काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव नहुने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १¸ २०२३ को शुभकामना सन्देश जारी गर्दै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले आफ्नो अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछुभन्नु भएको छ ।
उहाँले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ । अनन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्दछु उहाँले भन्नु भएको छ ।
अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेसिएको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ । सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता सहित सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउँदछु भन्नु भएको छ ।
कम्युनिस्ट आन्दोलन विश्वभरका मजदुरहरू एक होऊु भन्ने उद्घोषका साथ शुरू भएको हो । श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ २००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जनताको बीचमा क्रियाशील छ ।
नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि समाजमा भएका शोषण, दमन र अन्यायसंग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मुल्य(मान्यता स्थापित गर्न हाम्रो पार्टी निरन्तर अघि बढिरहने प्रतिवद्धतासहित पुनः नेपाल तथा विश्वभर रहनुभएका सवै श्रमजीवीहरुप्रति बधाई तथा शुभकामना व्यक्त गर्दछु शुभकामना सन्देशमा भनिएको छ ।