काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आजका सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समाधान समाजवाद मात्र भएको बताउनु भएको छ ।
अनेरास्ववियूको ५९ औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै शुभकामना सन्देश दिँदै नेता खनालले समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई पनि समाधान गर्न सक्ने बताउनु भयो । खनालले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समातौँ ,समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारी पूर्वक ठम्याउन आग्रह गर्नुभयो ।
‘दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित गरौँ । आफ्ना प्रचार, संगठन र संघर्षलाई त्यही दिशामा अघि बढाऔँ र सम्पूर्ण विद्यार्थी, युवाहरू र आम क्रान्तिकारी जनतालाई गोलबन्द गर्दै समाजवादको सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढौँ,’ उहाँले भन्नु भएको छ ।
देशका कतिपय वामपन्थी शक्तिहरू मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिएको बताउनु भएको छ ।
देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरू एकजुट हुनु जरुरी छ र समाजवाद तिरको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी रहेको बताउनु भएको छ । , ‘युवा तथा विद्यार्थीहरू तपाईँहरूलाई थाहा छ ‐ हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । भ्रष्टाचार रुपी अजिङ्गरले सिङ्गो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ ।
बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनहार श्रमजीवी युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् । त्रिशङ्कु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकिरहेको छैन ।’उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।