काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै नेपाली कम्युनिष्ट आन्दोलनमा मजदुर वर्ग र सङ्गठनहरूको ठूलो भूमिका रहेको बताउनु भएको छ ।
एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले संगठन नै बल हो । आन्दोलन नै शक्ति भएको र सृजनामा लाग्न मजदुर आन्दोलनले नै शिक्षा दिएको विचार व्यक्त गर्नु भयो । उहाँले नेपालको मजदुर आन्दोलन र कम्युनिष्ट आन्दोलनको सम्बन्धअन्योन्याश्रित भएको भन्दै यीनिहरु एक सिक्काका दुईवटा पाटो भएको विचार व्यक्त गर्नुभयो ।
नेता नेपालले छिट्टै केन्द्र लगायत सबै प्रदेशका सरकारहरूले पूर्णता पाउने बताउनु भयो । भर्खरै उपनिर्वाचन सम्पन्न भएको भन्दै अव सबैसरकारहरुले पूर्णता पाउने बताउनु भएको हो । अध्यक्ष नेपालले अव पार्टीको ध्यान समाजवादी मोर्चा बनाउने कुरामा केन्द्रित हुने समेत बताउनु भयो ।
उहाँले पार्टी दोश्रो चरणको संगठन सुदृढिकरणको अभियानमा जुटेको जानकारी दिदै पहिलो चरणको अभियानबाट प्राप्त भएका अनुभवका आधारमा अघि बढ्ने बताउनु भयो । पार्टीभित्र पद ओगट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने र जनताको भावना अनुसार संगठनहरू चल्नुपर्ने उहाँले बताउनु भयो ।
मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै मजदुर संगठनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको हित हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात गरेको बताउँदै उनले श्रमिक, मजदुर, श्रमजीवी वर्गको जीवनमा आर्थिक उन्नति भए मात्र देश विकास हुने उहाँले बताउनु भयो ।
अध्यक्ष नेपालले समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण तथा सबै क्षेत्रका नागरिकलाई समान अवसर प्राप्त हुने हुँदा गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न राज्यका स्रोत र साधनलाई अधिक उपयोग गरी जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको रक्षा गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै कम्युनिष्ट पार्टीमा सामूहिक हितलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालले संगठनको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
बैशाख १८ देखि २ण् गते सम्म संचालित अधिवेशनले विष्णु लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनले मजदुरको हक अधिकारका सवालमा १४ वुँदे समसामयीक प्रस्ताव समेत पारीत गरेको नवनिर्वाचित सचिव रवि केसीले बताउनु भयो ।