काठमाडौं। नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनको आयोजनामा भएको विरोध प्रदर्शनमा पार्टी नेता तथा कार्यकर्ता, पार्टी निकट भ्रातृ सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।
काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरूलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो ।
समाजवादीका कार्यकर्ताहरूले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारबाही गर ,सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर, युवा संघको खबरदारी नउम्किऊन् भ्रष्टाचारी नक्कली भुटानी शरणार्थी काण्डका अपराधीलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा सहित विभिन्न मोर्चा संगठनका नेताहरूले सम्बोधन गर्नुभएको थियो । एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। एकीकृत समाजवादीले सबै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत १५ जना पक्राउ परिसकेका छन् ।