काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विश्व कपमा सहभागि नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिनु भएको छ।
नेपालले आज टि-२० विश्वकप क्रिकेटमा पहिलो खेल नेदरल्यान्ड्सविरूद्ध खेल्दैछ। महासचिव भुसालले सामाजिक सञ्जाल फेशबुकमार्फत जितका निम्ति हार्दिक शुभकामना दिनुभएको हो।
मंगलबार राती ९:१५ बजे सुरू हुने खेल नेपालका लागि निक्कै महत्वपूर्ण हुने कप्तान रोहीत पौडेलले बताउनु भएको छ। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबीच खेलहुँदैछ। नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१:१५ बजे सुरू हुनेछ।
नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन्। जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन्। उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन्।
समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो। यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो। सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि नेदरल्यान्ड्स परिचित प्रतिद्वन्द्वी हो। नेपालले यसअघि पनि नेदरल्यान्ड्ससँग थुप्रै प्रतियोगिता खेलिसकेको छ।
नेपालको दोस्रो सहभागिता
आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।