काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले सुदूरपश्चिम प्रकरणलाई केन्द्रबाटै सच्याउनु पर्ने बताउनु भएको छ।
केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्य गरेको छ।
यसबारे पार्टी उपमहासचिव ज्वालाले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने भनेर केन्द्रमा भएको सहमति कार्यान्वयन नहुँदा देखिएको असन्तुष्टि प्रदेशमा परेको बताउनु भयो।
उपमहासचिव ज्वालाले भन्नुभयो, ‘सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो। पछि फेरि विविध कारणले कार्यान्वयन भएन र समस्या देखिएको छ। प्रदेश प्रमुखले दुई दिनको समय माग्नुभएको छ। मलाई लाग्छ यो दुई दिनको बीचमा समस्या हल हुन्छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा पनि विवाद कायम छ। उनीहरू बीचमा पनि एकता हुन्छ र गठबन्धनमा भएको सहमति अनुसार एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति पनि कार्यान्वयन हुन्छ भन्ने विश्वासमा हामी छौं।’
केन्द्रको गठबन्धनले त निरन्तरता पाइरहेको छ, समस्या छैन, सुदूरपश्चिममा पनि केन्द्रको गठबन्धन अनुसार सङ्गति मै हुनुपर्नेछ। पहिलेको सहमति कार्यान्वयन हुन्छ र समस्याको समाधान हुन्छ।
केन्द्रमा जुन ढंगले अगाडि बढ्नुपर्ने हो, त्यसरी अघि नबढ्दा केही समस्या छन्। सहमति कार्यान्वयन गर्ने ढंगले अगाडि नबढ्दा सुदूरपश्चिमबाट समस्या देखिन थालेको हो। तर, केन्द्रलाई दबाब दिनका लागि त्यस्तो गरिएको भने होइन।
कमिटीबाट पनि कुनै औपचारिक निर्णय भएको छैन। तर, सुदूरपश्चिम प्रदेश सभाभित्रको गणित र समीकरण अनुसार को को मिल्दा बहुमत पुग्ने, कोहो नमिल्दा नपुग्ने भन्ने हिसाबकिताब त त्यहींकै साथीहरूले गर्नुहुने नै भयो। त्यसअनुसार प्रदेशस्तरमा संसदीय दलका साथीहरूले छलफल गर्नुभयो र कांग्रेस(नाउपासँग मिलेर अघि बढ्ने सहमति गर्नुभयो। त्यसलाई केन्द्रले सच्याउने गरीअघि बढ्नुपर्छ।
सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने भन्ने सहमति भएकै थियो। शीर्ष नेताहरूबीचमा भएको सहमति कार्यान्वयन हुन्छ भनेर हामी पर्खेर पनि बस्यौं। तर, त्यस्तो भएन।
यही पृष्ठभूमिमा सुदूरपश्चिममा जे भएको छ, त्यो करेक्सन हुन्छ भन्नेमा म विश्वस्त छु। किनभने केन्द्रको गठबन्धनलाई जोगाउनु पर्नेछ, बलियो बनाउनुपर्नेछ र सँगसँगै प्रदेशमा पनि समस्या समाधान गर्नुपर्नेछ । त्यसैले समस्या समाधान हुन्छ, गर्नुपर्छ।
केन्द्रमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्छ। केन्द्रमा देखिएका समस्या समाधान गर्न नसक्दा केन्द्र र अरु प्रदेशमा पनि समस्या उत्पन्न हुनसक्छ । त्यसकारण केन्द्रबाट नै समस्या समाधानको पहलकदमी लिनुपर्छ।
एउटै पार्टीको बहुमत नहुँदा गठबन्धन बन्ने हो र यसको धरातल कमजोर हुन्छ नै। त्रिशंकु संसदमा समस्या त हुन्छ नै। त्यसकारण गठबन्धनको प्रकृति र चरित्र एवं गठबन्धन संस्कृति अनुसार गठबन्धनलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्छ। कमजोर हुँदाहुँदै पनि बलियो बनाउनुपर्ने बाध्यता सबैसँग छ।’