चितवन । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी चितवनले भ्रष्टाचार विरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कडा कारबाही र नाम जोडिएकालाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरिएको छ । सो पार्टीले चितवनका प्रजिअ सुरेन्द्र पौडेल मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।
सो पार्टीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारीले प्रजिअ पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगर स्तरका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेको जिल्ला सदस्य ईश्वर राज अधिकारीले जानकारी दिनुभयो ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निष्प्रभावी नपार्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नक्कली भुटानी शरणाथी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन आजसम्म सरकारने राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ ।
देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा सचिवालयकासचिवहरूले नै देशका नागरिकहरूलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको जनाइएको छ ।