काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ ।
एकीकृत समाजवादी निकट एकीकृत ट्रेड युनियन नेपालको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले श्रमिक वर्गको अधिकारका साथै राज्यबाट सेवासुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्ने बताउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहननु भएका नेता नेपालले मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको खाँचो औंल्याउनु भयो ।
अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्द्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरमा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको संवर्द्धन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनीहरूले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक शोषण, अन्याय, विभेदको अन्त्य गरी गरीबी न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले त्यसका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको र मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात् गरेको बताउनु भयो ।
नेता नेपालले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने भन्दै त्यसो नभए राजनीति मानिसका लागि घृणाको विषय बनेको नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
भ्रष्टाचार, सहज रूपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराशा बढेको भन्दै ‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौं। राजनीतिमा अनेकौ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौं। राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ। यसबीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ।
नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ, पहिलो कारण भ्रष्टाचार हो, दोस्रो कारण सहज रूपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति, तेस्रो जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति, चौथो हाम्रा सबै कामहरूले जनताको निम्ति परिणाम दिन नसक्नु। छिटो काम नहुने, रोजगारी प्रवर्द्धन नहुने, सीप नदिने, यस्ता समस्या देखिएको उहाँको भनाई थियो ।