धनगढी। सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी गरिएको छ । हाल सरकारमा सहभागी नभएको सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रलाई सहभागी गराउँदै मन्त्रीमण्डल विस्तारको तयारी गरिएको हो ।
एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले आज नै मन्त्री मण्डल पूर्णता दिने गरी छलफल अगाडि बढेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै आज अन्तिम टुङ्गो लागे पनि उपनेता रावलको भनाई छ ।
उनका अनुसार एमाले र माओवादीबाट मन्त्री हुनेको नाम पनि टुङ्गो लागिसकेको छ । माओवादीबाट अक्कल रावल, ओमविक्रम भाट, र लक्ष्मी विकको नाम सिफारिस गरिएको हो ।
त्यस्तै एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस गरिएको उपनेता रावलले बताए । तर अर्थ मन्त्रालयमा माओवादी र एमाले दुवैले दाबी गरेपछि कुरो मिल्न नसकेको उनको भनाइ छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर भए पनि मन्त्रीमण्डल विस्तारको तयारीमा लागेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी गरिएको छ ।
यहाँको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालय बनाउने, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग, पर्यटन मन्त्रालय बनाउने तयारी गरेको छ ।
त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरी मस्यौदा बनेको स्रोतको दाबी छ ।