काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कलम चिन्ह छोडेर कसैसँग पनि एकता नहुने स्पष्ट पार्नु भएको छ।
साथै उहाँले नेपालका सबै कम्युनिष्टहरू कलम बोकेर एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको छ। मंगलबार प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ लाई दिएको अन्तरवार्तामा उपमहासचिव खतिवडाले उक्त कुरा बताउनु भएको हो।
उहाँले भन्नुभएको छ,‘अब हाम्रो एकताको पहिलो लाईन भनेको कलम चिन्हमा हो। कलम चिन्ह छोडेर कसैसँग एकता हुँदैन। हाम्रो पार्टी कलम चिन्ह छोडेर अन्त कतै जादैन। कलम चिन्हमा सबै कम्युनिष्टहरू गोलवद्ध हुनुपर्छ। आजको आवश्यकता यही हो। आगामी निर्वाचनमा कलम चिन्ह बोकेर जनताको बीचमा जाने हो। जनताको मत बटुल्ने हो।’
पत्रकार ऋषि धमलाले उपमहासचिव खतिवडासँग लिएको अन्तरवार्ताको सम्पादित अशः
प्रचण्डको नेतृत्वमा सरकार गठन भएको ११ महिना बितेछन् ? यि ११ महिनालाई तपाईंले कसरी हेर्नु भएको छ?
पहिलो मूल्याङ्कन कर्ता नेपाली जनता हुन्। त्यसपछि सञ्चारकर्मीहरूले पनि अध्ययन गरिरहनु भएकै हुन्छ। राजनीतिक दलहरूले आफ्नो सरकारले यति उति प्रगति गर्यो भनेर भनिरहन्छन्। तर, समग्रतामा हेर्दा सरकारले उल्लेखनीय काम गर्यो भनेर भन्ने ठाउँ छैन।
मुलुक र जनताको अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्नुपथ्र्यो। त्यस ढंगको काम गर्न सकेको छैन। जस्तोः सुरूमा भ्रष्टचारविरोधी कार्यक्रम निक्कै प्रभावकारी देखिएका थिए। अब देशले सुशासनको दिशा लिन थाल्यो भन्ने लागेको थियो। तर, बिस्तारै त्यो ज्वाला सेलाउदै गयो। यति भन्दैमा केही पनि काम भएका छैनन् भन्ने चाँहि होइन। केही राम्रा प्रयासहरूमा सरकार केन्द्रीत देखिन्छ। प्रधानमन्त्री प्रचण्डले भारत र चीनको भ्रमणमा गएर केही राम्रा कामगर्नु भएको छ। केही विवाद पनि भए। यसअर्थ सरकारले गर्नुपर्ने जति काम र लिनुपर्ने गति नलिएकै हो। देश गम्भीर आर्थिक संटक खेपिरहेको छ। तमाम समस्या छन्।
असफल भएको पनि भन्ने अनि तपाईंको पार्टी सरकारमा बसिरहने ?
वर्तमान सरकारभन्दा राम्रो गर्ने अर्को वातावरण देशमा हुन्थ्यो भने अर्को कुरा हो। अन्य विकल्पमा जान सकिन्थ्यो। गणित उहि हो। प्रचण्डलाई फालेर अर्को कोही ल्याउने हो भने पनि यस्तै हुने हो। सरकारले राम्रो गर्नुपर्छ भनेर भन्दा सरकार विरोधि हुँदैन। राम्रो गर्नुपथ्र्यो भन्नु भनेको राम्रो गर्नकै लागि हो।
तपाईंको पार्टी कसरी चलिरहेको छ ? पैसा कमाएको छ भन्छन् ?
हाम्रो पार्टी बढो दुःखले चलिरहेको छ। बजारमा अट्कल काट्नेहरू हुन्छन्। अनुमान गर्न पाइन्छ। तर, यर्थात अर्कै हुन्छ। हाम्रो पार्टी आर्थिक संटककाबीच चलिरहेको छ।
गणतन्त्र फालेर राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्ने आवाज उठिरहेका छन्, के सम्भव छ ?
कुनै पनि मानिसले कुनै पनि माग राख्नु निजको अधिकार हो। हाम्रो संविधानले नै उक्त अधिकार सुरक्षित गरेको छ। राजतन्त्र ल्याउछौं भन्न पाउनु हुन्छ। यहि संविधानभित्र रहेर आफ्ना अधिकारबारे बोलिरहनु भएको छ। यसरी हेर्दा संविधान भत्काउनु हुन्न भन्ने देखिन्छ। अर्को कुरा केही आवाज उठ्दैमा राजतन्त्र पुनःस्थापना भइहाल्ने कुरा होइन। निर्वाचनमा अत्यधिक मत ल्याएर संविधान संशोधन गरेर अनि मात्रै राजतन्त्र ल्याउने होला! तेस्रो कुरा समाप्त भइसकेको कुरा पुनः आउँदैन। राजतन्त्रको वकालत गरिरहेका मान्छेहरूका मूख्य दुईवटा उद्देश्य देखिन्छन्। पहिलो भोटका लागि। दास्रो व्यक्तिगत प्रचार र राजनीति गतिविधि गर्ने हो। यि बाहेक केही उद्देश्य छैनन्। राजसंस्था फर्किन्न। दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देनले ल्याउने राजतन्त्र कस्तो होला? राजतन्त्र फर्काउने कुरा हास्यस्पद कुरा हो। यसमा कुनै राजनीतिक सत्यता छैन। राजनीतिक तवरले मृत भइसकेको संस्था हो। जीवित हुन सक्दैन। केही मानिसका चाहानाले यो सम्भव हुने कुरा पनि होइन।
राजावादीहरू सडकमा आइरहेका छन्, राजसंस्था कायम गर्छौं भन्दैछन्?
सडकमा आउनु राम्रो कुरा हो। जति सडकमा आएर वर्तमान व्यवस्थाको आलोचना गर्नुहुन्छ, त्यति नै यो व्यवस्था बलियो बन्छ। जति आन्दोलन गर्नुहुन्छ, गणतन्त्र त्यति नै परिपक्व बन्दै जान्छ। यसलाई अनौठो मान्नुपर्ने कुनै कारण छैन। यस्ता विरोध र आलोचनाले थप हामीलाई खबरदारी गर्छ। गणतन्त्र विरोधि शक्तिहरू चलायमान बनेका छन् है भनेर थाहा हुन्छ। उहाँहरूले सविधानलाई कार्यान्वयन गर भनेर भनिरहनु भएको छ। आलोचना र विरोध हुनु भनेको यो व्यवस्था खारेजी हुनुपर्छ भन्ने होइन। देशमा केही अराजकता छन्। आर्थिक समस्या छन्। बेरोजगारी छ। सहकारीबाट नागरिक पीडित छन्। बैंकहरू मोटाउने र नागरिक गरिब हुने स्थिति छ। यि समस्याबारे राजावादीहरूले बोल्दा केही जनताहरू उहाँहरूको पक्षमा उभिएको देखियो। तर, सँगै दुर्गाहरूले राजतन्त्र पुनःस्थापना गर्नुपर्ने कुरा गरेपछि जनताले साथ छोडिदिए। ज्नताहरू समस्यामा छन्, यो सत्य हो। तर, जनताहरू राजतन्त्र चाहिन्छ भन्नेमा छैनन्। कोही मान्छेको व्यक्तिगत स्वार्थका निम्ति जनता दुरूपयोग हुनुहुँदैन।
तपाईंहरूले व्यवस्था परिवर्तन गर्नुभयो। तर, जनताको अवस्था बदल्न सक्नु भएन नि?
एउटा कोणबाट हेर्दा तपाईंले भनेको ठिकै हो। तर, अर्को कोणबाट हेर्दा वर्तमान व्यवस्थाका निम्ति ठूलो बलिदानी भएको छ। संघर्ष भएको छ। यसमा हाम्रो प्रत्यक्ष सहभागिता रहेको छ। तिमीहरूले केही गर्न सकेनौं भन्दै बोल्न पाउने व्यवस्था ल्याएका पनि हामीले नै हो। गणतन्त्र मुर्दावाद भने वापत जेल जान नपर्ने व्यवस्था हामीले नै ल्याएको हो। आजको सडक, स्कुल, प्रविधि हामीले नै ल्याएका हौं। तर, हामीले प्रभावकारी रूपमा काम गर्न नसकेपछि यस प्रकारका आलोचनाहरू सुन्न परेको हो। जनताको अवस्था सुधार गर, राजनीतिक दलहरूका नेता सदाचार बन भनेर गरिएका आलोचना हाम्रै लागि हुन्। ति आलोचनाहरूलाई राज्यले सुन्नुपर्छ। ति आवाजहरूबाट राज्यले ज्ञान लिनुपर्छ। हामी राजनीतिक दलहरू सच्चिनुपर्छ। गणतन्त्रले केही दिएन भन्नेहरूलाई एउटा ठूलो अस्पताल खोल्ने अवसर पनि यहि गणतन्त्रले नै दिएको हो। दुर्गाहरूले उठाएका मुद्धाहरू हामीले हिजोदेखि नै उठाउँदै आएका माग हुन्। भ्रष्टचारको अन्त्य, सदाचार, लोकतन्त्रको सुदृढिकरणका निम्त हामीले निरन्तर प्रयास गरिरहेका छौं। केही सुधार पनि भएका छन्। यस क्रममा हामी पछारिदै, उठ्दै, धुलो टक्टक्याउदै यहाँसम्म आएका हौं। दुर्गाजीहरू नयाँ जोगी हो। केही जनताहरूले बढी खरानी घसेको देखे। एकछिनका लागि दुर्गाजिहरूको आवाज बलियो सुनिएको मात्रै हो। कालान्तरमा राजनीतिक दलहरूले नै मुलुकको अवस्था बदल्ने हो। बदल्नुपर्छ ।
तपाईंको पार्टीका अध्यक्ष माधव नेपाल र झलनाथ खनाललाई राजावादीहरू पदलोलुप भनेर आरोप लगाउछन् नि ?
सबैभन्दा पदको त्यागि को हो ? त्यो त म भन्न सक्दिन। तर, त्यागि भन्दैमा ६/६ महिना आफ्नो पद त्याग्दै हिँडे भयो। कतिसम्म बसेकालाई त्यागि भन्ने ? कति सयमसम्म बसेकालाई लोभि भन्ने ? त्यो उहाँहरूको कुरा हो। हाम्रो कुरा के हो भने कुनै पनि पक्रियाबाट पार्टी या सरकारको नेतृत्वमा पुगेका व्यक्तिहरूको जिम्मेवारी उसको नैतिकताको विषय हो। जस्तो कि अहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनु पर्यो भन्नेहरूलाई तिम्रा राजा धेरै पदलोलुप रहेछन् है भन्न मिल्छ नि।
तपाईंहरू संघीयताको विरूद्ध जान सक्नुहुन्छ ?
संघीयता अभ्यासको चरणमा छ। संघीयता अभ्यास गर्न थालेको जम्मा १० वर्षपनि पुगेको छैन। यो अभ्यासको चरणमै भएको हुनाले यसलाई अहिले नै मूल्याङ्कन गर्नुपर्नेमा हामी पुग्नु हुँदैन। यसको विरुद्धमा जाने कुरा धेरै परको कुरा हो। संघीयता आजको आवश्यकता हो।
काठमाडौँका मेयर बालेन साहले संघीयता खारेज गर्नुपर्छ भनेर भन्दै हुनुहुन्छ नि ?
त्यो उहाँको कुरा हो। उहाँलाई हाम्रो भन्नु के हो भने ति आवाजहरू संगठित गरेर संसदमा पुर्याउनुहोस्। त्यसपछि आफ्ना मुद्धाहरू कार्यान्वयन गर्नुहोस्। संघीयताको विरोध गर्ने, गणतन्त्रको विरोध गर्नेहरूका तमाम आवाज अटाउने विशाल छाति छ यस संविधानमा। अर्को कुरा वर्तमान संविधानको जति विरोध गर्यो उति नै यो संविधान बलियो बन्छ।
संघीयताले देशलाई के दियो ? भ्रष्टचार, महंगी दियो भन्छन् जनताले ?
महंगीका विरुद्ध हामी लाग्नुपर्छ। महंगी राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारणले बढेको छ। अर्थतन्त्र आत्मनिर्भर बन्नुपर्छ। तर, आजको विश्व आत्मनिर्भर होइन, अन्तरनिर्भर बन्दै गएको देखिन्छ। हामीले नेपालको अर्थतन्त्रको छुट्टै ढाँचा तय गर्नु राम्रो कुरा हो। तर, हामीले हाम्रो अर्थतन्त्रको ढाँचा बदलेर मात्रै हुँदैन। विश्व अर्थतन्त्रको एक अंगका रूपमा नेपाल पनि पर्छ। हाम्रो अर्थतन्त्रका जटिलताहरूलाई छोटो समयभित्रै फुकाउन सकिँदैन। जबसम्म हामीले नेपाली विशेषताको समाजवादको बाटो तयगर्न सक्दैनौं तबसम्म आजदेखिएका समस्याहरू हल हुन सक्दैनन्। संविधानले इंगित गरेअनुसारको समाजवादी बाटो तय गर्न राष्ट्रिय सहमति आवश्यक पर्छ। जब समाजवादी बाटोका निम्ति राष्ट्रिय सहमति जुट्छ। त्यसपछि हाम्रो अर्थतन्त्रको नयाँ अवधारणा बन्छ। त्यसपछि सुशासनको ढाँचा बन्छ। हाम्रो देशको अवस्थितिका आधारमा भन्दा हामी संवेदनशील स्थितिमा छौं। कुरालाई दृष्टिगत गर्दै हाम्रा नेताहरूबीच राष्ट्रिय सहमति हुनुपर्छ।
आजको दिनमा संघीयता आजको आवश्यकता कि बाध्यता ?
संघीयता आजको आवश्यकता हो। तिमीहरू काम किन गर्न सकेनौं ? भनेर प्रश्न गर्दा तिमीले राम्रो काम गर्नुपर्छ भन्ने कुरा त्यसैभित्र लुकेको हुन्छ नि होइन ? त्यसकारण राम्रो गर्नुपथ्र्यो। हामीले आजको भन्दा उन्नत अवस्था सिर्जना गर्नुपथ्र्यो। त्यो गर्न सकेका छैनौं। राज्यसत्ता र पार्टी सत्तामा रहेका नेताहरू राम्रो काम गर्नुहोस्। सबैले राम्रो गरौं। यहाँ संघीयताका बारेमा जे जति विरोध, आलोचना र प्रसंशा हुन्छन्, यिनै कुराहरूले संघीयता मजबुद हुने हो। संघीयताले मुलुक र जनतालाई धेरै थोक दिएको छ। सबै जातजाती, भाषा, धर्म, सम्प्रदायका मानिसहरूलाई राज्यको माथिल्लो निकायमा पुर्याउने अवसर दिएको छ। अधिकार दिएको छ। दलित, महिला, जनजाती, पीछडिएको वर्ग, क्षेत्रका मानिसहरू राज्यको निकायमा, ऐन, नियम, कानून निर्माण गर्ने ठाउँमा कसरी आइपुग्थे ? यहि संघीयताका कारणले होइन ? हिजो राजतन्त्रका बेलामा सबै नागरिकहरू राज्यमा पँहुच हुन्थ्यो ? हिजो त्यसरी मानिसहरू राज्यका विभिन्न निकायमा आएका थिए?
त्यस कारण संघीयताको पहिलो विशेषता भनेकै जनतालाई अधिकार दिनु हो। सहभागिता मुलक समावेश लोकतन्त्रको अभ्यास गरिरहेको हाम्रो राजनीतिक प्रणालीलाई थप बलियो बनाउने इच्छाशक्तिका साथ नेताहरू सक्रिय हुनुपर्छ। मधेश प्रदेशले संघीय सरकारसँग केही असहमति राखेको छ। एक प्रदेशको मुख्यमन्त्रीले केन्द्रीय सरकारका प्रधानमन्त्रीसँग आफूलाई उपयुक्त लागेका माग बुझाउनु भएको छ। ति मागहरू देशको हितमा छन् या छैनन्? संविधानसँग मिल्दोजुल्दा छन् कि छैनन्? ति मागहरूप्रति गम्भीर भएर छलफल बहस गर्नुपर्यो। निश्कर्षमा पुग्नुपर्यो नि।
जनताहरूको अवस्था दयनिय छ, तर नेताहरूको अवस्था निक्कै विलाशी छ नि ?
यसमा मेरो फरक दृष्टिकोण छ। पत्रकारहरू प्रश्न गर्नुहुन्छ। नेताको आलोचना गर्नुहुन्छ। अनि कति प्रतिशत नेताहरू तपाईंहरूले भनेको जस्तै जीवन बिताइरहनु भएको छ? त्यो पत्ता लगाउनुहोस्। जनतालाई जानकारी गराई दिनुहोस्। औसत र औसतभन्दा माथि कति छन् ? त्यो पनि भन्नुपर्यो। बाहिर भने जस्तो सबै नेताहरू सुख सयलमा छैनन्। बहुत दुःखमा बाँचिरहेका छन्। बाहिर हाँसि रहेका होलान्। केही नेताहरूको भड्कीलो जीवनस्तरलाई देखाएर सबै नेताहरू बदमास हुन्, बिलासी हुन भन्न मिल्दैन।
प्रतिशतका आधारमा सहि सूचना दिनुपर्छ। सबैलाई एउटै डालोमा हालेर सबै उस्तै देखाउनु हुँदैन। कुनै नेताले अवैध तवरले पैसा कमायो होला, अतिरित्त सम्पत्ति जम्मा गरेको होला। ति अपराधमाथि छानविन गर्ने, नियमन गर्ने निकाय छन्। प्रधानमन्त्रीको इच्छाशक्ति देखिनुपर्यो। अख्तियार सक्रिय हुनुपर्यो। अन्य आयोगहरू छन् ति सक्रिय हुनुपर्यो।
तर, यहाँ त केही बद्मासहरूलाई देखाएर सबैलाई चोर भनेको छ, सबै खत्तम भन्न मिल्छ ? अर्को कुरा जसले नेताहरूलाई गालि गरिरहेका छन् तिनीहरूको जीवनस्तर हेरौं न ? तिनीहरूको अवस्था के छ? त्यो पनि हेरौं। तर, एकहोरो नेतालाई बदनाम देखाएर आफू असल देखाउने काम नगरौ। जस्तो, आज दुर्गा प्रसाईंले विरोध गरिरहनु भएको छ। उहाँको जीवनस्तर कस्तो छ? राजेन्द्र लिङ्देनहरूको जीवनस्तर कस्तो छ? भन्नुपर्छ र? दुई वर्षको बच्चाका लागि ६ करोडको गाडि किनेर राख्ने सम्पत्तिको कसरी आयो? त्यो छानविन हुनुपर्दैन? कोही पूर्व सचिव, पूर्व प्रहरी र सेनाका व्यक्तिहरू गणतन्त्रका विरुद्ध बोलेको देख्छु, मानवअधिकारवादी, अभियन्ताहरूको जीवनस्तर के छ? धेरै थोर हामीलाई पनि थाहा छ। यि सबै कुरालाई ठिकठाक पार्न राज्य बलियो बन्नुपर्छ। कुरा यत्ति हो।
प्रधानमन्त्री प्रचण्डले छानविन गर्न सक्नु होला ? तपाईंलाई के लाग्छ ?
आजको मुख्य चुनौती नै यहि हो। आफ्ना पराया नभनेर राज्यले दोषिमाथि कारबाही गर्नुपर्छ। शंका लागेका मान्छेहरूमाथि छानविन गर्नुपर्छ। तर, हरेक कुरालाई सत्तासँग गासेर हेर्न थालियो भने कुरा बिग्रिन्छ। यो वा त्यो ढंगले अघि बढ्ने र अपराधलाई छुट दिदै जाने हो भने कुरो मिल्दैन। आलोचनाहरूलाई थप विरोधगर्ने ठाउँ मिल्छ। आलोचना गर्नेहरूले झन् ठूलो स्वरले विरोध गर्छन् ।
दुर्गा प्रसाईंले केही नेता र ब्यापारीहरू पैसा विदेशमा छ भनेर तथ्याङ्क प्रस्तुत गरिरहनु भएको छ नि ? यसमा तपाईंको धारणा के छ ?
दुर्गाजिले कसको बारेमा र के-कस्ता तथ्याङ्क दिनु भएको छ? त्यो जाच्ने अधिकार मसँग छैन। उहाँले (दुर्गा) एउटा कागजको टुक्रा पढेर सुनाएको मैले पनि सुनेको छु। त्यो साचो हो भने अख्तियारमा उजुरी दिए हुन्छ। हल्ला गरेर मात्रै किन हिड्ने? दुर्गाजिको सुनको लौरो जस्तो अरूको सम्पत्ति भयो भने? के हुन्छ? त्यो बेला हामीले के नै भन्न सकिन्छ र? यदि साच्चै दुर्गाजिसँग सत्य सूचना छ भनेर राज्यलाई बुझाउनुहोस्। राज्यले त्यसमाथि छानविन गरोस्। मैले भन्ने यत्ति नै हो।
आजको दिनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ ?
अहिले विदेश नीतिलाई बलियो बनाउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड लागि पर्नु भएको देखिन्छ। परराष्ट्रमन्त्री पनि लागि रहनुभएको छ। हामीले कुन एजेण्डालाई विदेश नीतिमाथि बहस गर्छौं भन्ने कुराले अर्थ राख्छ। यदि अहिले भारतसँग लिम्पियाधुराबारे छलफल गर्दा त्यसपछि के हुन्छ? त्यसले निर्धारण गर्छ नि हाम्रो विदेश नीति कस्तो छ भनेर। विदेश नीति भनेको सँधै राम्रो मात्रै हुँदैन। कुनै मुद्धामा सप्रिन्छ, कुनै विषयमा कुरा मिल्दैन। वर्तमान प्रधानमन्त्री आवश्यकताको प्रधानमन्त्री हो। एमालेलाई सत्तामा जान रोकेर हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको कुरा घाम जस्तै छ। अब आलोपालो कुरा जे छ, त्यो कसरी अघि बढ्छ हेर्दै जानुपर्छ।
तपाईंको पार्टी सरकारमा गएपछि कमजोर भयो, तहसनहस भयो नि है ?
मलाई त्यस्तो लाग्दैन। हाम्रो पार्टीको संगठन बन्दैछ। पर्टी बलियो बन्दैछ। पूर्वदेखि पश्चिमसम्म जनताको घरघरमा पुगेका छौं। सबैभन्दा पहिले समाजवादी कार्यक्रम बोकेर एकीकृत समाजवादी पार्टी आयो भनेर जनताले प्रसँशा गरिरहेका छन्। हामीले कृषिलाई आत्मनिर्भर बनाउनका निम्ति काम गरिरहेका छौं। कृषकहरूले उत्पादन गरेका उत्पादित बस्तुहरू सरकारले खरिद गर्ने र त्यसको बजारिकरण गर्नुपर्छ भन्नेमा जुटिरहेका छौं। कृषिपेशा छोडेर कोही विदेश पलायन नहोस् भन्ने कुराको राज्यले सुनिश्चित गर्नुपर्छ। कृषिसँग सम्बन्धित उद्योग कलकारखाना खोल्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ। कृषिमा आत्मनिर्भर बनेपछि मात्रै सबै क्षेत्रको भलो हुन्छ भन्ने हाम्रो बुझाई हो। हाम्रो सबै ध्यान कृषि क्षेत्रको सुधार, आधुनिकिरण, क्रान्तिकारी रूपान्तरणमा छ।
पछिल्लो समय जनता तपाईंहरूसँग किन रिसाएका छन्, यसको खास कारण के हो?
हामीहरूले विभिन्न आन्दोलन गरेर जनताको इच्छा, चाहाना, भावना र आवाजलाई निक्कै धेरै माथि उठायौं। जनताको त्यो इच्छा र चाहानालाई सम्बोधन गर्न भने सकेनौं। जुन गतिमा राजनीतिक दलहरूले जनआकांक्षाको सम्बोधन गर्नुपथ्र्यो। त्यो हुन सकेन। जति मिठा कुरा र भाषण गर्यौं, त्यसको आधारमा काम गर्न नसकेपछि जुन असर पर्न गयो, त्यहि कारण हामीले आलोचना खेप्नु परेको हो। वर्तमान व्यवस्था विरोधि शक्तिहरूले जनतामाझ हाम्रा बारेमा सहत कुरा बाढे। निराशा बाढि रहेका छन्। सत्य अर्कै हो।
एकीकृत समाजवादी र एमालेबीचको सहकार्य कत्तिको सम्भव छ?
अहिले नै त्यस्तो कुनै सम्भावना छैन। एमालेको तर्फबाट पनि कुनै प्रस्ताव आएको छैन। हाम्रो तर्फबाट पनि कुनै त्यस्तो प्रस्ताव पठाएका छैनौं। यस्तो बेला के सहकार्य हुन्छ र? एकताको कुरा आजका दिनमा गर्भमा छ। बेखर जस्तै अवस्था छ। हामी एमालेसँग भन्दापनि वृहत वाम एकताको पक्षमा छौं। अब हाम्रो एकताको पहिलो लाईन भनेको कलम चिन्हमा हो। कलम चिन्ह छोडेर कसैसँग एकता हुँदैन। कलम चिन्ह छोडेर हाम्रो पार्टी अन्त कतै मिसिन जादैन। कलम चिन्हमा सबै कम्युनिष्टहरू गोलवद्ध हुनुपर्छ। आगामी निर्वाचनमा कलम चिन्ह बोकेर जनताको बीचमा जानुपर्छ। जनताको मत बटुल्नुपर्छ। यो हाम्रो मुख्य लाईन हो।
भिडियो हेर्नुहोस्
जगन्नाथको खुलासा: दुर्गा,रवि,राजेन्द्र र बालेनको पर्दाफास, माधव प्रधानमन्त्री, प्रचण्ड-देउवा किङमेकर - YouTube