धेरै समय भएकै छैन । म सम्झिन्छु । एक सरल, निर्भिक, निःस्वार्थ व्यक्तित्व ! पार्टी र क्रान्तिप्रति सधैँ चिन्तित र दृढ व्यक्तित्व !! हरदम देश, जनता, क्रान्ति र पार्टीको बारेमा सोचिरहने त्यो उज्यालो, फुर्तिलो र आत्मविश्वासले युक्त व्यक्तित्व ! कमरेड पशुपति चौलागाईंको माक्र्सवादी क्रान्तिकारी व्यक्तित्व ! मेरो मानसपटलमा सधैं रिलझैँ घुमिरहन्छ ! केहि हप्ता अघि मात्र वहाँ मेरो निवासमा आउनु भएको थियो । म भुईतलामै थिए । अरू पनि धेरै साथीहरू हुनुहुन्थ्यो । वहाहरूसँगका कुराकानी छोट्याएर हामी दुई जना मेरो घरको माथिल्लो तलामा गयौँ र कुराकानी गर्न थाल्यौँ। त्यसबेला नेकपा (एमाले) भित्र गम्भीर समस्याहरू प्रकट भएका थिए । कमरेड केपी ओलीले तत्कालिन संसदको विघठन गरेपछि राष्ट्रिय राजनीति नै उथलपुथल बन्न पुगेको थियो । देशमा प्रतिगमन विरोधी आन्दोलन विकसित भइरहेको थियो र स्वयं हाम्रो पार्टीभित्र संसद विघटनविरुद्ध पार्टीव्यापी रूपमा असन्तोष र विरोधको लहर चलिरहेको थियो । यी विषयहरूमा हामीले लामो कुरा ग¥र्यौं । ओली कमरेडको संसद विघटनले अब पार्टीमा विभाजन ल्याउन सक्ने, नेपालको कम्युनिष्ट आन्दोलनमा नै विभाजन ल्याउन सक्ने, कम्युनिष्ट आन्दोलन अधोगतितिर जान सक्ने र कमजोर भइसकेका दक्षिणपन्थीहरूले टाउको उठाउने सम्भावनाका बारेमा हामीले विस्तृत छलफल ग¥र्यौ । पार्टीको एकतामा आँच आउने खतराको बारेमा हामीले गहिरो चिन्ता प्रकट ग¥यौँ । यो दक्षिणपन्थी भड्काउ हो । यो भड्काउबाट कसरी पार्टी बचाउन सकिन्छ भन्ने कुरामा वहाँपनि धेरै नै चिन्तित हुनुहुन्थ्यो ।
त्यसबेला म आफै पनि त्यति स्वास्थ्य थिइन । देश कोभिड-१९ को डरलाग्दो प्रकोपबाट गुज्रिरहेको थियो । के पूर्व के पश्चिम के पहाड के मधेस मानिसहरू कोभिडको प्रकोपमा पर्दै गइरहेका थिए । सामान्य रूपमा भेटघाट गर्न पनि डरलाग्दो बन्दै गइरहेको थियो । हरेक दिन मानिसहरूको मृत्युका खबर आउन थालेका थिए । जनता आक्रान्त र आतङ्कित पनि थिए । सरकारले जनतालाई यथोचित उपचार पु¥र्याउन सकेको थिएन । त्यस्तो बेलामा संसद विघटन गरेर निर्वाचन गराउन खोज्नु एउटा दुस्साहसिक कार्य थियो । चुनाव घोषणा गर्ने, तर चुनाव गराउन नसक्ने कुराले संविधान नै असफल बनाउन सक्ने सम्भावनाहरू पनि त्यति कै टट्कारो थियो । हामीहरू जो कोही जुनसुकै बेलामा कोभिडको मारमा पर्न सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना पनि पलपलमा हाम्रा सामु थियो । यस्तै अवस्थामा कमरेड पशुपति चौलागाईं मसँग कुरा गरेर बिदा हुनुभयो ।
त्यसको केही हप्तापछिको कुरा हो मलाई पनि कोभिडले समात्यो । एक्कासी श्वासप्रश्वासमा गम्भीर समस्या उत्पन्न भयो । म नर्भिक अस्पतालमा भर्ना भए । केही दिनपछि अलि कम जस्तो भयो । त्यसपछि म घरैमा बसेर उपचार गराइरहेको थिएँ । अक्सिजन सिलिन्डर बिना श्वासप्रश्वास गर्न गाह्रो थियो । कोभिडको प्रकोप कम हुनको सट्टा झन् झन् व्यापक र डरलाग्दो बनिरहेको थियो । हामी २०७८ सालमा प्रवेश गरिसकेका थियौं । हामीले त्यसपटक नयाँ वर्ष पनि राम्ररी मनाउन पाएनौं । वैशाखको दोस्रो र तेस्रो हप्ता कोभिड देशभरी व्यापक रूपले फैलिएको समाचार आयो । हाम्रो समर्थक र सुभेच्छुकहरू पनि ठूलो संख्यामा बिरामी भएको र हस्पिटल भर्ना भएका समाचारहरू आइरहेका थिए । ठीक त्यहि बेलामा २०७८ वैशाख २१ गते हाम्रो पार्टीका तत्कालिन पोलिटब्युरोको सदस्य तथा बागमती प्रदेशका सदस्य कमरेड पशुपति चौलागाईं मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएको समाचार आयो । म डल्लु निवासमा थिए । म आफै अक्सिजन सिलिन्डर लगाएर बसेको छु । म कहि हिँड्न सक्ने अवस्थामा थिइन । मैले टेलिफोनमा कुरा गर्न खोजे लागेन । म दुःखित भए । कस्तो प्रतिकूल परिस्थिति ! कमरेड बिरामी भएर अस्पतालमा भर्ना हुनु भएको छ, तर हेर्न देख्न जान पाइँदैन, जान सकिँदैन । मैले पशुपति कमरेडलाई सहयोग गर्न अनेकौं साथीहरुलाई टेलिफोन गरे । मनमोहन हस्पिटलका डाक्टरहरुलाई फोन गरे । वहाँहरुले “स्थिति अलिक जटिल छ हामी कोसिस गरिरहेका छौं ।” भन्नुभयो । मैले आफ्नो जस्तै स्वासप्रश्वास कठिन भइरहेको होला, वहाँ म भन्दा जवान हुनुहुन्छ, पक्कै प्रतिरोध गर्न सक्नुहोला भनि ठाने ।
तर, २०७८ वैशाख २९ गतेको दुर्भाग्यपूर्ण दिन आइपुग्यो । अघिल्लो राति नै हाम्रो प्रिय कमरेड÷योद्धा कमरेड पशुपति चौलागार्इंको दुःखद निधन भइसकेछ । कोभिड-१९ ले प्रिय युवा नेताको जीवनलीला समाप्त पारिसकेछ । मिडियाभरी वहाँको दुःखद निधनको समाचार छ्यापछ्याप्ती भयो । श्रद्धाञ्जलीका वेदनामय समचारहरू छापिन थाले । मोबाइल त्यस्तै समाचारले भरिन थाले । मलाई खपि नसक्नु पीडा भयो । एउटा होनहार र योग्य युवा नेतालाई असामयिक ढङ्गले गुमाउनुप¥यो । त्यसभन्दा पनि ठूलो दुःख त्यस दुःखद घडीमा अस्पतालमा पनि जान सकिएन, वहाँको अन्त्येष्टीमा सहभागी सम्म पनि बन्न सकिएन र पार्टी झण्डा ओडाएर अन्तिम विदाई गर्नसम्म पनि प्रत्यक्ष रूपमा पाइएन । मलाई त्यो दुःखद घटना सम्झिदा अहिले पनि मनभित्र असाध्यै गहिरो समवेदना प्रकट भएर आउँछ । यसरी हाम्रो पार्टीका पोलिटब्युरो सदस्य, बागमती प्रदेशका तत्कालीन सदस्य, पार्टीको बागमती प्रदेशका इन्चार्ज, जुजारू युवा नेता, लोकप्रिय जनप्रतिनीधि, पार्टीका कुशल संगठनकर्ता र अत्यन्त मिलनसार नेता कमरेड पशुपति चौलागाईंको अत्यन्त दुःखद ढङ्गले निधन हुनपुग्यो । म वहाँप्रति यो लेख मार्फत पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र वहाँका श्रीमती, छोरीहरु र छोराप्रति गहिरो समवेदना पनि प्रकट गर्दछु । वहाँको निधनमा पार्टीले तीन दिन झण्डा झुकायो । देशभरि श्रद्धाञ्जली सभाहरु गरियो ।
जुन दिन वहाँको निधन भएको थियो, त्यस दिन बागमती प्रदेशमा मात्र पनि ३४ जनाको मृत्यु भएको थियो । बागमती प्रदेशको सामाजिक मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले दिएको जानकारी अनुसार त्यस दिनसम्म बागमती प्रदेशमा मात्र पनि मर्नेहरूको संख्या १६५३ पुगिसकेको थियो र कोभिडले समाजमा बिरामीहरूको संख्या यहि प्रदेशमा मात्र पनि ५३,३७५ पुगिसकेको थियो । त्यस्तो भयानक महामारीको प्रकोपमा सिंगो देश र बागमती प्रदेश पनि परिसकेको थियो । सिंगो विश्व नै कोभिडको महामारीबाट आक्रान्त बनेको थियो । त्यस्तो प्रकोपको बीचमा हामीले वहाँलाई गुमाउनु प¥यो । वहाँको निधन हाम्रो पार्टीको निम्ति, नेपालको कम्युनिष्ट आन्दोलनका निम्ति, बागमती प्रदेश र दोलखाको कम्युनिष्ट आन्दोलन तथा विकासका निम्ति एउटा अपुरणीय क्षति हो ।
कमरेड पशुपति चौलागाई फागुन ५ गते २०२० सालमा दोलखाको काभ्रे गाउँमा बुबा चन्द्रप्रसाद चौलागाई र माता भक्तमाया चौलागाईको कोखबाट जन्मनु भएको थियो । वहाँको प्राथमिक शिक्षा आफ्नै गाउँमा भएको थियो । १० कक्षासम्मको शिक्षा वैतेश्वर मा.वि.बाट प्राप्त गर्नुभएको थियो । वँहा १६ बर्षको हुँदा वैतेश्वर मा.बि मा स्वबियुको सभापति भइसक्नु भएको थियो । किशोर अवस्था देखि नै वहाँ प्रगतिशील राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । वहाँले २०३८ सालमा कम्युनिष्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गर्नुभएको थियो । वहाँले ०४२–०४४ सालतिर सानोठिमी क्याम्पसमा पढ्दा त्यहाँको स्ववियुको पनि सभापति भएर युवा विद्यार्थीहरूलाई अगुवाई गर्ने काम गर्नुभयो । त्यसरी नै अनेरास्ववियुको २०३७ मा भएको आठौं राष्ट्रिय सम्मेलनबाट वहाँ केन्द्रीय कमिटीमा निर्वाचित हुनुभयो र विद्यार्थी आन्दोलनको एउटा प्रखर युवा नेताको रूपमा योगदान गर्नुभयो ।
त्यसपछि भने वहाँ पूर्णरूपले पार्टी काममा लाग्नुभयो । २०३७ सालदेखि नै वहाँ दोलखा जिल्ला कमिटीको सदस्य बन्नुभयो । २०४७ सालमा वहाँ २७ वर्षको हुनुभएको बेला दोलखा जिल्ला कमिटीको सचिव निर्वाचित हुनुभयो । वहाँ बागमती अञ्चल कमिटीको सदस्य बन्नुभयो र ०५१ मा आइपुग्दा वहाँ प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बन्नुभयो । पार्टीको सातौं राष्ट्रिय महाअधिवेशनमा वैकल्पिक र आठौंमा पूर्ण केन्द्रीय कमिटीको सदस्य बन्नुभयो । वँहा दुई पटक संसदको सदस्य निर्वाचित हुनुभयो । अन्त्यमा वहाँ २०७४ को चुनावमा बागमती प्रदेश सभाको सदस्यमा निर्वाचित भएर एउटा कुशल सभासदको रुपमा कृयाशील हुनुहुन्थ्यो । आखिर ५८ वर्षको युवा उमेरमा वहाँको अत्यन्त दुःखद निधन हुन पुग्यो । वहाँको जीवनबाट हामीले निम्न कुराहरूमा सधैं शिक्षा र प्रेरणा लिइरहनुपर्छ ।
(क) कृयाशीलताः कमरेड पशुपति चौलागाईं अत्यन्त कृयाशील कमरेड हुनुहुन्थ्यो । वँहा कहिल्यै चुप लागेर, अल्छी गरेर वा अनावश्यक काम गरेर बस्नु हुन्नथ्यो । वँहा पार्टीका कार्यदिशा, नीति र सिद्धान्तको कार्यान्वयनका निम्ति निरन्तर लागिरहनु हुन्थ्यो । तिनीहरूलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न लगातार प्रयत्न गरिरहनु हुन्थ्यो, क्रान्तिकारी कामको प्रगतिको समीक्षा गरिरहनुहुन्थ्यो । वहाँले प्रस्तुत गर्ने प्रत्येक रिपोर्टमा पार्टीका प्रचार, संघर्ष र संगठनका काममा भइरहेका अग्रगतिका रिपोर्टहरू हुन्थे । यसरी पार्टीका क्रान्तिकारी काममा कृयाशीलता कमरेड पशुपतिको जीवनको विशेषता थियो ।
(ख) अध्ययनशीलताः कमरेड पशुपति चौलागार्इं बडो अध्ययनशील कमरेड पनि हुनुहुन्थ्यो । वँहा जहिलै सुकै पनि कुनै न कुनै पुस्तक वा विषयको अध्ययनमा लागि रहनुहुन्थ्यो । वँहा के विषयको अध्ययन गर्ने भन्ने बारेमा म सँग पटकपटक छलफल गर्नुहुन्थ्यो । जिज्ञासा राख्नुहुन्थ्यो । एउटा क्रान्तिकारी कमरेडले जे पायो त्यहि अध्ययन गरेर समय बिताउने वा बर्बाद गर्ने कुरा आउँदैन थियो । हामीले जहिले पनि क्रान्तिकारी कामका सामु उपस्थित वैचारिक, राजनीतिक, संगठनात्मक, व्यावहारिक समस्याहरूको समाधानका निम्ति वा ती समस्या समाधान गर्नका निम्ति वा ती समस्या समाधान गर्न अझ उन्नत सैद्धान्तिक समझ विकास गर्नका निम्ति अध्ययन गर्नुपर्छ, क्रान्तिकारी चेतना र अनुभव गहिरो बनाउनका निम्ति अध्ययन गर्नुपर्छ भन्ने कुरामा सचेत हुनुहुन्थ्यो । वँहा आफ्नो कार्य क्षेत्रको अध्ययन, सैद्धान्तिक अध्ययन र साहित्य–संस्कृतिको अध्ययन जस्ता कुरालाई सन्तुलन मिलाएर अध्ययन गर्नुहुन्थ्यो । यसरी योजनाबद्ध अध्ययनशीलता वहाँको अर्को विशेषता थियो ।
(ग) मिलनसारिताः कमरेड पशुपति सबै कमरेडहरूसँग अत्यन्त मिलनसार पनि हुनुहुन्थ्यो । वँहा सबैका कुरा सुन्नुहुन्थ्यो । सबैका भावना, चाहना, आवश्यकता र अनुभवहरू बुझ्न र तद्नुरुप व्यवहार गर्न प्रयत्न गर्नुहुन्थ्यो । जुनसुकै कमरेडहरुले पनि आफै बढी जानेको जस्तो गरेर अर्ति र उपदेश छाट्नु हुँदैन । पहिले कार्यकर्ताका कुरा सुन्नुपर्छ । ती कुरा सुनेपछि तिनीहरूकै बारेमा विश्लेषण र संश्लेषण गरेर कार्यकर्ताहरुको चेतना स्तरलाई उन्नत बनाउनुपर्छ । वहाँमा यो कार्यतरिका निकै बलियो थियो । त्यसैले वँहा आम कार्यकर्ताहरूसँग धेरै घनिष्ठ हुनुहुन्थ्यो । मिलनसार हुनुहुन्थ्यो। सबैले वहाँलाई माया गर्थे,सम्मान गर्थे र वहाँसँग काम गर्न रुचाउँथे । वहाँको सम्बन्ध नेतृत्वसँग पनि त्यस्तै घनिष्ठ थियो । वहाँले नेताहरूलाई चाकडी गरेको कहिल्यै थाहा पाइन मैले । तर सबै सँग वहाँको आत्मीय सम्बन्ध थियो । यो वहाँको जीवनको अर्को विशेषता थियो ।
(घ) जनतासँग घनिष्ठ सम्बन्धः कमरेड पशुपतिको कार्यकर्ता र आम जनतासँग त्यति कै घनिष्ठ सम्बन्ध थियो । कतिपय कार्यकर्ताहरु आम कार्यकर्ता र जनतासँग गहिरो सम्बन्ध राख्न चाहँदैनन् । उनीहरूका दुख सुखको अध्ययन गदैनन । तर, क.पशुपतिसँग आफ्नो पंक्तिका कार्यकर्तासँग मात्र होइन, आम जन पंक्तिसँग पनि बढो घनिष्ठ सम्बन्ध थियो । उनीहरूले प्रस्तुत गर्ने एक वा अर्का स–साना समस्याहरू समाधान गर्न पनि लागिरहनुहुन्थ्यो । त्यसले गर्दा वहाँको जनतासँग गहिरो र घनिष्ठ सम्बन्ध थियो । एउटा कम्युनिष्टको आम जनतासँग पानी र माछाको जस्तै सम्बन्ध हुनुपर्छ । यो भनाइ वहाँको जीवनमा चरितार्थ भएको लाग्थ्यो । हामी कुनै पनि कम्युनिष्टले गफगर्ने र कुरा काट्ने शैलीलाई हटाउनुपर्छ । तर, कार्यकर्ता र जनतासँग अत्यन्त घनिष्ट सम्बन्ध राख्न हरदम कोशिस गरिरहनुपर्छ । तब मात्र जनताबाट सिक्ने र जनतालाई नै सिकाउने माक्र्सवादी शैलिलाई पालना गर्न सकिन्छ । कमरेड पशुपतिको जीवनको यो अर्को विशेषता थियो ।
(ङ) नियमित रिपोर्ट दिनेः कमरेड पशुपति आफ्नो कार्यक्षेत्रमा भइरहेका कामहरूको बारेमा नियमित रूपले नेतृत्वलाई रिपोर्ट दिइरहनु हुन्थ्यो । पार्टीमा तलबाटमाथि रिपोर्ट दिने प्रक्रिया एउटा अविराम प्रक्रिया हो । हामी अनेकौं कार्य क्षेत्रमा काम गरिरहेका हुन्छौं । काममा प्रगति वा कहिले काहीँ अधोगति पनि भइरहेको हुन्छ । ती कुराहरूको नियमित विश्लेषण र संश्लेषण भइरह्यो भने मात्र अझ उन्नत स्तरमा प्रगति हुन्छ । नेतृत्वलाई रिपोर्टिङ गर्ने भनेको आफ्नो कार्यक्षेत्रमा भइरहेको कामको प्रगति विवरण तयार गर्ने र तिनीहरूको विश्लेषण र संश्लेषण गर्ने कुरा पनि हो । त्यस प्रक्रियाले भइरहेका प्रगतिहरूलाई दस्तावेजीकरण वा अभिलेखिकरण पनि गर्छ । यो कुराका बारेमा पनि कमरेड पशुपति बढो सिपालु हुनुहुन्थ्यो । आफ्नो कार्यक्षेत्रको प्रगति विवरण नियमित रूपले प्रस्तुत गर्ने कमरेडका रूपमा पार्टी केन्द्रीय कमिटीमा पनि वँहा अग्रपंक्तिमा हुनुहुन्थ्यो । यो पनि वहाँको जीवन शैलीको अर्को विशेषता थियो ।
(च) जनसरोकारका विषयमा चासोः कमरेड पशुपति जहिले पनि आफ्नो कार्यक्षेत्रका राष्ट्रिय जीवनका पनि जनसरोकारका विषयहरु संग्रहित रूपमा उठाउने गर्नुहुन्थ्यो । वँहा जनताका खानेपानीका समस्या, बाटाघाटाका समस्या, मंहगी र मूल्य वृद्धिका समस्या, पानी कुलाका समस्या, शिक्षा स्वास्थ्यका समस्या जस्ता सार्वजनिक हितका जनसरोकारका समस्याहरू लिएर सम्बन्धित कार्यालयहरूसम्म पुग्नुहुन्थ्यो । ती समस्याहरू समाधान गर्न जनतालाई सघाउनु हुन्थ्यो । वास्तवमा जहाँसुकै पनि त्यस्तै समस्याहरूले जनतालाई सताइरहेको हुन्छ । सहर बजारमा सुधार सफाइको समस्या, खानेपानी बिजुलीको समस्याले पिरोली रहेको हुन्छ । वास्तवमा यी समस्याहरु नै हामी कम्युनिष्टहरूका निम्ति जनतासम्म पुग्ने ढोकाहरू हुन । ती समस्याले नै हामीलाई जनता समक्ष पु¥र्याउछ । जनतासँगका सम्बन्ध घनिष्ठ बनाउँछ र जनताले हामीलाई अगुवा बनाउँछन् । यी कुराका बारेमा पनि कमरेड पशुपति चौलागाईं एउटा आदर्श नेता र कार्यकर्ता हुनुहुन्थ्यो । वहाँको जीवनको यो अर्को विशेषता थियो ।
(छ).सिद्धान्तप्रतिको गहन आस्थाः कमरेड पशुपति माक्र्सवाद–लेनिनवादप्रति अत्यन्त गहन र गहिरो आस्था र विश्वास भएको नेता हुनुहुन्थ्यो । समग्र प्रकृति, मानव समाज र मानव चेतनालाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने एक मात्र बिज्ञान माक्र्सवाद –लेनिनवाद हो भन्ने कुरामा वहाँको गहिरो समझ थियो । वास्तवमा माक्र्सवादी विज्ञान फगत पढ्ने, बुझ्ने र व्याख्या गर्ने विज्ञान होइन, यो चेतना, समाज र प्रकृतिलाई रूपान्तरण गर्ने, बदल्ने विज्ञान हो । त्यसैले माक्र्सवादको गहन र जीवन्त रूपले अध्ययन गर्नु र गराउनुपर्छ । हामीले वर्ग संघर्षका, वैचारिक संघर्षका, पार्टी संगठनका, समाजका र क्रान्तिका समस्याहरू समाधान गर्नका निम्ति माक्र्सवादी विज्ञानको गहिरो अध्ययन गर्नुपर्छ । हामीले पार्टीका क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त निर्माण गर्नका निम्ति, हर कुरालाई वर्ग दृष्टिकोणका आधारमा हेर्नु र विश्लेषण गर्न सक्ने क्षमता विकास गर्नका निम्ति, राष्ट्रका हुन वा आफ्नो कार्यक्षेत्रका हुन समस्याहरूको गोडमेल गर्नका लागि माक्र्सवादको अध्ययन गर्नुपर्छ भन्ने कुरामा वहाँको गहिरो समझ थियो । माक्र्सवाद कण्ठस्थ गर्नुपर्ने जडसूत्र जस्तो होइन, त्यो हाम्रो कामको पथप्रदर्शक हो भन्ने कुरामा वँहा सचेत हुनुहुन्थ्यो । वहाँको जीवनको यो अर्को महत्वपूर्ण विशेषता थियो ।
(ज) अनुशासन प्रतिको प्रतिवद्धताः कमरेड पशुपति पार्टी अनुशासनप्रति त्यति कै दृढ हुनुहुन्थ्यो । एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा अनुशासनको अत्यन्त गहन महत्व हुन्छ । पार्टीका हरेक काम कर्तव्यहरू अनुशासित ढंगले सम्पादन गर्नुपर्ने हुन्छ । कहिले काहीँ पार्टीका नीति वा कार्यदिशामा नै गलत हुने गर्छन् । त्यस्तो अवस्थामा पार्टीभित्र अनुशासनहीनता वा अराजकता पैदा हुन सक्छ । त्यो विशेष अवस्था हो । त्यस्तो अवस्थामा हामीले पार्टीभित्र “राष्ट्रिय कार्यकर्ता भेला” समेत गर्नुपरेको थियो । तर क्रान्तिकारी कार्यदिशा लिएर अघि बढिरहेको पार्टीमा अराजकताको ठाउँ हुँदैन । अनुशासनलाई अत्यन्त कडाईकासाथ पालना गर्नुपर्छ । नत्र पार्टी संगठनको विकास हुन सक्दैन । पार्टीले जनतालाई सहि मार्गदर्शन पनि गर्न सक्तैन । यो सवालमा पनि कमरेड पशुपति चौलागाईं एउटा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । यो वहाँको क्रान्तिकारी पार्टी जीवनको अर्को विशेषता थियो ।
(झ) आफ्नो कार्यक्षेत्र प्रतिको लगावः कमरेड पशुपति चौलागाईं जहिले पनि आम रूपमा आफ्नो कार्यक्षेत्रमा नै केन्द्रित भएर काम गर्नुहुन्थ्यो । हामीलाई थाहा छ, कम्युनिष्ट पार्टीका हर नेता वा कार्यकर्तालाई निश्चित कार्यक्षेत्र तोकिएको हुन्छ । एक आपसमा कार्यक्षेत्र विभाजन गरिएको हुन्छ र प्रत्येकले आ–आफ्नो कार्यक्षेत्रमा केन्द्रित भएर पार्टी काममा लाग्नुपर्छ । यो पार्टीको आम कार्यशैली हो । तर कतिपय कमरेडहरूमा आफ्नो कार्यक्षेत्रमा केन्द्रित हुनुभन्दा राजधानिमा बस्ने वा सदरमुकाम बस्ने, गफ चुटेर हिँड्ने, अरू क्षेत्रमा के भइरहेको छ चासो राख्ने, यो वा त्यो टिका टिप्पणी गरेर हिँड्ने, आफूले पूरा गर्नुपर्ने दायित्व चाहिँ पूरा नगर्ने प्रवृत्तिहरू पाइन्छ । यो गलत प्रवृत्ति हो । कमरेड पशुपति यस्तो कार्यशैलीको सख्त विरोधी हुनुहुन्थ्यो । आफ्नो कार्यक्षेत्र छोडेर बिना काममा राजधानीतिर बस्ने प्रवृत्तिको आलोचना गर्नुहुन्थ्यो । यसरी आफ्नो कार्यक्षेत्रमा केन्द्रित भएर पार्टीका प्रचार, संगठन र संघर्षका लागि परेर मात्र क्रान्तिकारी कामलाई कुनै पनि क्षेत्रबाट उठाउन सकिन्छ र अन्य क्षेत्रहरुलाई पनि प्रेरित गर्न सकिन्छ भन्ने कुरामा पनि कमरेड पशुपतिको गहिरो समझदारी थियो । वँहा साँच्चि नै एउटा आर्दश नेता र कार्यकर्ता दुवै हुनुहुन्थ्यो । वहाँको क्रान्तिकारी जीवनको यो अर्को विशेषता थियो ।
(ञ) वर्ग संघर्षप्रतिको विश्वासः कमरेड पशुपति चौलागाईं सधैँ नै जनतालाई उनीहरूका विभिन्न मागहरू र समस्याहरूका विषयमा एक वा अर्को संघर्षहरूमा कसरी उतार्ने, वर्ग संघर्षलाई कसरी विकास गर्ने भन्ने कुरामा बडो चिन्तापूर्वक लाग्नुहुन्थ्यो । हामी कम्युनिष्टहरू कोही सुदूरग्रामीण क्षेत्रमा काम गरिरहेका हुन्छौं । कोही महिलाहरूको बीचमा काम गरिरहेका हुन्छौं, कोही युवाहरू, विद्यार्थीहरू, जनजातिहरू, किसानहरू वा मजदुरहरूका बीचमा काम गरिरहेका हुन्छौं । कोही विभिन्न पेशागत क्षेत्रमा वा उद्यमीहरूका बीचमा पनि काम गरिरहेका हुन्छौं । कोही प्रवासका विभिन्न क्षेत्रका विशिष्ठ स्थितिमा काम गरिरहेका हुन्छौँ । ती आफ्नै विशिष्ठ कार्यक्षेत्रमा रहेका समस्याहरूलाई सङ्कलन गर्ने, जनताका मागहरूलाई एकीकृत गर्ने, तिनीहरूका निम्ति सम्बन्धित क्षेत्रका जनतालाई जागृत, संगठित र आन्दोलित गर्ने काममा हामी कम्युनिष्टहरूले लाग्नुपर्छ । त्यसरी हरेक प्रतिकूलभन्दा प्रतिकूल क्षेत्रबाट पनि पलाउन सक्नुपर्छ, कम्युनिष्ट पार्टी उठाउन सक्नुपर्छ र वर्ग संघर्षको विकास गर्न सक्नुपर्छ । वर्ग संघर्ष वा जनसंघर्ष नै समाज विकास र परिवर्तनको चालक शक्ति हो । वर्ग संघर्षको विकास नगरी क्रान्तिकारी संघर्षको विकास हुँदैन र कम्युनिष्ट पार्टी बनाउन पनि सकिँदैन । कमरेड पशुपति चौलागाई समाज विकासको र परिवर्तनको यो सार्वभौम नियमप्रति पनि गहिरो समझ भएको नेता हुनुहुन्थ्यो । यो वहाँको क्रान्तिकारी जीवनको अर्को विशेषता हो ।
(ट) समाजवादप्रति दृढः क.पशुपति चौलागाईं अब नेपाली समाजको एकमात्र भविष्य समाजवाद हो भन्ने कुरा प्रति त्यतिकै दृढ प्रतिज्ञ हुनुहुन्थ्यो । वहाँ नेपालमा ०६२–०६३ मा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसक्यो । अब हाम्रो मुलुक समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको छ । हामीले हिजो जनवादी क्रान्तिको कालमा अघि सारेका कार्यदिशा, नीति, सिद्धान्त, कार्यनीतिहरू पुराना भइसके । यहाँसम्म कि हिजो हामीले जनवादी क्रान्तिको लक्ष्यका रूपमा अघि सारेका नयाँ जनवादको कार्यक्रम, राष्ट्रिय जनवादको कार्यक्रम र जनताको बहुदलीय जनवादका कार्यक्रमहरू समेत ऐतिहासिक रूपमा पुराना भइसके । अब हामीले नेपाली समाजको विशिष्ठ स्थिति अनुरूपको समाजवादी कार्यक्रम अघि सार्नुपर्छ र त्यो समाजवादी कार्यक्रम प्राप्त गर्नका निम्ति त्यहि अनुरूपको क्रान्तिकारी नयाँ कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सार्नुपर्छ । नेपाली समाजको आजको प्रधान अन्तर्विरोध र क्रान्तिको प्रमुख निशाना पहिचान गर्नुपर्छ र त्यस माथि केन्द्रित गरेर पार्टीका क्रान्तिकारी प्रचार, संगठन र संघर्षका कामहरूलाई अघि बढाउनुपर्छ भन्ने कुरामा पनि कमरेड पशुपति चौलागाईं प्रष्ट हुनुहुन्थ्यो । त्यसैले वहाँ एउटा प्रखर समाजवादी योद्धा पनि हुनुहुन्थ्यो । कतिपय मानिसहरु दक्षिणपन्थी भड्काउबाट ग्रस्त भएर अहिले पनि जबज जबज भन्दै हिँडिरहेका छन् । जबजलाई नै मार्गदर्शन सिद्धान्त मानिरहेका छन् । आग्रह र पूर्वाग्रहको जालो दिमागमा लागेकाले जवज भनेको पूँजीवादी जनवाद हो भन्ने कुरा बुझ्न सकिरहेका छैनन् । उनीहरूले क्रान्तिको युगले फड्को मारेको पनि महसुस गर्न सकिरहेका छैनन् । तर, कमरेड पशुपति चौलागाईं समाजवादी क्रान्तिका बारेमा प्रष्ट र छर्लङ्ग हुनुहुन्थ्यो । हामीले वहाँका यी भावनालाई दरो रूपले अघि बढाउन सक्नुपर्छ । यो कमरेड पशुपति चौलागार्इंको अर्को महत्वपूर्ण विशेषता हो ।
वहाँको जीवनमा अरू पनि अनेकौं अनुकरणीय विशेषताहरू थिए । तर, उपरोक्त ११ विशेषताहरू नै कमरेड पशुपति चौलागाईका वास्तविक विशेषताहरू हुन् । यिनै विशेषताले गर्दा वहाँलाई एउटा लोकप्रिय नेताका रूपमा स्थापित गरेको थियो । वँहा दोलखाका कमरेडहरूका बीचमा त लोकप्रिय हुनु नै हुन्थ्यो । वँहा बागमती क्षेत्रमा र देशभर पनि एउटा प्रिय, मिलनसार, सक्षम र दृढ कमरेडका रूपमा लोकप्रिय हुनुहुन्थ्यो । वहाँको निधनको खबरले मलाई अत्यन्त मर्माहत बनाएको थियो । मलाई कैयौँ दिनसम्म संवेदनशील बनाइरह्यो । म आफै पनि कोभिडबाट आक्रान्त थिए । म पनि वहाँकै बाटोमा पछ्याउन पुग्छु कि भन्ने पनि लागिरहेको थियो । पछि मैले प्रतिरोध गर्न सके र त्यो खतरनाक महामारीबाट बच्न सके । तर हामीहरुले कमरेड पशुपति चौलागाईं जस्तो एउटा होनाहार कमरेडलाई भने बचाउन सकेनौँ । यो हामी सबैका निम्ति अत्यन्त दुःखदायी घटना हो । म फेरी पनि वहाँप्रति हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वहाँको जीवन संगिनी, वहाँका छोरीहरू र वहाँका छोराप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
आखिर अजम्बरी त हामी कोही पनि छैनौँ । ढिलो वा चाँडो हामी सबैको बाटो त्यहि नै हो । तर, कतिपय मृत्युहरू हामी सबैलाई संवेदनशील बनाएर घट्ने गर्छन् । कमरेड पशुपति चौलागाईंको निधन पनि हामी सबैका निम्ति एउटा गरुङ्गो निधन हो । अब वँहा हुनुहुन्न । तर, वहाँले गर्नुभएका सुनौला योगदानहरू हामी सँगै छन् । यत्र तत्र छरिएर रहेका छन् । तिनीहरूमा नै वहाँको क्रान्तिकारी जीवन बाँचिरहेको छ र बाँची रहनेछ । मैले माथि उल्लेख गरेका ११ वटा विशेषताहरू कमरेड पशुपति चौलागाईंको जीवनका आदर्श गुणहरू हुन् । ती गुणहरूमा वँहा हामी सँगै सधैँ बाँची रहनुभएको छ र बाँची रहनुहुनेछ । हामी सबै कमरेडहरूले वहाँका ती आदर्शमय गुणहरूबाट सिक्नुपर्छ, ती गुणहरूलाई हामीले आफ्ना कार्यशैलीमा उतार्न सक्नुपर्छ र ती गुणहरूलाई हाम्रा आम कार्यकर्ताहरूमा फैलाउन सक्नुपर्छ । वास्तवमा यहि नै कमरेड पशुपति चौलागाईप्रतिको सच्चा र भावपूर्ण श्रद्धाञ्जली हुनेछ । कमरेड पशुपति चौलागाईं बिदा ! अलविदा !! सदा सदाका निम्ति विदा !!