बाजुरा ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय नरेश कुमार शाहीले योजना दिएर पार्टीका सदस्य बनाउने कार्य ठिक नभएको बताउनुभएको छ ।
शनिबार कोल्टीमा सम्पन्न शिक्षा क्षेत्र सुधारका लागि सुझाव संकलन कार्यक्रममा बोल्दै मन्त्री शाहीले यस्तो बताउनुभएको हो । उहाँले विगतमा पार्टीको मान्छे विद्यालयको व्यवस्थापन समितिमा भएन भनेर भुक्तानी नदिने सम्मका कार्य भएको बताउनुभएको छ । शिक्षा क्षेत्र सुधारका लागि पार्टीगत कार्य गर्न नहुने भन्दै उहाँले यस्ता गलत कार्यको तत्काल अन्त्य गर्नु पर्ने बताउनुभएको छ ।
शिक्षा क्षेत्रमा पनि राजनितिकरण गर्न खोज्नु राम्रो नहुने उहाँको भनाई छ । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकले शिक्षा क्षेत्र सुधारका लागि उठाएका माग ठिक भए पनि पार्टीको मान्छे व्यवस्थापन समितिमा छैन भनेर योजना नहाल्नु र भुक्तानी नदिनु गलत भएको बताउनुभएको छ । उहाँले पार्टीबाट आएका निदेवन भन्दा पनि प्रक्रियाबाट आएका निवेदनलाई प्राथमिता दिने बताउनुभयो । अवका दिनमा यस्ता गलत कार्य स्थानीय तह र प्रदेशबाट नहुनेमा आफू विश्वस्त रहेको पनि मन्त्री शाहीले बताउनुभएको छ ।
त्यस्तै पालिकाका जनप्रतिनिधि सँगको अन्तरक्रियामा बोल्दै उहाँले योजना जनताको आवश्यकताका आधारमा छनोट गरिने बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ को प्रदेश स्तरीय योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री शाहीले योजना छनोट कार्य महत्वपूर्ण भएकाले कसैको सिफारिसमा नभई जनताको आवश्यकता अनुसार योजना छनोट गरिने बताउनुभयो । संघीय, प्रदेश र स्थानीय सरकारको संरचनाले जनताको सहभागिता बढी भन्दा बढी होस, जनताले साँच्चिकै सरकारको अनुभुति गरोस्, सरकार दैलोमा पुगोस् र जनताको काम सहज रुपमा गरोस् भनेर जनताको आवश्यकतामा योजना छनोट हुनुपर्ने बताउनुभयो । दुर्गम तथा पिछडिएको भनेर चिनिने बाजुराको मुहार फेर्नलाई व्यक्तिगत योजना नभएर सामूहिक बाजुरालाई फाइदा पुग्ने गरी योजना ल्याउने मन्त्री शाहीले दावी गर्नुभयो ।
कार्यक्रममा उपस्थित विद्यालयका शिक्षकले शिक्षा क्षेत्र सुधारका लागि थुप्रै चुनौति रहेका बताएका छन । शिक्षा क्षेत्र सुधारका लागि प्रत्यक विद्यालयमा कम्प्युटर तथा आईसिसटीको ब्यवस्था, ईसिडीमा दक्ष तथा विद्यालयमा विषयगत शिक्षकको व्यवस्थापन, आवश्यक दरवन्दिकोब्यवस्थापन, शिक्षकलाई तालिमको ब्यवस्था, उचित खेल मैदान तथा पर्याप्त कक्षा कोठा, विद्यालयमा पुस्तकालयको ब्यवस्था, शिक्षक तालिम केन्द्रको स्थापना र स्थानीय पाठ्यक्रमको व्यवस्थापन हुन सके शिक्षा क्षेत्रलाई सुधार हुने शिक्षकले बताएका छन । शिक्षा युवा तथा खेलकुद शाखा बुढीनन्दाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र नं कका चार वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थित रहेको थियो ।