काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताउनु भएको छ
सोमबार एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै नेता खनालले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताउनु भयो ।
‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बनोस्’ उहाँले भन्नुभयो ।
मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई एकतावद्ध गर्नुपर्ने बताउनु भयो । ‘जबसम्म देशका क्रान्तिकारी, आमूल परिवर्तनकारी, प्रगतिशीलहरू एकताबद्ध भएर उभिँदैनौँ, तबसम्म आमूल परिवर्तन हुँदैन। यो मोर्चा पहिलो पाइला मात्र हो । सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकताबद्ध गर्नुपर्छ । यसलाई अझै व्यापक बनाउनु र विस्तार गर्नुपर्नेछ’ उहाँले भन्नुभयो ।
मुलुकको राजनीतिकले ठीक बाटो नलिँदा मिटरब्याजी किसानले न्याय नपाएको भन्दै नेता खनालले
किसानहरूको पीडालाई सम्बोधन गर्न नसक्दा ११ दिन पैदल हिँडेर काठमाडौं आउनुपर्ने अवस्था आएको बताउनु भयो ।
‘संविधान बनाइसकेपछि सामाजिक र आर्थिक रूपान्तरण गर्न सकेनौं। पहिलो निर्वाचनमा नागरिकले बडो सुझबुझले वामपन्थी दललाई दुई तिहाइ दिएका हुन् तर, हामीले त्यतिबेला क्रान्तिकारी भूमिसुधार गर्नुपर्थो, त्यो नगरी यो देशका सुकुम्बासी, भूमिहीन किसान, गरिब र निम्न मध्यम वर्गका किसानको समस्या समाधान हुँदैन। अहिले पनि देशका मिटरब्याज पीडित किसान जिल्ला(जिल्लाबाट आएर ११ दिन हिँडेर पीडा पोखिरहेका छन्, यो अवस्था किन सिर्जना किन भयो ? किनभने हामीले बाटो ठीक ढंगले लिन सकेनौं,’ उहाँले भन्नुभयो ।
कृषि क्षेत्रमा यान्त्रिकीकरण र राष्ट्रिय औद्योगीकरणको विकास गर्न नसक्दा मुलुक पछाडि परेको भन्दै दुई तिहाइको बहुमत हुँदा पनि त्यतिबेलाको नेतृत्वले केही गर्न नसकेको परिणाम देशले भोग्नुपरेको बताउनु भयो ।