काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जारी समाजवादी जागरण अभियानलाई दुरगामी महत्वको अभियान भएको दाबी गर्नुभएको छ।
यहि असोज १४ गते कोशी प्रदेश, झापाको काँकरभिट्टाबाट सुरू भएको जागरण अभियानको ११औं दिन बाँकेको कोहलपुरमा पार्टी केन्द्रीय प्रचार विभाग, सचिव प्रकाश खतिवडाले कलमन्युजका लागि लिएको अन्तरवार्तामा सम्मानित नेता खनालले उक्त दाबी गर्नु भएको हो।
प्रस्तुत छ, सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालसँग विभाग सचिव खतिवडाले लिनु भएको अन्तरवार्ताको सम्पादित अंशः
सवाल: समाजवादी जागरण अभियानको ११औं दिनसम्म आईपुग्दा यसको समग्र विश्लेषण कसरी गरिरहनु भएको छ?
जवाफ: हाम्रो देश २०६२/०६३ को अवधिमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको थियो। यो नयाँ चरणमा आइसकेपछि अब हाम्रो यात्रा पूँजीवाद होइन, समाजवाद हो। प्रगतिशील र कम्युनिष्ट शक्तिहरूले यो अभियान त्यो बेलादेखि नै अगाडि बढाउनु पर्ने थियो। तर, त्यो काम निक्कै लामो समयसम्म हुन सकेन। संक्रमणकाल हामीले पार गर्नुपर्यो। त्यसपछि हामीले संविधान बनायौं। संविधान बनाई सकेपछि झन् महत्वकासाथ समाजवादी जागरण अभियान सञ्चालन गर्नुपर्ने थियो। त्यसको मुल दायित्व नेकपा एमालेको थियो।
तर, एमालेको नेतृत्वले त्यो काम गर्न सकेन। उक्त नेतृत्व जबजकै जडता बस्यो। जबजकै चाप लगाएर हिड्यो। त्यसपछि विभिन्न राजनीतिक उतार-चढावलाई पार गर्ने क्रममा हामीले एमालेबाट विद्रोह गरेर यहाँसम्म आयौं। साथै इतिहासको पहिलो पटक हामीले समाजवाद स्थापनाका निम्ति समाजवादी जागरण अभियान सुरू गरेका छौं। यसर्थ यो ऐतिहास अभियान हो। यस अभियानमा कति नेता कार्यकर्ताहरू सहभागि भए ? कति जनता सहभागि भए ? भन्ने मापनबाट होइन, ऐतिहासिक कोर्णबाट हेर्ने हो भने यो अभियान दुरगामी महत्वको अभियान हो। यो महाअभियान हो।
११औं दिनम्म आईपुग्दा हजारौं जनतालाई अबको यात्रा समाजवाद हो भनेर सुनाउन पाइएको छ। दलाल पूँजीवादी शोषणको अन्त्य गर्ने भनेको समाजवादले हो भनेर बताउन पाएका छौं। आजको दिनमा मुलक राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, राष्ट्रियता कमजोर बनिरहेको छ। विभिन्न समस्याले मुलुक आक्रान्त छ। यसबाट पार लगाउने भनेको समावादी व्यवस्था हो। रोजगारीको सिर्जना गर्ने, समृद्धि र समाजवाद हासिल गर्ने मुख्य मुद्धा लिएर जनताको बीचमा आएका छौं। मुलुक भ्रष्टचारग्रस्त छ। बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, पूँजीवादी शोषण व्याप्त छ। यसलाई बदल्नका निम्ति समाजवादी जागरण आन्दोलन आवश्यक छ। हरेक रूपमा यो अभियान ऐतिहासिक छ।
सवाल: समाजवादी जागरण अभियानले जनतालाई कत्तिको आकर्षित गरेको महसुस गर्नु भएको छ?
जवाफ: यस अगाडि हाम्रो पार्टीप्रति जनआकर्षण छैन भन्ने खालका भ्रमहरू फिजाइए। खैर, सत्य के हो भने, बिना जनसंघर्ष, बिना अभियान जनताको आकर्षण थाहा हुँदैन। त्यसैले यो अभियान वर्गसंघर्षको अभियान पनि हो। यो अभियान ददाल पूँजीवादविरूद्ध र समावाद स्थापनाका निम्ति सुरू गरिएको अभियान हो। अभियान अभियान मात्रै नभएर वर्गसंघर्षको अभियान पनि हो। यस अभियानले जनता र कार्यकर्तामा उत्साह ल्याएको छ। खासगरी जनतामा नयाँ आशावादको जन्म गराएको छ। नयाँ तरंग सिर्जना गरेको छ। विभिन्न पार्टी परित्याग गरेर हजारौंको संख्यामा नेता कार्यकर्ताहरू, स्वतन्त्र व्यक्तिहरू हाम्रो पार्टीमा समाहित हुनु भएको छ। साथै नेतृत्व वर्गलाई पनि एकतावद्ध भएर अगाडि जान उत्प्रेरित गरेको छ। यस अभियानले पुरानै अवसथाका डम्फु बजाएर बस्ने होइन, हामी एक कदम अगाडि बढ्नुपर्छ भनेर कम्युनिष्ट पार्टीहरू, राजनीतिक दलहरू, प्रगतिशील जनताहरूलाई सन्देश दिएको छ।
सवाल: तपाईंले भने जस्तै हाम्रो देशको अवस्थालाई हेर्दा कहिल्यसम्म समाजवाद स्थापना होला भन्ने लाग्छ?
जवाफ: हामीले २००६ सालमा जनवादी क्रान्तिको जग खडा गर्दा पनि यस्तै प्रश्न गरिएका थिए। पुष्पालाको नेतृत्वमा रोपिएको त्यो क्रान्तिले ५८ वर्ष लगाएर आफ्नो उद्देश्य पूरा गरेको थियो। त्यस्तै मुलुकले समाजवाद र रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको १८ वर्ष भयो। यो १८ वर्षसम्मको समयमा नेपालका कम्युनिष्टहरूले जसरी अभियानहरू सञ्चालन गर्नुपर्ने थियो। त्यो गर्न सकेनन्। संघर्षका काम भएनन्। ठूलो ग्याप भयो। जसकाबीच हाम्रो पार्टी त्यस अभियानलाई अगाडि बढाउने काममा लागि रहेको छ।
विगतका उपलब्धिहरूलाई संसथागत र विकास गर्दै समाजवाद र रूपान्तरण असली विचार, सिद्धान्त, नीति र विधि लिएर हामीहरू अगाडि बढ्नुपर्छ। अब हामी चाँडै नै राष्ट्रिय महाधिवेशनमा जादैछौं। हामीले उठाएका सम्पूर्ण मुद्धाहरूलाई आधिकारिकता प्रदान त्यो महाधिवेशनले गर्छ। यि दुई वर्षका अनुभव सुनाउने, नेपाली विशेषताको समाजवाद स्थापना गर्ने, हाम्रा सिद्धान्तलाई थप क्रान्तिकारी बनाउने, हाम्रा व्यवहारलाई समाजवादी प्रवृत्तिका बनाउने काम हुनेछन्। जति चाँडो र तीव्रताका साथ हामीले अघि सारेका नीतिहरू, कार्यक्रमहरूलाई व्यवहारिक रूप दिन सक्छौं, जति चाँडो जनतालाई समावादको यात्रामा समाहित गर्नसक्छौं, त्यति छिटो समाजवाद आउँछ।
लक्ष्यमा पुग्ने कुरा अनिवार्य छ। जसरी हामी स्वास प्रश्वास नगरी बाँच्न सक्दैनौं। जसरी घाम झुल्किनु अनिवार्य छ। यो प्राकृतिक नियम हो। जसलाई धर्तीको कुनै पनि तागतले रोक्न सक्दैन। ठिक त्यसैगरी समाज परिवर्तनशील छ। आजको दालल पूँजीवादको अन्त्य र समावाद स्थापना अनिवार्य हो। नेपालको सन्दर्भमा समाजवाद स्थापनाको कार्यलाई साम्राज्यवाद, पूँजीवाद, यथास्थितिवाद कसैले पनि रोक्न सक्दैन। तर, समावादलाई चाँडो हासिल गर्नका निम्ति हामीले सहि कार्यदिशा तय गर्नुपर्छ।
सवाल: अन्त्यमा, अभियानकातर्फबाट आम जनतालाई के भन्नुहुन्छ ?
जवाफ: विगत १८ वर्षदेखिका अनुभवलाई संगालेर अबको यात्रा भनेको समाजवादतर्फ हिड्ने हो । हिजो सामान्तवादी शोषण थियो। आज पूँजीवादी शोषण छ। आज हामीले गर्न खाजेको काम पनि यहि हो। पूँजीवादी शोषणको अन्त्य र समावाद स्थापना एक मात्र लक्ष्य हो। हिजोका दिनमा हामीले देखेको महिला, दलित, पीछडिएका वर्ग समुदायमाथिको विभेद आज फरक रुपमा झन् गहिरोगरी देखिन थालेका छन्।
बेरोजगारी व्याप्त छ। गरीबी झन् बढिरहेको छ। धनी झन् धनी हुने र गरिब झन् गरिब हुने अवस्था छ। दलाली त्यत्तिकै छ। भ्रष्टचार उत्तिकै छ। लोकतन्त्रमाथि प्रहार भइरहेको छ। यि सबै असहजताहरू दलाल पूँजीवादका कारण सिर्जना भएका हुन्। यि सबै प्रकारका अन्तरविरोध, अन्याय, अत्याचार, शोषणबाट हामीले मुक्त हुनुपर्छ। बेरोजगारीका कारण हाम्रा युवाहरू खाडीमा जान बाध्य छन्। पढ्नका निम्ति बाहिर जानुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ। यि सबै किसिमका समस्याहरूको अन्त्यका निम्ति समाजवाद आवश्यक छ।
म आम जनसमुदायलाई यहि कुरा अनुरोध गर्न चाहान्छु कि तपाईहरू आफ्नो चेतनालाई उन्नत बनाउनुहोस्। हाम्रो पार्टी समाजवादी क्रान्तिको लागि मुख्य शक्ति हो। हामी जहाँसुकै र जुनसुकै धर्म, समुदायको हौं, हामी नेपाली हौं। समावादी अभियानमा समाहित हुनपर्ने आजको आवश्यकता हो। समाजवादी अभियानमा गोलवद्ध हुनका निम्ति म अनुराधे गर्न चाहान्छु।
भिडियो हेर्नुहोस्