काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विपन्नताका कारण नेपालमा बालश्रम बढिरहेको बताउनु भएको छ।
सोमबार ३४औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो। कलम न्युजका प्रतिनिधिसँगको कुराकानीमा महासचिव भुसालले भन्नुभयो, ‘हामीले बालबालिकको अधिकार रक्षाका सन्दर्भमा संवैधानिक, कानूनी र राजनीतिक रुपमा उदाहरणीय काम गरेको छौं। कानूनभन्दा ठूलो कुरा समाज हो। समाज बालबालिकाको अधिकारबारे सचेत रहनुपर्छ। खासगरी अभिभावकहरु बालकालिकाप्रति जिम्मेवार बन्नुपर्छ। बालबालिकाबारे चिन्ता र चासो उच्च रहनुपर्छ।’
उहाँले अगाडि भन्नुभयो, ‘हामीले बालअधिकार सम्बन्धि बनाएका कानूलाई कार्यान्वयन गर्नका निम्ति पनि समाज जिम्मेवार रहन्छ। हामीसँग समस्याहरु धेरै छन्। कानून कार्यान्वयनमा हामी अब्बल बन्न सकेका छैनौं। बालबालिकाहरुलाई बालश्रमबाट मुक्त गर्न सकेका छैनौं। आजपनि मुलुकमा ११ लाखभन्दा धेरै बालबालिका स्कुल जाने समयमा होटेलहरुमा, उद्योगहरुमा काम गर्न बाध्य छन्। यसरी हेर्दा बालअधिकारबारे समाजको दायित्व कति छ ? भन्ने कुरासमेत देखाउछ। बालअधिकार भनेको सार्वजनिक मामला हो। सार्वजनिक मामला राज्यको दायित्व हुन्छ। कानून कार्यान्वयनको क्षेत्रलाई प्रभावकारी बनाउनका निम्ति हाम्रो सामथ्र्य बढाउनुपर्ने हुन्छ।'
अभिभावकको अर्थिका समृद्धि बिना बालअधिकारको सुनिश्चित नहुने बताउँदै महासचिव भुसालले भन्नुभयो,‘बालबालिका, महिला, दलित, विपन्न, गरिबी, दलित आदी वर्ग समुदायका अधिकार रक्षाको निम्ति हाम्रो राज्यको सामथ्र्यलाई बढाउनु पर्ने हुन्छ। बालबालिकाको सन्दर्भमा राज्य र अभिभावक दुबैको उत्तिकै दायित्व रहन्छ। बालबालिकाले पढ्न पाउने, बोल्न पाउने, मनोरञ्जन लिन पाउने, खेल्न पाउने जम्मै अधिकारलाई ग्रहरण गर्ने वातावरण राज्य र समुदायले निर्माण गर्नुपर्छ। बाआमालाई राम्रो रोजगार नदिइकन बालअधिकारको कार्यान्वयन हुँदैन। कानूनको प्रभावकारी कार्यान्वयन हुँदैन। एकातिर राज्यले आफ्नो संयन्त्रहरुलाई बलियो बनाउने कुरा छ भने अर्कोतिर रोजगारी छ। अभिभावकको आर्थिक समृद्धिबिना बालअधिकार सुनिश्चित हुँदैन। यतातिर राज्यको ध्यान जान बाँकी छ।’
बालअधिकार र बालश्रमबारे नेकपा (एकीकृत समाजवादी) को धारणा के हो ? भनेर सोधिएको प्रश्नको जवाफमा महासचिव भुसालले भन्नुभयो, ‘हाम्रो देशमा आज पनि ११ लाख बालबालिका बालश्रममा संलग्न छन्। यसको अर्थ के हो भन्दा धेरै जसो बालबालिकाहरु विपन्न परिवारका बच्चाबच्चि हुन्। यसअर्थ परिवारलाई सम्पन्न नबनाईकन बालबालिको अधिकारलाई पूर्णत प्रत्याभुत गर्न सक्दैनौं। रोजगारीको ग्यारेण्टि गर्नुपर्छ। हाम्रो पार्टीले रोजगार, सुशासन, समृद्धि लगायतका यस्ता तमाम विषयलाई लिएर आगामी १० वर्षलाई नेपालाई रोजगार नेपाल बनाउने घोषणा गरेको छ। यसअभियानले बालअधिकारको रक्षा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नेछ।’
विश्वमा बालबालिको अवस्था
बालबालिकाको सुरक्षा, विकास र अधिकारको क्षेत्रमा तमाम कानून, ऐन र नियम बनेका छन्। बालबालिकाको अधिकार रक्षार्थ विश्वमा धेरै प्रकारका संघ संस्थाहरु छन्। बालबालिकाको नाममा ठूलो लगानीसमेत गरेको देखिन्छ।
तर, पछिल्ला तथ्याङ्कहरुले विश्वभरका बालबालिकाहरुको अवस्था भने निक्कै नाजुक देखाएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार संसारभर आज १६ करोडभन्दा धेरै बालबालिका बालश्रममा संलग्न छन् । ति मध्ये ७ करोड ९० लाखभन्दा धेरै बालबालिकाहरु जोखिमपूर्ण श्रम गर्न बाध्य छन् ।
नेपालमा बालबालिको अवस्था
नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका ११ लाख बालबालिका अझैं पनि बालश्रमको चेपेटामा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ४ जना बालबालिका मध्ये तीन जना बालबालिका शारीरिक तथा मनोसामाजिक हिँसाबाट पीडित छन् । त्यस्तै १३ देखि १५ वर्ष उमेर समूहका ५० प्रतिशतभन्दा धेरै बालबालिकाहरुले बुलिङबाट पीडित छन्।
त्यस्तै नेपाल प्रहरीका अनुसार ५ वर्षको तत्थ्याङ्कलाई हेर्दा ११ हजार सात सय ६८ जना बालबालिका बलात्कारको जस्तो जघन्य हिँसाबाट पीडित बनेका छन् । ति मध्ये ६४ प्रतिशत बालबालिका १८ वर्षमूनिका छन्। ५९ हजार सात सय ६४ घरेलु हिँसाका घटना मध्ये ७५ प्रतिशत बालबालिका रहेका छन्। २०८९ मा मात्रै १५६० जना बालबालिका बलत्कारको सिकार बनेका छन् भने १४२ जना बालबालिका साइबर क्राइमबार पीडित छन्।