको छ। सबै भन्दा पहिले कमरेड प्रदिप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका उहाँकी धर्मपत्नी झुमा देवान नेपाल र छोरी डा.समिक्षा नेपालसहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।
कमरेड प्रदिप नेपाल २०२६ सालमा विद्यार्थी राजनीतिमा संलग्न हुँदै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील हुनुभयो। कमरेड प्रदिप नेपालले छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै पार्टीका विविध जिम्मेवारीहरुलाई कुशलताका साथ पुरा गर्नु भएको थियो। साहित्यकारका रूपमा विभिन्न कृति प्रकाशित गर्दै लेखकका रूपमासमेत पहिचान बनाउनुभएका कमरेड प्रदिपले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएको छ। कमरेड प्रदिप वि.स. २०५१ सालको ९ महिने सरकारमा सूचना तथा सञ्चार मन्त्री, वि.स. २०५५ सालमा जलस्रोत र स्वास्थ्य मन्त्री र २०६३ सालमा शिक्षा मन्त्रीसमेत हुनुभएको थियो। पार्टी नेता र लेखकको रूपमा उहाँले टुक्रा टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो संघर्षका क्रममा अत्यन्तै निकट रहेर गरेका सहकार्यका अनेकौ पहलहरू मानसपटलमा छचल्किरहेका छन्। समाज विकास र रुपान्तरणमा गर्नु भएको योगदानलाई हामी उच्च सम्मान सहित स्मरण गरिरहने छौँ।
कमरेड प्रदिप नेपालको निधनबाट हाम्रो पार्टी र नेपालको कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ। उहाँको समाजवादको लक्ष्य एवं समाज रूपान्तरण तथा परिवर्तनको चाहनालाई पुरा गर्न थप प्रतिवद्ध रहनु नै उहाँप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ। हामी उहाँको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पुरा गर्न र समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउन प्रतिवद्ध छौँ।’