काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताउनु भएको छ ।
३० औँ मदन आश्रित दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो प्रकरण निष्पक्ष रूपमा छानबिन भई सतहमा पुग्नु पर्नेमा जोड दिनु भयो ।
“अहिले नक्कली भुटानी शरणार्थीको काण्ड अहिले देशमा सतहमा आएको छ, यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संगीन काण्ड हो, यसलाई सही ढंगले टुङ्गोमा लगिन्छ कि लगिँदैन ? आज हाम्रो पार्टी नेकपा ( एकीकृत समाजवादी ) देशव्यापी रूपमा चिन्ताका साथ छ, यो कुरामा दृढतापूर्वक टुङ्गोमा लैजानुपर्छ,” उहाँले भन्नुभयो, “यसमा देशका ठूला माछा पनि बल्छीमा पर्न थालेका छन् । ती माछाहरू जोगाउने प्रयत्न हुँदै छन् । भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुङ्गोमा पुर्याइयोस् । यसमा कुनै पनि तलमाथि भयो भने हाम्रो पार्टीले सहन सक्दैन । छोटो अवधिमा नै अनुसन्धान टुंग्याउनुपर्ने भन्ने दबाब दिँदै छन् भन्ने सुन्दै छु, यो हो भने अनुसन्धानका लागि आवश्यक समय दिएर टुङ्गोमा लैजानुपर्छ ।”
पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागिएको भन्दै उहाँले त्यसको विरोध गर्नुभयो । मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण सदासदाको लागि रहस्यमय घटनाका रूपमा रहने अवस्थामा पुगेको बताउनु भएको छ ।
नेता खनालले राज्य र त्यतिबेलाको नेतृत्वको कमजोरीका कारण मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण रहस्यमय हत्याकाण्डको रूपमा रहिरहेको बताउनु भएको हो । उहाँले त्यतिबेला घटना कसरी भयो भन्ने प्रत्यक्ष प्रमाणहरू रहँदासमेत त्यसलाई सदुपयोग गरेर अनुसन्धानको आधार नबनाइएको बताउनु भयो ।
‘के अमर लामाले सम्पूर्ण कुरा थाहा पाएका थिएनन् उ आफै बाँचेको छ र जिप मात्रै खसाइएको छ। उसलाई सम्पूर्ण कुरा थाहा छ,’ खनालले भने,‘उ बाट सत्य ओकलाउनु पर्ने थियो । त्यो काम राज्यले गर्न सकेन त्यसकारण यो घटना सदासदाका लागि एउटा रहस्यमय घटनाका रुपमा रहने स्थिति बनेको छ।’ नेता खनालले उनीहरूको हत्याले नेपालको कम्युनिस्ट र देशभक्ति आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउँदै दुई प्रमुख नेताहरुको हत्यापछि एमालेले अनेकौं चुनौतीको सामना गर्नुपरेको बताउनु भयो ।
नेता खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) र एसपीपी पारित गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाउनु भयो । अहिले देश सङ्कटपूर्ण अवस्थामा रहेको भन्दै उहाँले राजनीतिक अस्थिरता कायम रहेको बताउनु भयो ।
एमसीसी र एसपीपी पारित गरेपछि अमेरिकी सेना र सरकारका एकपछि अर्को ‘झुन्ड’ नेपालमा आइरहेको भन्दै उहाँले देशलाई विदेशीको खेल मैदान बन्न दिन नहुनेमा जोड दिनुभयो । “राजनीतिक अस्थिरताको दिशामा छ । देश अस्थिरता ग्रस्त छ । आर्थिक सङ्कटमा देश भयावह अवस्थामा गइरहेको छ । यो देश रेमिटयान्समा आधारित देश बन्दै छ, यो खतराको कुरा हो । अहिलेको सङ्कटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ ।
आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दै छन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुन्डहरू नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरू आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन्, किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन्, के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दै छन् ? हामी अब यसको सामना गर्नुपर्छ ।”