काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको बताउनु भएको छ।
वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको भन्दै उहाँले अब देशमा विद्यमान समस्या समाधानमा एक जुट भएर लाग्नुपर्ने बताउनु भएको हो।
नयाँ समीकरणको सरकारलाई शुभकामना व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ,‘हाम्रो देशमा एक वर्ष अघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ। यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो। यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु।’
'आजको त्रिशंखु संसदमा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य नै थियो र छ । तर विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न सकेन । देशको राजनीति, अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झनझन सङ्कटग्रस्त बन्दै गइरहेको थियो। बेरोजगारी र भ्रष्टाचार झन् व्यापक बन्दै गएको थियो र देशका युवाहरू बाहिर जाने क्रम झनझन तीव्र बनिरहेको थियो । त्यसले गर्दा वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो', उहाँले भन्नुभएको छ।
जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै बाम लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी पनि सहभागी बनेको बताउनु भयो। नयाँ सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको खनालको भनाई छ।
सम्मानित नेता खनालले अगाडि भन्नुभएको छ,‘यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको छ । भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको छ । त्यसले गर्दा द्धन्द, हिंसा र युद्धका क्षेत्रहरू फैलिरहेका छन् । कतै विश्व युद्ध त हुने होइन भन्ने आशङ्का देखिन थालेको छ । हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यस्तो स्थितिमा हामीले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरूलाई अघि बढाउनु पर्ने चुनौतीपूर्ण आवश्यकता हाम्रा सामु छन्।’
मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएन भन्ने गुनासो चर्कोको अवस्थामा देशका श्रमजीवीहरू, भूमिहीन, गरिब र सुकुम्वासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगीकरणको दिशामा अघि बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारलाई माथिदेखि तलै सम्म निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने जिम्मेवारी नयाँ गठबन्धन सरकारको काँधमा आएको स्मरण गराउनु भएको छ।