काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) निकट मोर्चा सङ्गठनले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनको विरुद्धमा उपप्रधान तथा गृहमन्त्रीलाई सिंहदरबारमा पुगेर ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) का उपप्रमुख तथा मोर्चा फाँट इन्चार्ज डा. विजय पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ यो कुकृत्यमा संलग्न सबै अपराधीहरूलाई गिरफ्तार गरी हदैसम्मको कानूनी कारबाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो ।
त्यसयताका दिनहरूमा यो जघन्य अपराधमा संलग्न भएका सबैलाई कारवाही गर्न र तिनीहरूलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निष्प्रभावी नपार्न राजनीतिक दलहरू र अधिकारकर्मी तथा नेपाली नागरिकहरू सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ । निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छोैं । साथै, हामी यस सन्दर्भमा थप ध्यानाकर्षण गराउन चाहन्छौ ।
ज्ञापन पत्रमा भनिएको छ देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरूलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव बेचविखनको कार्यमात्र होइन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गम्भीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएको छ ।
यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्च पदस्थ नेता, बहालवाला सांसद, उच्च पदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षड्यन्त्र गर्ने काम गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थति तिर लैजान खोजिएको देखिन्छ । नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद् भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको छ ।
विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गंभीतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौँ । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापूर्वक अनुसन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरून् भन्ने हाम्रो गम्भीर आग्रह छ । मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगर्न ज्ञापन पत्रमा भनिएको छ ।
नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्यवाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने भनिएको छ ।
बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
‘‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्न सकेनौँ भने समृद्धिको नारा पूरा हुँदैन । भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । आफ्नो देशको नागरिक अनागरिक बनाइ विदेशमा पठाइ पैसा सङ्कलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिनेकुरा हुन सक्दैन ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘हामीले कुनै मुद्दा बिना पूर्वाग्रह छानबिन गर्ने, निर्दोष फस्नु नहुने र दोषी उम्किनु हुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ । कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निष्कर्षमा पुर्याउन सरकार प्रतिवद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ ।’’
उपप्रधानमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ती आर्जन गर्नेकुरा संगठित अपराध भएको बताउनुभयो । उहाँले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ती आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ । यो सामान्यतया ठगी हो । तर ठगी मात्रै होइन, राज्यका उच्च तहमा बसेका व्यक्तित्वहरु र तलसम्मको सेट मिलाएर यो काम अघि बढाइएको छ, त्यसैले संगठित अपराध हो यो । यो राज्यविरुद्धको अपराध पनि हो भन्नेकुरा उठिरहेको छ । यो अनुसन्धान अधिकारीले अपराधको प्रकृतिलाई निश्चित गरिसकेपछि प्रक्रिया अघि बढी नै हाल्छ ।’’
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हाँसिल हुन नसक्ने बताउनुभयो । उहाँले कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो ।