काठमाडौं। सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पुग्न नेपालले छनोट खेल्न पर्नेछ।
टी–२० विश्वकपमा सुपर– ८ र टी–२० वरीयताका आधारमा सिधै विश्वकपमा छनोट नभएपछि नेपालले एसिया क्षेत्रको छनोट खेल्नुपर्नेछ। यो खेलको आयोजक देश र मिति भने तय भएको छैन।
गत वर्ष यो प्रतियोगिता नेपालले आयोजना गरेको थियो। सन् २०२२ को एसिया छनोट ओमानमा भएको थियो । त्यसैले २०२५ को एसिया क्षेत्र छनोट फाइनल यूएईमा हुने सम्भावना छ।
एसिया क्षेत्र छनोट फाइनलमा कुल ६ टोली हुनेछन्। नेपाल र ओमान टी–२० विश्वकप २०२४ खेलेको हुँदा सोझै छनोट भएका छन् । बाँकी चार टोली एसिया क्वालिफायर ए र बी बाट आउनेछन्।
आगामी अगष्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुने एसिया छनोट ए मा आयोजक मलेसिया, हङकङ, कुवेत, माल्दिभ्स, मंगोलिया, म्यानमार र सिंगापुर छन् । राउण्ड रोविनको आधारमा हुने यस प्रतियोगिता शीर्ष दुई टोली एसिया क्षेत्र छनोट फाइनलमा पुग्नेछन्।
आईसीसी टी–२० विश्वकप एसिया छनोट बीमा युएई, बहराइन, कतार, साउदी अरेबिया, थाइल्यान्ड, भुटान र चीन छन् । छनोट बी कहाँ र कहिले हुने टुङ्गो लागेको छैन । राउण्ड रोविनको खेलपछि शीर्ष दुई टोली एसिया क्षेत्र फाइनलमा पुग्नेछन् ।
एसिया क्षेत्र छनोट फाइनलमा नेपाल, ओमान, छनोट ए र बी का शीर्ष दुई दुई गरी कुल ६ टोली हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ।
समूह चरण, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले टी–२० विश्वकप २०२६ खेल्न पाउनेछन् । टी–२० विश्वकप २०२६ को लागि १२ टोली सोझै छनोट भएका छन् । ८ टोली विभिन्न क्षेत्रीय छनोट खेलेर आउनेछन् ।
२०२६ को टी–२० विश्वकपमा सोझै छनोट भएका टोलीहरु :
भारत र श्रीलंका (आयोजक)
अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्टइण्डिज (टी–२० विश्वकप २०२४ को शीर्ष ७ मा)
आयरल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तान (२०२४, जुन ३० सम्म टी–२० आई वरियतामा माथि रहँदै)
बाँकी क्षेत्रीय छनोटबाट आउने टोलीहरु :
युरोप छनोटबाट : २
इस्ट एसिया प्यासिफिक छनोटबाट : १
एसिया छनोटबाट : २
अमेरिका छनोटबाट : १
अफ्रिका छनोटबाट : २
साभार: अनलाइनखबर