काठमाडौं । युवा संघ नेपालले नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालमाथि भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघ नेपालका महासचिव दिपकजिएमले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको अनामनगरमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालमाथि ज्ञानेन्द्र शाह समर्थक केही युवाहरुले चर्को नाराबाजी गर्दै अभद्र व्यवहार गरेको घटनालाई लिएर युवा संघ नेपालले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हो ।
विज्ञप्तिमा भनिएको छ , ‘पार्टीका सम्मानित नेता खनालमाथि ज्ञानेन्द्र शाहको समर्थक बताउने केही सुण्डमुसुण्डहरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भन्सर्ना गर्दछौँ ।’
‘प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय संसदमा नेपाली भूमि अंकित गरी राखिएको नक्साको सन्दर्भमा वामपन्थीहरूको धारणा तय गरी सुझाव दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया तथा छलफलमा छदमभेषमा प्रवेश गरेका ज्ञानेन्द्र शाहको सुण्ड-मुसुण्डहरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौँ ।’
नेपाली जनताको सार्वभौम, स्वतन्त्रता समानताको खातिर समान्तवाद दलाल नोकरशाही विरुद्धको संघर्षमा अविचलित नेपाल कम्युनिस्ट आन्दोलनको अग्रणी नेताहरु माथि हुने यो किसिमको घटनाहरु लाखौं जनताको संघर्ष र बलिदान वाट प्राप्त गणतन्त्र र संविधान माथिको नांगो प्रहार भएको युवा संघ नेपालको ठहर छ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा जनताले रछ्यानमा मिल्काइसकेको राजतन्त्रले टाउको उठाउन खोजेको प्रति जनसमुदायमा ध्यानाकर्षण गराउँदै त्यसतर्फ सचेत रहन समेत संघले अपील गरेको छ ।
आम जनसमुदायलाई व्यवस्था र आन्दोलनको रक्षार्थ ढृदताका साथ उभिनका लागि आह्वान गर्दै प्रगतिशील, देशभक्त क्रान्तिकारी युवा तथा जनसमुदायमा यस्ता हर्कत तत्काल बन्द नगरे देशभर यस्ता प्रवृत्तिको विरुद्ध शसक्त प्रतिकारमा उत्रन समेत हार्दिक आह्वान गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।