वीरगन्ज । नेपाल दलित मुक्ति संगठनको मधेस प्रदेशको दोस्रो अधिवेशन वीरगञ्जमा सम्पन्न भएको छ । अधिवेशनले रामाशिस दासको नेतृत्वमा ५१ सदस्यीय मधेश प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।
प्रदेश कमिटीको बरिष्ठ उपाध्यक्षमा कमल राम, उपाध्यक्ष नाथुराम परियार, सनिता कुमारी सदा, सचिवमा रामसरुप राम, उप सचिवमा प्रविन कुमार रजक, आदित्य कुमार रजक, ममता विश्वकर्मा, सदस्यमा शिव कुमार पासवान, शोभा देवी राम, फुलेना देवी राम, रामबाबु रवि दास, अरुण दास, निर्मल पासवान लगायत रहनु भएको छ ।
यसैगरी अधिवेशनबाट पर्सा जिल्ला कमिटीको अध्यक्षमा पुनः सुशील हजरा निर्विरोध निर्वाचित गरेको छ । हजराको अध्यक्ष ३१ सदस्यीय जिल्ला कमिटी सर्वसहमतीबाट चयन भएको दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले पनि दलितको नाम मानव मानव बिच भेदभाव छुवाछुत रहेको कुरा दुःखद भएको बताउनु भयो ।
नेकपा एकीकृत समाजवादी पार्टी दलितको सवालमा बाहिर र पार्टी भित्र पनि समानताको अधिकार दिलाउने पक्षमा रहेको भन्दै नेता नेपालले देशको हिमालदेखि तराई सम्मको सबै दलितहरूको हक अधिकारको सवालमा पार्टी गम्भीर रहेको तथा देशैभरी दलित मुक्ति तथा वर्गीय लडाइँको पक्ष विगुल फुकेको बताउनु भयो ।
अध्यक्ष नेपालले लामो संघर्ष पछि प्राप्त भएको उपलब्धि एक जना सन्की तथा स्वेच्छाचारी व्यक्तको कारण धरापमा परेको टिप्पणी गर्दै अब कसैको पछि लाग्नु नहुने बताउनु भयो । नेकपा एकीकृत समाजवादीले सबै दलितहरूलाई देशको संविधानले दिएको हक अधिकार दिलाउन काम गर्ने बताउनु भयो ।
अधिवेशन उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका सचिव नागेन्द्र चौधरी, नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विक, पार्टीका पोलिटव्युरो सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, केन्द्रिय सदस्य दिनेश राई, वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी, संविधान सभा सदस्य रामअवतार पासवान, पूर्व प्रदेश सांसद रविन्द्र बैठा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले गर्नुभएको थियो ।