काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), विदेश विभाग सचिव डा.शंकर खतिवडाले विश्व बहुध्रवीय शक्ति संघर्षमा तीव्र रूपले अगाडि बढिरहेको बताउनु भएको छ।
‘आइक्याप’ को १२औँ महासभामा पार्टीको तर्फबाट सम्बोधन गर्दै डा.खतिवडाले उक्त कुरा बताउनु भएको हो। यहि मंसिर ८ गते डा.खतिवडाले महासभाको तेस्रो प्लेनरी सत्रमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभएको थियो।
उक्त सम्बोधनमा डा. खचिवडाले वर्तमान विश्वव्यापी अस्थिरताका कारण शान्ति र मेलमिलाप संकटमा परेको उल्लेख गर्नुभएको थियो। उहाँले नयाँ वहुध्रुवीय विश्व व्यवस्थाको उदय र पश्चिमाहरूको आक्रामक प्रतिरोधले विश्वव्यापी अस्थिरता निम्त्याएको र जलवायु परिवर्तनले नेपालजस्ता देशहरूलाई गम्भीर खतरा पुर्याएको कुरा सभामा उल्लेख गर्नुभएको थियो।
बहुपक्षीय संवाद र कूटनीतिक पहल कदमीमार्फत शान्ति र मेलमिलापको वातावरण सिर्जना गर्नुपर्नेमा डा.खतिवडाले जोड दिनुभयो। महासभामा डा.खतिवडाले कोम्बोडियाका प्रधामन्त्री हुन मानेटलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। डा.खतिवडाले गर्नुभको सम्बोधनको पूर्णपाठ यस प्रकार छ:
सम्माननीय आइक्याप अध्यक्षज्यू,
प्लेनरिसत्रका अध्यक्ष ज्यू,
विशिष्ट प्रतिनिधि ज्यूहरू,
महिला तथा सज्जनवृन्द,
शान्तिको प्रतीक गौतम बुद्धको देश नेपालको तर्फबाट हार्दिक अभिवादन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट, म यस महत्वपूर्ण महासभा आयोजना गरेकोमा अन्तर्राष्ट्रिय एशियाली राजनीतिक दलहरूको सम्मेलन (आइक्याप) प्रति हार्दिक आभार व्यक्त गर्दछु। क्याम्बोडियन पीपुल्स पार्टी (सीपिपि) का अध्यक्ष तथा १२औं आइक्याप महासभाका मानार्थ अध्यक्ष महामहिम हुन सेन, सीपिपिका उपाध्यक्ष तथा क्याम्बोडियाका प्रधानमन्त्री महामहिम हुन मानेट, र १२औं आइक्याप महासभाका अध्यक्ष महामहिम पार्क सोखोनलाई स्थानिय आयोजकको रुपमा यस ऐतिहासिक शहर नोमपेनमा यहाँहरुले गर्नुभएको भव्य आतिथ्यका लागि विशेष आभार व्यक्त गर्दछु।
यस प्लेनरि सत्रका अध्यक्षज्यू,
शान्ति र मेलमिलाप सधैं मानव विकास, प्रगति र समृद्धिको केन्द्रमा रहेका हुन्छन्। शान्ति र मेलमिलाप आधुनिकीकरण र सामूहिक विकासको आधारसमेत हुन्। यद्यपि, आज हामीले आफैंलाई प्रश्न गर्नुपर्ने भएको छस् के हामी आज साँच्चै विश्व शान्ति र मेलमिलापतर्फ अघि बढिरहेका छौँ त? दुर्भाग्यवश, हामि त्यसतर्फ अघि बढिरहेका छैनौं। भू-राजनीतिक द्वन्द्व, आर्थिक असमानता, वातावरणीय क्षयिकरण र सांस्कृतिक विभाजनले आज गम्भीर खालका विश्वव्यापी अस्थिरताहरु सिर्जना गरेका छन्।
महिला तथा सज्जनवृन्द,
आजको यो अस्थिरतायुक्त विश्वमा दुई समानान्तर घटनाहरू एकसाथ घटिरहेका छन् । एकातिर, दोस्रो विश्वयुद्धपछि पश्चिमा शक्तिहरूको नियन्त्रणमा स्थापित विश्व व्यवस्था, जसमा अमेरिका र यसका सहयोगीहरूको प्रभुत्वमा स्थापित एकध्रुवीय विश्व व्यवस्था धेरै हिसाबले कमजोर हुदैछ भने अर्कोतर्फ, नयाँ र समावेशी बहुध्रुवीय विश्व व्यवस्थाको उदय हुँदैछ । ग्लोबल साउथको उदय, ब्रिक्सको विस्तार, एशियाको तीव्र विकास र बहुपक्षीयतामा आधारित व्यवस्थाको सुरुवात नयाँ विश्व व्यवस्थाका लागि आशालाग्दा घटनाहरू हुन् । यद्यपि, नयाँ विश्व व्यवस्थाको उदयले पश्चिमा शक्तिहरू थप आक्रामक बनेका छन् र जुन कुनै हतकण्डा अपनाएर पनि आफ्नो पुरानो प्रभुत्व कायम राख्न चाहन्छन् । तसर्थ, पश्चिमा शक्तिहरूले विद्यमान विश्व व्यवस्थामा आएको यो परिवर्तनलाई आक्रामक ढङ्गले प्रतिरोध गरिरहेका छन् । जुन प्रतिशोधपूर्ण आक्रमकताहरू विभिन्न क्षेत्रहरूमा युद्धको रूपमा प्रकट भइरहेको हामिले देखिरहेका छौं । तसर्थ, उदाउँदो बहुध्रुवीय विश्व व्यवस्थाका विरुद्ध पश्चिमाहरूले गरेको प्रतिरोधपूर्ण आक्रमणहरू नै आजको विश्वको समस्याहरुको मुल कारण हो । जसले गर्दा भू(राजनीतिक चासो, शक्ति संघर्ष, अर्को मुलुकको सार्वभौमिकतामा हस्तक्षेप, सैन्य गठबन्धन जस्ता विश्वव्यापी अस्थिरताहरू आजको विश्व समुदायले भोगिरहेको छ । यिनै अस्थिरताका कारणले गर्दा आज समग्र विश्वमा कहालीलाग्दा मानवीय संकटहरु निम्तिएको छन् र मानव सभ्यताको विकासका आधारहरू शान्ति र मेलमिलाप संकटमा परेको छ ।
विशिष्ट प्रतिनिधिहरू,
विश्वव्यापी सङ्कटको यस घडिमा अधिक सन्तुलित र समावेशी बहुध्रुवीय विश्व व्यवस्था अनिवार्य छ। हामीले आपसी सहयोग, सहअस्तित्व, सहकार्य, आपसी सम्मान र साझा समृद्धिलाई प्रवर्द्धन गर्नुपर्छ। बहुपक्षीयता र विश्वव्यापी शासन व्यवस्थालाई सुदृढ पार्न, अविकसित राष्ट्रहरूमा निष्पक्ष व्यापार र लगानी मार्फत आर्थिक सहयोगलाई प्रोत्साहन गर्न, र आर्थिक असमानतालाई कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। यसले मात्र शान्ति र मेलमिलापको वातावरण सिर्जना गर्न सक्छ।
यसका अतिरिक्त आज पर्यावरणीय चुनौती झन् भयावह संकटको रुपमा देखा परिरहेको छ । विकसित मुलुकहरुले लापरवाहीपूर्ण ढंगले ग्रीनहाउस ग्यास उत्सर्जन गर्दा जलवायु परिवर्तनलाई तीव्र बनाएको छ । जसले गर्दा नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूलाई गम्भीर खतरा पुर्याएको छ । नेपालको लागि, जलवायु परिवर्तन केवल वातावरणीय मुद्दा होइन। यो जलवायु आतंकवाद हो । हाम्रा हिमालहरू पग्लिरहेका छन्, पारिस्थितिकी प्रणालीहरू जोखिममा छन् र अप्रत्यासित विपदहरू वर्षेनी बढ्दै गइरहेका छन् । ग्रीनहाउस ग्याँसको उत्सर्जनमा न्यूनतम योगदान दिएर पनि, हामी यी विनाशकारी प्रभावहरूको मारमा परिरहेका छौँ। यो गम्भीर अन्याय हो। यो अन्यायलाई तुरुन्त सम्बोधन गर्नुपर्छ । म समग्र नेपालीको तर्फबाट यस सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण राजनीतिक दलहरु र राजनीतिक दलका जिम्मेवार नेताहरुलाई यस गम्भीर अन्यायको बारेमा ध्यानाकर्षण गराउन चाहन्छु।
जलवायु परिवर्तनलाई सम्बोधन गर्न हामीले अन्तर्राष्ट्रिय सहयोग मार्फत वातावरणीय संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्छ । यसमा ग्रीन हाउस ग्यासको उत्पादन कम गर्नका लागि नवीकरणीय ऊर्जाको प्रयोग, दिगो कृषिको अवधारणाको विकास, कार्बन मूल्यको यथोचित वितरण र जलवायु मैत्री पूर्वाधारमा लगानी जस्ता अत्यावश्यक कदमहरू तत्काल चालिनुपर्छ । यसका लागि विकसित मुलुकहरू थप जिम्मेवार बन्नुपर्छ ।
अन्त्यमा,
आज विश्वले भोगिरहेको मानवीय तथा प्राकृतिक संकटहरू समाधान गर्नको लागि अर्थपूर्ण बहुपक्षीय संवाद मार्फत कूटनीतिक पहल कदमी आवश्यक छ । सम्मानजनक बहुपक्षीय संवाद मात्र यी वर्तमान विश्वव्यापी मुद्दाहरू समाधान गर्ने उपयुक्त मार्ग हो। तसर्थ, यस १२औं आइक्यापको महासभाको मुख्य विषयवस्तु शान्ति र मेलमिलापको खोजू भन्ने विषय वर्तमान विश्वव्यापी सन्दर्भमा एकदमै सान्दर्भिक हुन आएको छ। आइक्यापले आजका यी ज्वलन्त विश्वव्यापी समस्याहरूलाई समाधान गर्न, क्षेत्रीय र वैश्विक शान्ति कायम गर्न विशेष भूमिका खेल्न खेल्नुपर्छ।
यस प्लेनरि सत्रका अध्यक्षज्यू,
म यस महासभाको भव्य सफलताको लागि शुभकामना व्यक्त गर्दछु। यो महासभाले विभिन्न पार्टीका नेताहरू र राजनीतिक दलहरू बीचको आपसि सहयोग र सहकार्यलाई थप सुदृढ बनाओस्। हामि सबैका लागि उज्जवल र थप न्यायपूर्ण भविष्यको मार्ग प्रशस्त गर्ने कुराको पहलकदमी गरोस्। शुभकामना ।
धन्यवाद ।